राती माओवादी नेतामाथि गोलीप्रहारको थप विवरण

 राती माओवादी नेतामाथि गोलीप्रहारको थप विवरण

नेकपा माओवादी केन्द्र कपिलवस्तु जिल्ला कमिटी सदस्य दीपक पाण्डेमाथि गए राती भएको गोलीकाण्डका पछाडि ठेक्का पट्टाको कनेक्सन देखिएको छ ।

उनी स्थानीय जर्लैया नाका भन्ने खोलाको ढुंगा,गिटी र बालुवाको ठेक्कामा संलग्न थिए । उक्त ठेक्का अवैधानिक हिसाबले चलाएको पत्ता लगाएपछि स्थानीय प्रशासनले खोला उत्खनन कार्य बन्द गराइदिएको थियो ।

भारतीयहरुले चलाएको खोला उत्खननको ठेक्का बन्द भएपछि पाण्डेले सेटिङबाट मिलाउँछु भनेर भारतीय ठेकेदारसँग पैसा लिएको बुझिएको छ ।

स्रोतका अनुसार सम्भवत: भारतीयसँग पैसा लिएर पनि ठेकेदारको काम भएन र पाण्डेले पैसा पनि फिर्ता गरेनन् । त्यहि निहुँमा पारीबाट ल्याइएका खेताला सुटरले सुट गरेको आशंका गरिएको छ ।

बोल्नसक्ने अवस्थामा रहेका पाण्डेले कसैमाथि पनि आशंका गरेका छैनन् । पाण्डे चढेको मोटरसाइकलमा दुई जना थिए । त्यसमा पनि पाण्डेलाई ताकेर सुट गरेको पाइएको छ । पाण्डेको मोटरसाइकल भारतीय मुस्लिमले चलाएका थिए । सुटर भएको बाइकमा तीन जना रहेको बताइएको छ ।

अनुसन्धान स्रोत भन्छ-लेनदेनमा मनमुटाव भएपछि सम्भवतः हिजो राती कहिँ कतै भारतीय ठेकेदार र पाण्डेबीच बैठक भयो । कुरो मिलेन, त्यसपछि राती घर फर्किंदा पाण्डेमाथि गोली प्रहार गरिएको हुनसक्छ । पछाडिबाट हानेको गोली उनको पेटमा लागे पनि खतरामुक्त रहेको बताइन्छ ।

टिप्पणीहरू