प्रहरी अस्पतालमा बिरामीको थामिनसक्नु भीड
बैशाख २६ गते अस्पताल भर्ना भएका सादा पोशाकमा रही काठमाडौं प्रहरी परिसरबाट अपराध अनुसन्धान हेर्ने डिएसपी राजकुमार केसीको आज बिहान १ बजे निधन भएको छ । कोरोना आक्रमणपछि उहाँमा कडा खालको निमोनिया देखा परेको थियो ।
अहिले महाराजगन्जस्थित उक्त प्रहरी अस्पतालमा पूर्व डीआईजी रमेश खरेल र डीएसपी समिपचन्द्र खरेल पनि उपचाररत हुनुहुन्छ ।
त्यहाँ १ सय ५५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालमा ३० बेडको आइसीयु,२० बेडको भेन्टिलेटर र १० बेड एचडीयु सबै भरिएका छन् ।
अस्पतालका साधारण बेडसमेत भरिएपछि छेउमै बन्दै गरेको घरलाई सामान्य मर्मत गरेर ३५ जना सर्वसाधारण बिरामीलाई अक्सिजन उपलब्ध गराई राखिएको छ ।
उनीहरू आईसीयु र एचडीयुको पर्खाइमा बसेका हुन् । इमरजेन्सीमा आएका बिरामीहरूलाई दुईटा बेडमा एउटा अक्सिजन सिलिण्डर बाँडेर भएपनि उपचार गराइएको छ ।
सामान्य बिरामी भने दिनभरको उपचारपछि घर फर्किने गरेका छन् । स्रोतका अनुसार बेडसहितको उपचार कक्ष धमाधम बनाएपनि अक्सिजनको पर्याप्तता नभएकाले त्यहाँ पनि कठिनाई देखिएको छ । स्रोतका अनुसार ‘फर्स्ट लाइन ट्रिटमेण्टको आधारमा इमरजेन्सीमा सर्वसाधारणको समेत उपचार गरिएको छ ।’
नेपाल प्रहरीको उपत्यका बाहिरका अस्पतालमा पर्याप्त पूर्वाधार नभएकाले जटिल संक्रमितको उपचार हुन सकेको छैन । ती स्थानमा एक जना चिकित्सक भएकाले सामान्य बिरामीको अब्जर्भेसन र आइसोलेसनको काम मात्र भएको बताइन्छ ।
तिनलाई सामान्य औषधोमूलो गरेर पठाउने गरिन्छ । निमोनिया भइसकेकाको ती अस्पतालमा उपचार नहुने स्रोतले बताएको छ ।
टिप्पणीहरू