चुनावबाट आउनेले कतिसम्म दिन सक्छन् तनाव !

केही दिनअघि काँग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मिलेर सत्ता कब्जा गरेको बताउनुभयो ।

जननिर्वाचित संस्थालाई निकम्मा बनाएर ओलीले संवैधानिक आयोगहरुमा आफ्ना मान्छे नियुक्त गरी सत्ता कब्जा गरेको कोइरालाको टिप्पणी थियो ।

कोइरालाले मात्र होइन काँग्रेस, माओवादीलगायतका दलले पनि राज्यका सबै अंगहरुलाई आफू अनुकूल चलाएर ओली निर्वाचित तानाशाह बन्ने दिशामा अघि बढेको बताउँदै आएका छन् ।

ओलीले राष्ट्रपतिसँग मिलेर पटक-पटक संविधानविरोधी गतिविधि गरिरहेको उनीहरुको आरोप छ । पछिल्लो समय आम बुध्दिजीवी,नागरिक समाज, संविधानविद,संचारकर्मीलगायतले पनि संविधानमाथि पटक-पटक आक्रमण गर्नुका पछाडि ओलीका गतिविधि लोकतान्त्रिक चरित्र अनुकूल नहुनु नै जिम्मेवार ठानेका छन् ।

‘केपी ओलीले निर्वाचित संस्था र संवैधानिक निकायलाई ध्वस्त बनाइसक्नुभएको छ । उहाँले निर्वाचित संस्था पार्लियामेन्टलाई अयोग्य बनाउने प्रयास गर्नुभयो । प्रदेशको अधिकारमाथि पनि बेलाबेला कैंची चलाइरहनु भएकै छ । संवैधानिक निकायलाई भर्ति केन्द्र बनाइसक्नुभयो । अदालत पनि अाँशिक कब्जामा छ भनिन्छ, सबैतिर कब्जा गरेर एकलौटी शासन गर्ने उहाँको चाहना देखिन्छ’,काँग्रेसका एक नेताले भने ।

एकै कार्यकालमा दुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीका रुपमा इतिहासमा ओलीको नाम लेखिएको छ । उहाँले संसद्लाई छलेर अध्यादेशमार्फत पटक-पटक संवैधानिक निकायमा आफूअनुकूल पदपूर्ति पनि गर्नुभएको छ ।

संसद अधिवेशन बोलाइसकेको अवस्थामा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेर परिषद्को बैठकबाट अख्तियार, निर्वाचन आयोग,लोकसेवा आयोगजस्ता राज्यका महत्वपूर्ण निकायलाई आफ्नो खल्तीको खेलौना बनाउनुभएको छ । ओलीले अध्यादेशमार्फत परिषद्को सांगठनिक संरचना आफू अनुकूल बनाएर संवैधानिक आयोगहरुमा एकलौटी गर्नुभएको छ ।

‘नेकपाको एकता भंग गर्ने फैसला सुनाउने न्यायाधीश कुमार रेग्मीको सहोदर दाजु माधव रेग्मीलाई लोकसेवाको प्रमुख बनाउनुभयो । उहाँका राइटहेन्ड भनिएका प्रेम राईलाई अख्तियारको प्रमुख बनाइयो । उहाँ राज्यका सबै अंग कब्जा गरी एकलौटी शासन चलाउने तीब्र उत्कण्ठा पालेर हिंड्नुभएको छ’,एमालेको नेपाल समूहका एक नेता भन्छन् ।

प्रधानमन्त्री ओलीका गतिविधि लोकतान्त्रिक समाजले कल्पनै गर्न नसक्ने गरी अघि बढिरहेको धेरैको आरोप छ । ओलीमाथि सरकारमा रहिरहन राष्ट्रपति र संवैधानिक अंगहरुलाई कठपुतली बनाउन खोजेको आरोप छ ।

ती नेता भन्छन्, ‘राज्यका अंगहरु कब्जा गर्ने र कुनै पनि हालतमा सत्तामा रहिरहने उहाँ निर्वाचित तानाशाह बनेर निस्कनुभएको छ । निरंकुशता बाजा बजाएर आउँदैन । शासकहरुका यस्तै गतिविधिले निरंकुशता देखिने हो ।’

शक्तिको भोक ओलीमा प्रधानमन्त्री निर्वाचित भएदेखि नै देखिएको हो । कार्यकालको प्रारम्भमै उहाँले राजस्व अनुसन्धान विभाग,सम्पत्ति शुध्दिकरण बिभाग,राष्ट्रिय अनुसन्धान आयोग जस्ता निकायहरु आफूमा केन्द्रित गर्नुभयो ।

‘पावर जति आफू कब्जा गर्ने अनि क्रमश: सबै संस्थाहरुलाई प्यारालाइज बनाउने । फरक बिचारमा आस्था राख्नेलाई ठेगान लगाउने अनि आफ्नो अनुकूलका मान्छेलाई भर्ति गरेर निरंकुशताको बाटोतर्फ हिंडिरहनुभएको छ’, उनी भन्छन् ।

ओलीमा ‘आइ एम द मोनार्क’ ठान्ने सोचले मुलुकको लोकतन्त्र र संविधान नै धरापमा परेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

टिप्पणीहरू