धादिङ्बेसीमा आफ्नै अक्सिजन

धादिङ्बेसीमा आफ्नै अक्सिजन

-शंकर श्रेष्ठ

धादिङबेसीस्थित अस्थायी कोभिड अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ । नीलकण्ठ नगरपालिकाले ३३ लाख लगानीमा २ वटा मिनी अक्सिजन प्लान्ट ल्याएको हो । यो जिल्लाकै पहिलो हो ।

प्लान्टबाट प्रतिमीनेट २०/२० लिटरका दरले दैनिक १० सिलिण्डर बराबर अक्सिजन उत्पादन हुने नीलकण्ठ नगरपालिकाका जनस्वास्थ्य निरिक्षक शिव रानाले जानकारी दिए । हाल जडान गरिएको प्लान्टबाट उत्पादित अक्सिजनले सामान्यतया बढीमा १० जना बिरामीलाई पुग्नेछ ।

‘यो प्लान्टको अक्सिजन १० जनासम्म सामान्य बिरामीलाई दिन सकिनेछ’ राना भन्छन्- ‘तीब्र गतिमा अक्सिजन प्रवाह गर्नुपर्दा ३ देखि ४ जनालाई मात्रै पुग्छ ।’

उत्पादित अक्सिजन सीधै बिरामीमा प्रयोग हुने हुँदा अक्सिजन सिलिण्डरमा भरेर संचित गर्न भने नमिल्ने प्राविधिकहरुले बताएका छन् ।

बिहिबार नगरप्रमुख भीमप्रसाद ढुङ्गाना,उपप्रमुख मनराज भण्डारी र प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले अक्सिजन प्लान्टको औपचारिक उद्घाटन गरेका हुन् ।

टिप्पणीहरू