एमालेमा बिद्रोह गरौं भन्नेहरु निकै देखिए

एमालेमा बिद्रोह गरौं भन्नेहरु निकै देखिए

सत्तारुढ एमालेभित्रको अन्तरविरोध बढेर चुलीमा पुगेको छ । पार्टी र मुलुकको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भिन्न मत राख्नेलाई बढार्नुको विकल्प नभएको शैलीमा अघि बढ्नुभएको देखिन्छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूह शक्ति सञ्चय गरेर भएपनि ओली प्रवृत्तिसामु नझुक्ने भन्दै हिँडेको छ ।

सांगठनिक हिसाबले नेपाल समूह बलियो अवस्थामा रहेकाले प्रधानमन्त्री तथा अध्यक्षको पेलानलाई सांगठनिक हिसाबले प्रतिरोध गर्न सकिने हिसाबसहित अघि बढेको बताइन्छ । नेपाल समूहका अनुसार विद्यार्थी संगठन अखिल,युवासंघ र महिला संगठनलगायत अत्यधिक पेलाइ सहिरहेका झापा र मोरङसहित ६६ जिल्लामा अलग्गै संगठन बनिसकेको छ ।

अध्यक्ष ओलीबाट निरन्तर पेलाइमा परेका जिल्लाका नेता तथा कार्यकर्ता बिद्रोह गरेर भए पनि अत्याचारको विरुद्ध लड्नुपर्ने भनी नेतालाई उकास्दैछन् । जिल्लाको हिसाबले धादिङ,मकवानपुरका एमाले जिल्ला कमिटी सबैभन्दा धेरै अध्यक्ष ओलीको कोपभाजनमा परेका जिल्ला हुन् ।

अर्कोतर्फ सोही समूहको एउटा तह २०७५ जेठ २ को अवस्थालाई मान्न तयार भएको अवस्थामा ४२ जिल्लामा बहुमतसहितको आफ्नो जिल्ला कमिटी रहेको भनी ढुक्क छ । उनीहरु भन्छन् ‘दुई वटा जिल्ला कमिटीमा अल्पमतसहितका अध्यक्ष छन्, स्थायी समिति बहुमतमा छ र केन्द्रीय समिति हाराहारीमा रहेकाले जेठ २ मा फर्किंदा राम्रो हुन्छ ।’ त्यसो भन्नेमा नुवाकोटका सभासद् नारायण खतिवडाहरुसमेत रहेको बताइन्छ ।

तर त्यो अवस्था अध्यक्ष ओलीले मानिदिनुभएको भए अहिले पार्टीमा यस्तो भद्रगोल नै नहुने उनीहरुको विश्लेषण हो । खतिवडाहरुले सोचेको योजना गर्मीमा असिना पानी आउँदाको आनन्द जस्तै रहेको त्यहिँभित्रका माननीयहरुले बताए । किनभने अध्यक्ष तथा प्रधानमन्त्री ओली आफ्नो अडानमा टसमस हुनुहुन्न ।

टिप्पणीहरू