“राष्ट्रपतिमाथि महाअभियोग लगाउन ढिला नगरौँ”

“राष्ट्रपतिमाथि महाअभियोग लगाउन ढिला नगरौँ”

विवेकशील साझा पार्टीले राष्ट्रपति विद्या भण्डारीमाथि तत्काल महाअभियोग लगाउन माग गरेको छ । राष्ट्रपतिले एकपछि अर्को असंवैधानिक कदम चालेको भन्दै विवेकशील साझाले महाअभियोग लगाउन सबै राजनीतिक दलसमक्ष आव्हान गरेको हो ।

संविधानको रक्षा गर्ने दायित्व बोकेको राष्ट्रपति संस्थाको बारम्बार साख गिराउने,अपमान गर्ने र प्रधानमन्त्रीको चाहनामा असंवैधानिक काम गर्ने भन्दै सो पार्टीले महाअभियोग लगाएर हटाउनुको विकल्प नभएको बताएको हो ।

‘संविधानको रक्षा गर्ने दायित्व बोकेको राष्ट्रपति संस्थाको बारम्बार साख गिराउने,अपमान गर्ने र ‘देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गर्ने’ विद्यादेवी भण्डारीमाथि तत्काल महाभियोग लगाएर उनलाई पदमुक्त गर्दै संसद्मा प्रधानमन्त्री ओलीको विपक्षमा रहेका दल तथा सांसदहरू एकजुट भई नयाँ सरकार गठनका लागि पहल गर्न विवेकशील साझा पार्टी आह्वान गर्दछ’,प्रवक्ता शरदराज पाठकले विज्ञप्ती जारी गर्दै भनेका छन् ।

विवेकशील साझाले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति भण्डारीबाट संविधानमाथि शृङ्खलाबद्ध रूपमा प्रहार भैरहेको भन्दै महाअभियोग लगाएर हटाउन सबै दललाई आव्हान गरेको हो ।

प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेमा त्यस विपरीत हिजो बिहीबार साँझ नयाँ प्रधानमन्त्री नियुक्तिका लागि अघि बढाइएको प्रक्रियाबाट संविधानको ठाडो उल्लङ्घन भएको सो पार्टीको ठहर छ ।

‘प्रधानमन्त्री ओलीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदाझैँ रबर स्ट्याम्पसरह सदर गर्नु पुरापुर असंवैधानिक कदम हो’, विवेकशील साझाले भनेको छ ।

टिप्पणीहरू