एमालेबाट थप एक दर्जन नेता निश्कासनको तयारी

एमालेबाट थप एक दर्जन नेता निश्कासनको तयारी

नेकपा एमालेले १२ जना नेतालाई आजैका मितिदेखि लागू हुनेगरी साधारण सदस्यताबाटै निश्कासन गर्न लागेकोमा स्थायी समितिको बैठक स्थगित भएकोले भोलि बिहानसम्मलाई सरेको छ ।

आज रातभरमा केहीलाई फकाउने तयारी भएकोले समयअभावको कारण बैठक सारिएको बताइन्छ । स्थायी समितिले यसअघि नै कारवाही,नियुक्ति,पुरस्कार,पदोन्नतिलगायत यावत निर्णय गर्ने अधिकार अध्यक्षलाई सुम्पिएवमोजिम उहाँले निर्णय गरिसकेर भोलि सुनाउने कार्यक्रम हो ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा निकालिएका (स्थायी समितिले औपचारिकता दिन बाँकी) नेताहरुमा उपमहासचिव घनश्याम भुसाल,स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलगायत प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सदस्यहरु हुनुहुन्छ ।

आजै निकाल्न लागिएका अन्य नेतामा भवानी खापुङ,यज्ञराज सुनुवार,विरोध खतिवडा,जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन,सोमप्रसाद पाण्डे,मेटमणि चौधरी,झपट रावल,दिपकप्रकाश भट्ट र नारायण खतिवडा हुनुहुन्छ । उहाँहरुलाई अध्यक्षका हरेक काममा साथ नदिएको आरोप लगाउँदै २४ घण्टे स्पस्टिकरण सोधिएको थियो । तर,उहाँहरु कसैले पनि जवाफ दिनुभएको थिएन ।

यसअघि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल,झलनाथ खनाल र उपाध्यक्ष भीम रावलसहित ११ जना र आज १२ जना गरी २३ जना नेतालाई पार्टीबाट निश्कासन गरिएको हो । यसबीच नेपाल-खनाल समूहमा रहनुभएका भनिएका योगेश भट्टराई,गोकर्ण बिष्ट र गणेश पहाडीलाई भने कारबाही गरिएको छैन ।

टिप्पणीहरू