जनता,शुभेच्छुक र कार्यकर्तालाई माधव नेपालको अपिल
एमाले बरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द हुन अपिल गर्नुभएको छ । अध्यक्ष केपी ओली पक्षले साधारण सदस्यसमेत नरहने गरि निष्कासनको घोषणा गरेको भोलिपल्ट अपिल सार्वजनिक गर्दै नेपालले कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने अभियान थाल्ने बताउनुभएको हो ।
षड्यन्त्रकारीहरुको उक्साहटमा केपी ओलीले कम्युनिष्ट आन्दोलन तहसनहस पारेको भन्दै उहाँले कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाएर जनताको जनजीविका,हित,स्वार्थ र सरोकार तथा सुशासनका पक्षमा प्रतिवद्ध भएर लाग्न पार्टी पंक्तिलाई अपिल गर्नुभएको छ ।
‘जनअपेक्षा विपरित केपी ओलीले केही समयअघि षड्यन्त्रकारीहरुको उक्साहटमा सिंगो नेकपा लाई विभाजन गर्ने काम फत्ये गरे । त्यसपछि सर्वोच्च अदालतको फैसलाअनुसार २०७५ ज्येष्ठ २ गतेको कमिटी,विधान र नेतृत्व हुनुपर्ने आम कार्यकर्ता पंक्तिको माग विपरित एकाधिकारवादी शैलीमा पार्टीलाई चलाउने काम भयो । जनताबीच लोकप्रिय पार्टी नेकपा एमालेलाई तहस-नहस गर्ने अभियान त्यही बिन्दूबाट शुरु गरेर कथित कारवाही र निस्कासनमा आई पूरा भएको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा राष्ट्रघाती र प्रतिगमनकारीको रुपमा सिंगो कम्युनिष्ट आन्दोलन बिसर्जन गर्ने पात्रका रुपमा केपी ओलीले आफूलाई स्थापित गरेका छन्’, उहाँले भन्नुभएको छ ।
नेता नेपालले प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरुपयोग गरेको पनि बताउनुभएको छ । कम्युनिष्ट सरकार रहेका बेला बिचौलिया,दलाल,माफिया र गुण्डाराज चलाउनेहरु उत्साहित हुने तर सर्वहारा वर्ग र आम नेपाली जनता अपहेलित हुने अवस्था आउनु दुस्खद् पक्ष भएको उहाँको भनाइ छ ।
नेता नेपालको अपिल
अपील !
कम्युनिष्ट पार्टीलाई माया गर्ने तमाम नेपाली जनता – नेपालका कम्युनिष्ट पार्टीहरू एक हुन्, कम्युनिस्ट आन्दोलन एक र सशक्त होस् , जनजीविका, जनताको हित, स्वार्थ र सरोकार तथा सुशासनका पक्षमा एवम् समाजवाद उन्मुख काम गरुन् भन्ने चाहन्छन् । तर जनअपेक्षा विपरीत केपी ओलीले केही समयअघि षड्यन्त्रकारीहरुको उक्सावटमा सिंगो ‘नेकपा’ लाई विभाजन गर्ने काम फत्ते गरे । त्यसपछि सर्वोच्च अदालतको फैसला अनुसार २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व हुनुपर्ने आम कार्यकर्ता पंक्तिको माग विपरित एकाधिकारवादी शैलीमा पार्टीलाई चलाउने काम भयो । जनताबीच लोकप्रिय पार्टी नेकपा एमालेलाई तहस-नहस गर्ने अभियान त्यही बिन्दूबाट शुरु गरेर कथित कारवाही र निस्कासनमा आएर पूरा भएको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा राष्ट्रघाती र प्रतिगमनकारीको रुपमा सिंगो कम्युनिष्ट आन्दोलन बिसर्जन गर्ने पात्रका रुपमा के।पी। ओलीले आफूलाई स्थापित गरेका छन् ।
केपी ओलीले नितान्त व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरुपयोग गरेका छन् । कम्युनिष्ट सरकार रहेका बेला बिचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरु उत्साहित हुने तर सर्वहारा वर्ग र आम नेपाली जनता अपहेलित हुने अवस्था आउनु दुखद् पक्ष हो । ओली सरकारको हर्कत र विवादित पक्षहरु तपाईं हामीबीच छर्लङ्ग नै छन् । ओलीले आफूलाई बिचौलियाको पृष्ठपोषक बनाउँदै गर्दा नेकपा एमालेको संगठन निस्तेज बन्न पुग्यो । निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि दलाल र माफियाहरुले राज गरे । यसविरुद्ध आवाज उठाउँदा हामीमाथि केपी ओलीबाट प्रहार भयो । अहिले ओली गुटले गरेको कथित कारबाही वा निस्काशन त्यसैको प्रतिरुप हो । उक्त कार्बाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको कुरा स्पष्ट पार्दछु ।
यसबीच मैले व्यक्तिगत र सामूहिक रुपमा पार्टीलाई दुर्घटनाबाट जोगाउनका लागि सक्दो भूमिका निर्वाह गरेँ । ओलीले पार्टीलाई गम्भीर मोडमा र संकटपूर्ण अवस्थामा पुर्याए भनेर आम जनसमुदाय र नेता कार्यकर्ताबीच आवाज राखें । पटक पटकको भेटमा स्वयं केपी ओलीलाई सच्चिएर अघि बढ्न आग्रह गरें । तर सत्ता,शक्ति र माफियाको जगमा उभिएका ओलीले हाम्रा सुझावहरु मनन गरेनन्,वास्ता गरेनन् बरु प्रतिशोध साँध्ने काम मात्र गरे । त्यही कारण आम जनता,नेता-कार्यकर्ता र ओली सरकारबीच तीव्र दूरी बढिरह्यो ।
मनोगत आधारमा र स्वेच्छाचारी ढंगले सरकार चल्दा र जनअपेक्षा अनुरुप काम नहुँदा निराशा बढ्यो । जस्तो कि राज्यका विभिन्न निकायले कोरोनाले भयावह रूप लिन्छ भन्दाभन्दै पनि ओलीले यसलाई मनोगतरुपमा ठट्टाको विषय बनाए । ओलीको कुतर्क र कुवर्णनका कारण कोरोना प्रतिकार्यका लागि राज्य संयन्त्रले प्रभावकारी कार्य सम्पादन गर्न सकेन । हजारौंको ज्यान जाने अवस्था बन्यो । सिंगो जनताप्रति योभन्दा ठूलो अपराध अरु हुन सक्दैन ।
आजको दिनसम्म आइपुग्दा जनसाधारण समेत केपी ओलीले नेपाली जनता,निष्ठावान नेता कार्यकर्ता,लोकतन्त्र,संविधान र सिंगो कम्युनिष्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेका छन् । अब प्रतिरोधमा उत्रिने अवस्था बनेको छ । त्यसैले हामीमाथि कानूनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको छ । अब सिंगो कम्युनिष्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द गर्ने अभिभारा युगले तपाईं,हामीलाई सुम्पेको छ । ओली सरकारको सर्वसत्तावाद र निरङ्कुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दछु ।
टिप्पणीहरू