अत्यावश्यक सामान अभाव हुँदैन,घरमै बसौं : काठमाडौं सिडिओ (भिडियोसहित)
जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा पनि दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्था मिलाइएकाले घरमै बसेर निषेधाज्ञाको पूर्ण पालना गर्न सबैलाई अपिल गरेको छ ।
उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले भोलिदेखि किराना,खाद्यान्न पसल र डिपार्टमेण्टल स्टोरसमेत बन्द गर्ने गरी निषेधाज्ञाको मोडालिटी परिर्वतन गरेपछि दैनिक उपभोग्य सामान खरिदमा समस्या हुने आवाज उठिरहेको बेलामा प्रशासनले त्यस्ता वस्तुको आपूर्ति सहज पारिने जनाएको हो ।
आज बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड,साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड,उपभोक्ता संरक्षण मञ्च र खाद्य,किराना थोक व्यापार संघका प्रतिनिधिहरुसँग गरेको छलफलमा आगामी एक साता दैनिक उपभोग्य सामानको अभाव नहुने गरी व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अत्यावश्यक सामानको अभाव हुन नदिएकाले ढुक्क भएर घरभित्रै बसी निषेधाज्ञाको पालना गरी कोरोना नियन्त्रणमा सहयोग पुर्याउन सबैलाई अपिल गर्नुभएको छ ।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको तर्फबाट अनलाइन माध्यमबाट यथाशीघ्र खाद्य सामाग्री मागको विवरण संकलन गर्ने र सोहीबमोजिम गाडीबाट आपूर्तिको स्थलगत व्यवस्थापन मिलाउन आवश्यक निर्देशन दिइएको बताइएको छ ।
टिप्पणीहरू