फेरि महन्थहरुसङ्ग भेट,मधेशका माग पूरा

फेरि महन्थहरुसङ्ग भेट,मधेशका माग पूरा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मधेशका माग पूरा गर्ने वचन दिँदै मधेशीलाई तटस्थै राखेर चुनावमा जाने भएको छ ।

आज साँझ बसेको क्याबिनेट बैठकले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय गरेलगत्तै जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

झण्डै दुई घण्टा प्रधानमन्त्रीसँग छलफल गरेपछि उनीहरु त्यहाँबाट निस्केका हुन् । योसँगै महन्थ ठाकुर प्रधानमन्त्री बन्ने सम्भावना समाप्त भएको छ । र,भोलि नै प्रतिनिधिसभा विघटन गरी केपी ओलीकै नेतृत्वमा मङ्ग्सिरमा चुनावको मिति तोकिने तयारी छ ।

आजको क्याबिनेटले सरकारले विश्वासको मत नलिने र जेठ ९ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय पनि गरेको छ । तर,त्यसभन्दा अगाडिनै अब यही सरकारले चुनाव गर्नेगरी राजनैतिक कोर्श अघि बढेको छ ।

बालुवाटारमा बसेको क्याबिनेट बैठकले आफ्ना माग पूरा गरेको खबर पाउनुअगाडि नै जसपाले पर्सिलाई बैठक बोलाएको थियो । स्रोतका अनुसार बैठकको लागि आठ बुँदे एजेण्डा प्रस्तुत गरिएको छ । तर राजेन्द्र महतो यसअघि संसदीय दलको नेता बनेको बारेमा बैठकमा कुनै छलफल नहुने बताइएको छ ।

डोलेश्वर रिसोर्टमा लगिएका केही सांसदले संसदीय दलको नेता बनाउँदैमा महतो संसदीय दलको नेता नबन्ने अर्को पक्षले बताएको छ ।

संसदीय दलको विधान नै नबनेको अवस्थामा उनी संसदीय दलको नेता बन्नसक्ने कुनै आधार नभएको उपेन्द्र यादव पक्षको दाबी छ ।

स्रोतका अनुसार पर्सिको बैठकमा महन्थ ठाकुरलाई सरकारको नेतृत्वको लागि अघि सार्ने प्रस्ताव पनि प्रस्तुत हुनसक्छ ।

टिप्पणीहरू