विपक्षीहरुको आयो अर्को खवरदारी
विपक्षी गठबन्धनका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनैपनि कामकारबाही नगर्न चेतावनी दिएका छन् ।
आज संयुक्त विज्ञप्तिमार्फत प्रतिनिधिसभा पुनर्स्थापना र १ सय ४९ जना सदस्यको हस्ताक्षरमा वैकल्पिक प्रधानमन्त्रीको विधिवत दाबी प्रस्तुत गरिसकेको अवस्थामा त्यस्तो काम नगर्न यस्तो आग्रह आएको हो ।हिजो जारी बजेटतर्फ लक्षित गर्दै नेताहरुले सरकारका संविधान विपरित अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई समेत आग्रह गरिएको हो ।
काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्री ओलीले संविधानको ठाडो उल्लंघन गरी अध्यादेशबाट बजेट ल्याएको समेत निष्कर्ष निकालिएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘प्रधानमन्त्रीबाट भइरहेको संविधानको उल्लंघन संघीय संसदमा पेश हुनुपर्ने बजेट अध्यादेशबाट ल्याउने कार्यमा पुनः प्रकट भएको छ । देश कोरोना महामारीबाट आक्रान्त भइरहेको कठिन स्थितिको दुरुपयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संविधानको अवहेलना र उल्लंघन गर्ने काम एकपछि अर्को गरी भइरहेका छन् ।’
गठबन्धनले सर्वोच्च अदालतबाट न्याय पाउनेमा विश्वास व्यक्त गरेको छ । जारी विज्ञप्तिमा संवैधानिक सर्वोच्चता,कानुनी शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको मुलुकमा सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुनेमा विश्वास व्यक्त गरिएको छ ।
टिप्पणीहरू