याक एण्ड यति बैठकको कामरेडी गुह्य कुरा

याक एण्ड यति बैठकको कामरेडी गुह्य कुरा

झण्डै फुटको डिलमा पुगेको पार्टीलाई एकतामा फर्काउने प्रयासस्वरूप गत साता गठित सत्तारुढ एमालेको विवाद समाधान कार्यदल अघोषित रुपमा भंग भएको छ । पहिलो बैठक बसेर सामान्य छलफल गरेको कार्यदलको दोस्रो बैठक बस्न नभ्याउँदै राष्ट्रिय राजनीतिमा आएको परिवर्तनले कार्यदल भंगको अवस्थामा पुगेको हो ।

माधव नेपाल समूहका ११ जना नेतामाथि पार्टीको साधारण सदस्यसमेत नरहने गरी ओली पक्षले गरेको कारवाहीले एमाले औपचारिक विभाजनको दिशामा अघि बढेपछि कार्यदलको औचित्य समाप्त भएको बताइन्छ । यसको खुलासा ओलीपक्षीय कार्यदलका सदस्य सुवास नेम्वाङले गरिसक्नुभएको छ  ।

‘उधारो कुरा गरेर हुँदैन,गर्ने भए अहिले नै घोषणा गरौं,अदालतमा हस्ताक्षर बुझाउनुअघि नै घोषणा गरौँ । त्यो हुन्छ भने ठीक छ । तपाइँहरु कुरा गर्नुस् । बरु रीट एक दिन पछि सार्न सकिन्छ । होइन फेरि उही टालटुल पार्न खोजेको हो भने त हुँदैन’

नयाँ सरकार गठनको प्रक्रियामा माधव नेपाल पक्षका सांसदहरुले विपक्षी गठवन्धनको पक्षमा हस्ताक्षर बुझाएपछि एकता भाँडिएको ओली पक्षको दाबी छ । नेपाल पक्षले भने एकताका नाममा आफूहरुलाई अल्मल्याउने र जसरी पनि संसद विघटन गर्ने प्रधानमन्त्री तथा अध्यक्ष ओलीको चालबाजीका कारण विश्वासको वातावरण बिग्रिएको आरोप लगाएको छ ।

बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल सहित सो पक्षका ११ जना नेतालाई पार्टीबाट निश्कासन गरेको र संसद विघटन गरेर असंवैधानिक कदम चालेकाले एकताको सम्भावना कमजोर बनेको नेपाल पक्षका नेताहरु बताउँछन् ।

‘पार्टीको विवाद नमिल्ने,संसद पनि नरहने अवस्थाको अन्त्यका लागि हामीले देउवाको पक्षमा समर्थन गरेका हौँ ।’

यध्यपि दुवै तर्फका दोस्रो तहका नेताहरु भने अझै पनि पार्टी एकता जोगाउने कसरतमा छन् । जेठ ८ गते दिउँसो विपक्षी गठवन्धनका तर्फबाट सरकारमा दाबी पेश गर्न काँग्रेस,माओवादी केन्द्र,जसपालगायत दलका नेताहरु सँगै बरिष्ठ नेता नेपाल शीतलनिवास पुग्दा कार्यदलका सदस्यहरुबीच अनौपचारिक छलफल भैरहेको थियो । जेठ ८ गते मध्यरात भएको प्रतिनिधिसभा विघटनयता पनि दुई पक्षका नेताहरुबीच छलफल चलिरहेको छ ।

यसरी जोडिएका थिए नेताहरु याक एण्ड यतिमा

जेठ ७. गते मध्यरात संसद विघटन भएपछि विपक्षी गठवन्धनसँगै नेपाल पक्ष पनि कानुनी उपचार खोज्न सर्वोच्च अदालत जाने तयारीमा थियो । २६ जना साँसदको हस्ताक्षर जुटाउने दौडधुप चलिरहेकै बेला काठमाडौँको याक एण्ड यतिमा नेपाल पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई पार्टी एकता जोगाउने अन्तिम प्रयासमा जुटेका थिए । उनीहरुसँग ओली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली छलफलमा थिए ।

अघिल्लो दिनको अनौपचारिक छलफलमा स्थानीय कमिटीहरुलाई जेठ २ कै अवस्थामा लैजाने र नेकपाको केन्द्रीय कमिटीमा रहेर एमालेमा फर्किएकालाई मान्यता दिने कुरामा ओलीसमेत सहमत भएको अनौपचारिक प्रस्ताव विष्णु पौडेलबाट आएपछि भेटघाटको वातावरण बनेको बताइन्छ ।

