ब्राकेटवाला दल दर्ताको निम्ति निर्वाचन आयोगमा ताँती
प्रतिनिधिसभा विघटन गरेर मध्यावधि घोषणा भएसंगै निर्वाचन आयोगलाई चुनावी चटारो लागेको छ । अस्ति मात्र बालुवाटार पुगेको प्रमुख निर्वाचन आयुक्तसहितको टोलीले निर्वाचन तयारीका लागि प्रधानमन्त्री केपी ओलीको निर्देशन पाएको थियो ।
प्रधानमन्त्रीको निर्देशनपछि आन्तरिक तयारी थालेको आयोगलाई अहिले दल दर्ताको चाप पनि बढेको छ ।
‘उस्तै नाम हुँदा के-के भयो ताजा उदाहरण छ,त्यसैले अहिले हामी ब्राकेटमा राखेको नामले छुट्टै पहिचान दिने हो या होइन भन्ने अध्ययन गरिरहेका छौँ’,
यसैबीच माधव नेपाल समूहका युवा नेता जीवन राईको नेतृत्वमा नयाँ दल दर्ताको प्रक्रिया आयोगले आजैबाट थालेको छ । बैशाख ७ मै दल दर्ताको निवेदन परे पनि कोरोनाका कारण कार्यालय नियमित नहुँदा आजबाट प्रक्रिया थालिएको बताइन्छ । राईको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) नामको दल दर्ताका लागि निवेदन परेको र त्यसउपर हिजोदेखि अध्ययन थालेको आयोग स्रोतले बताएको छ ।
नेकपाको नामसम्बन्धी विवादमा पर्याप्त ध्यान नपुर्याउंदा आयोगको क्षमता,निष्पक्षता र विश्वसनीयतामाथि ठूलो प्रश्न उठेका बेला यसपटक आयोग त्यस्तो गल्ती दोहोर्याउने पक्षमा नभएको श्रोत बताउँछ ।
‘उस्तै नाम हुँदा के-के भयो ताजा उदाहरण छ,त्यसैले अहिले हामी ब्राकेटमा राखेको नामले छुट्टै पहिचान दिने हो या होइन भन्ने अध्ययन गरिरहेका छौँ’, स्रोतले भन्यो । अगाडि नेपाल कम्युनिष्ट पार्टी भएका र ब्राकेटमा एकीकृत लेखिएका अरु पनि नाम भएकाले छानविनपछि मात्र आवश्यक निर्णय गर्ने आयोगको तयारी छ ।
यता,सर्वोच्च अदालतले माओवादी केन्द्र प्रचण्डको भागमा पारिदिएपछि दलविहीन बनेका गोपाल किराँतीका तर्फबाट पनि अर्को दल दर्ताका लागि निवेदन परेको छ । किराँतीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नामको दल दर्ता गर्नका लागि निवेदन दिएको बुझिएको छ ।
किराँतीको निवेदनमाथि पनि अध्ययन भैरहेको बताइएको छ । ब्राकेटमा माओवादी केन्द्र पहिलेदेखि नै दर्ता भएकाले के गर्ने भन्ने छलफल चलिरहेको छ ।
आयोगले एक दुई दिनमै निर्णय गर्ने तयारीका साथ छलफल अगाडि बढाएको पनि बताएको छ । ‘आज पनि अध्ययन भो । छलफल गरेर एक-दुई दिनमा पेश गर्ने भन्ने छ । कोभिडका कारण रेगुलर नभएकाले रोकिएको हो । अब छिट्टै हुन्छ’,आयोग स्रोतले भन्यो ।
यी दुईबाहेक अन्य दल दर्ताको निवेदन आउने क्रम बढेको छ । निर्वाचन घोषणासँगै दल दर्ताको क्रम बढेको हो ।
निर्वाचन कार्यक्रम सार्वजनिक हुँदासम्म नयाँ दल दर्ता गर्न पाउने कानुनी व्यवस्था छ । चुनावको दुई महिनाअघि आयोगले निर्वाचन कार्यक्रम घोषणा गर्छ । सरकारले कात्तिक २६ मा पहिलो चरणको चुनाव घोषणा गरेकाले असारको २५ गतेसम्म नयाँ दल दर्ता हुने देखिन्छ ।
तर,अब दलको विवाद भने आयोगले निरुपण गर्ने छैन । राजनीतिक दलसम्बन्धी ऐनमा निर्वाचन घोषणा भैसकेपछि दलको विवाद निरुपण गरिने छैन भनेर प्रष्ट भनिएकाले कुनै पनि दलमा त्यस्तो अवस्था आए एउटा पक्षले नयाँ दल दर्ता गर्नुपर्ने बाध्यता हुन्छ । अहिले एमाले र जसपामा देखिएको विवाद निर्वाचन आयोगमा पुगेको अवस्थामा पनि आयोगले हेर्दैन ।
यध्यपि तोकिएको मितिमा चुनाव हुनेमा अझै ढुक्क हुने अवस्था नरहेको स्रोत बताउँछ । चुनाव हुनेमा आशंका व्यक्त गर्दै स्रोत भन्छ, ‘सिनारियो क्लियर त छैन, तर पनि अहिले त चुनाव हुन्छ नै भनेर जानुपर्यो नि !’
टिप्पणीहरू