बजेट कार्यान्वयनका विभिन्न बाधा
पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले राजनीतिक अन्यौलताकाबीच सरकारले अति महत्वाकांक्षी बजेट ल्याएकाले कार्यान्वयनमा चुनौती रहेको टिप्पणी गर्नुभएको छ ।
उहाँले संसद बिघटन गरेर सरकारले सामान्य अवस्थामा जसरी बजेट ल्याएको भन्दै अर्थमन्त्रीको आलोचना पनि गर्नुभयो । ‘संसदमा उभिएर बहुमतप्राप्त दलको अर्थमन्त्रीले ल्याउने ढाँचामा बजेट आयो । जुन परिस्थिति अहिले छैन’, पाण्डेले भन्नुभयो,अध्यादेशबाट जसरी बजेट ल्याइएको छ,यो कार्यान्वयनमा ठूलो चुनौती छ ।’
‘चुनाव नभएसम्म कर्मचारीहरुले कलम चोप्नेवाला छैनन् । कर्मचारी प्रशासनले राजीनामा दिएको सरकारलाई टेर्दैन । नयाँ सरकार बन्ने नबन्ने ठेगान छैन । यस्तो अन्योलतामा कसरी बजेट लागू हुनसक्छ ?’
उहाँले मूलतः दुई वटा कारणले बजेट कार्यान्वयनमा कठिनाइ हुने बताउनुभयो । अहिलेको राजनीतिको अन्योलता र कोभिड महामारीले बजेट कार्यान्वयनमा समस्या ल्याउने उहाँको धारणा छ । ‘दुइटा अवस्थामा बजेट कार्यान्वयनको अप्ठेरो देखिन्छ, एउटा कोभिड,अर्को राजनीतिक अनिश्चितता । यस्तो बेलामा फुलफेजको बजेट आएको छ,अब यसको स्वामित्व कसले लिने भन्ने राजनीतिक नैतिकताको प्रश्न आउँछ ।’
उहाँले संसद विघटन भएको र चुनावको अनिश्चितता बढेको अवस्थामा सरकारले राजनीतिक सहमति गरेर बजेट ल्याउनुपर्नेमा त्यसो नगरेको भन्दै असन्तुष्टि जनाउनुभयो । सरकारले जवर्जस्ती गर्दा बजेटको भविष्यमाथि प्रश्न उठेको उहाँको बुझाइ छ ।
कर्मचारी प्रशासनको आसहयोगका कारण पनि बजेट कार्यान्वयनको प्रक्रिया जटिल रहेको उहाँले बताउनुभयो । ‘सरकारको स्थायित्व नदेखेपछि काम नगर्ने हाम्रो कर्मचारी प्रशासनको जवरजस्त प्रवृत्ति छ । जसका कारण बजेटको भविष्यमाथि ठूलो प्रश्नचिन्ह उठेको छ’,उहाँले भन्नुभयो, ‘चुनाव नभएसम्म कर्मचारीहरुले कलम चोप्नेवाला छैनन् । कर्मचारी प्रशासनले राजीनामा दिएको सरकारलाई टेर्दैन । नयाँ सरकार बन्ने नबन्ने ठेगान छैन । यस्तो अन्योलतामा कसरी बजेट लागू हुनसक्छ ?’
“भ्याक्सिनको राजनीति पनि छ । भारतको ल्याए चीन रिसाउने, चीनको लाए भारत रिसाउने । युरोपको ल्याए दुवै देश रिसाउने ।”
उहाँले मङ्सिरसम्म त एक कौडीको पनि काम नहुने ठोकुवा गर्नुभयो । त्यसपछि पनि चुनाव हुने सम्भावना निकै कम देखिएकाले अर्को संकट आउने उहाँको बुझाइ छ । अध्यादेशबाट ल्याएको बजेटको आयु जम्मा ६ महिनामात्र हुने भएकाले मंसिरमा पुन: अर्को अध्यादेश ल्याएर ट्रान्सफर गर्नुपर्ने भएकाले कार्यान्वयन प्रक्रिया जोखिमपूर्ण रहेको उहाँको धारणा छ ।
सबै नागरिकलाई कोभिडको भ्याक्सिन नलगाएसम्म अर्थतन्त्र सामान्य अवस्थामा ल्याउन नसकिने भएकाले बजेट कार्यान्वयनमा कोभिड महत्वपूर्ण फ्याक्टर रहेको उहाँको विश्लेषण छ ।
‘हाम्रो आफ्नो उत्पादन छैन । किनेर ल्याउनुपर्ने हुन्छ । उत्पादन गर्नेहरुले आफ्ना नागरिकलाई नदिई हामीलाई दिंदैनन् । त्यसकारण भ्याक्सिन पाउनै समस्या छ । अर्कोतिर भ्याक्सिनको राजनीति पनि छ । भारतको ल्याए चीन रिसाउने, चीनको लाए भारत रिसाउने । युरोपको ल्याए दुवै देश रिसाउने । कमिशनको कुरा पनि आउला । दर रेटको कुरा होला । यो त अन्ततः पोलिटिकल प्रश्न पनि हो । त्यसैले जबसम्म भ्याक्सिन लगाइन्न तबसम्म मानिसहरु आत्मबलका साथ बाहिर निस्कने देखिदैन । त्यसकारण बजार सामान्य नहुँदा बजेटको अवस्था के होला ?’
आफूले पनि अध्यादेशबाट बजेट ल्याएको स्मरण गराउँदै पूर्वअर्थमन्त्री पाण्डेले त्यतिबेला आफूले राजनीतिक सहमति जुटाएको बताउनुभयो । ‘लामो समय नयाँ सरकार बन्न नसकेपछि मैले पनि अध्यादेशबाट बजेट ल्याएको थिएँ । तर त्यतिबेला राजनीतिक सहमति भएको थियो । अहिले त्यस्तो अवस्था छैन’, उहाँले भन्नुभयो ।
माधवकुमार नेपालको तत्कालीन मन्त्रिपरिषद सदस्य रहनुभएका पाण्डेलाई सफल अर्थमन्त्रीका रुपमा लिइन्छ ।
टिप्पणीहरू