प्रधानमन्त्रीसँग सल्लाह गरेर फोन गर्छु भन्नुभएका पौडेलको फोन नआएपछि दिउँसो भुसाल र पाण्डेसहितका नेताहरु हस्ताक्षर गर्न पुग्नुभएको बताइन्छ

स्रोतका अनुसार उक्त बैठकमा नेपाल पक्षका नेताहरुले तत्काल संयुक्त स्थायी कमिटीको बैठक बसेर सहमति भएका कुरा घोषणा गर्ने र सर्वोच्चमा दायर रिटमा नेपाल पक्षका सांसदहरुले हस्ताक्षर नगर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सबै नेता सहमत भएर उठेको बताइन्छ ।

याक एण्ड यति छलफलको रिपोर्ट सुनाउन भोलिपल्ट बिहानै भुसाल र पाण्डे नेपाल निवास कोटेश्वर पुगेका थिए । पार्टी एकताको सम्भावना बढेको कुरा सुनेपछि नेपाल पनि उत्साहित भएको सो भेटमा सहभागी एक नेता बताउँछन् ।

‘उधारो कुरा गरेर हुँदैन,गर्ने भए अहिले नै घोषणा गरौं,अदालतमा हस्ताक्षर बुझाउनुअघि नै घोषणा गरौँ । त्यो हुन्छ भने ठीक छ । तपाइँहरु कुरा गर्नुस् । बरु रीट एक दिन पछि सार्न सकिन्छ । होइन फेरि उही टालटुल पार्न खोजेको हो भने त हुँदैन’,नेता नेपालको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

नेता नेपालले विष्णु पौडेल र सुवास नेम्वाङलाई भनेर तत्काल संयुक्त वक्तव्य निकाल्ने प्रस्ताव ओलीसमक्ष पुर्याउन भन्नुभएको उनले बताए ।

त्यसपछि पाण्डेले वार्ता टोलीका संयोजक भीम रावललाई भनेपछि रावलले विष्णु पौडेललाई फोन गरेर संयुक्त वक्तव्य निकाल्ने,विघटनको समर्थन नगर्ने र आफूहरु रिटमा हस्ताक्षर गर्न नजाने कुरा सुनाउनुभएको स्रोत बताउँछ । प्रधानमन्त्रीसँग सल्लाह गरेर फोन गर्छु भन्नुभएका पौडेलको फोन नआएपछि दिउँसो भुसाल र पाण्डेसहितका नेताहरु हस्ताक्षर गर्न पुग्नुभएको बताइन्छ । ओली पक्षका नेताहरुले भने अघिल्लो दिन सहमति गरेर भोलिपल्टै हस्ताक्षर गर्न गएको देखेर अचम्ममा परेको बताएका छन् । ओलीपक्षीय वार्ता टोलीका संयोजक सुवास नेम्वाङले नेपाल समूहका कारण एकता टुटेको सार्वजनिक रुपमै बताउनुभएको छ ।

आफूहरुका कारण एकता भाँडिएको भन्ने आरोपको नेपाल पक्षका नेता जीवनराम श्रेष्ठले खण्डन गर्नुभयो । ‘उताका साथीहरु अनेक प्रस्तावमा छलफल गर्ने तर प्रधानमन्त्री ओलीलाई मनाउन नसक्ने, ओलीले नमान्दासम्म विवाद हल नहुने अवस्थामा हामीले गरेको प्रयास सफल हुन नसकेको हो । हाम्रा कारण एकता भाँडियो भन्नु गलत कुरा हो’,उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओली जसरी पनि संसद विघटन गरेरै छाड्ने दिशामा अघि बढेपछि मुलुकलाई संकटबाट जोगाउन आफूहरु विपक्षी गठवन्धनमा जानुपरेको उहाँको दाबी छ । ‘उहाँहरुको दाउ चैं के रै”छ भने हामीलाई होल्ड गरिराख्ने अनि संसद विघटन गरेर पछि कारवाही गर्ने’, उहाँले भन्नुभयो, ‘पार्टीको विवाद नमिल्ने,संसद पनि नरहने अवस्थाको अन्त्यका लागि हामीले देउवाको पक्षमा समर्थन गरेका हौँ ।’

बरिष्ठ नेताहरुलाई नै अपमानपूर्ण ढंगले कारवाही गरेको अवस्थामा अब एकताको सम्भावना नरहेको उहाँले बताउनुभयो ।

टिप्पणीहरू