चिनियाँ राजदूतले 'तीन ठाउँ' मा के बनाउन चाहेको ?
हिजो बिहिवार साँझ काठमाडौंमा आयोजित चिनियाँहरूको परम्परागत नयाँ वर्ष वसन्त चाडको अवसरमा राजदूत छन सोङले लामो भाषण दिए ।
सभामुख देवराज घिमिरेलाई प्रमुख अतिथि बनाएर गरिएको नयाँ वर्षको उक्त विशेष कार्यक्रममा नेपालका राजनीतिककर्मी,मन्त्री,अमेरिकीसहित विभिन्न मुलुकका राजदूत,उच्च पदस्थ कर्मचारी,सन्चारकर्मी र पेशागत प्रतिनिधिहरु सहभागी थिए ।
त्यस क्रममा लिखित मन्तव्य दिने क्रममा राजदूत छनले राजनीतिक टिप्पणी त गरेनन् तर नेपालमा उत्तरी छिमेकीको उपस्थितिबारे अर्थपूर्ण सन्देश दिन भ्याए । खासगरी गत मंसिर १९ गते बेल्ट एन्ड रोड (बिआरआई) को-अपरेशन फ्रेमवर्कमा हस्ताक्षर गरेसँगै चीनले नेपालमा आफ्नो उपस्थितिलाई देखिने गरी बढाइरहेको छ।
खेल गतिविधि,सांस्कृतिक कार्यक्रम र द्विपक्षीय भ्रमणलाई प्राथमिकता दिइरहेको चीनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बिआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेसँगै काठमाडौं बाहिर पनि उपस्थिति बढाएको देखिन्छ ।
त्यही उपस्थितिलाई पुष्टि गर्ने गरी राजदूतले उक्त कार्यक्रममा चीनले नयाँ प्रविधि,एआई र स्वच्छ ऊर्जामा धेरै प्रगति गरेकाले त्यसबाट नेपालले पनि लाभ लिन सक्नुपर्ने बताए । चीनले चन्द्रमामा नयाँ अध्ययन अघि बढाएको बताउँदै उनले दुई देशबीचको सभ्यता आदानप्रदानलाई मानव विकासक्रमको अभियानका रुपमा उल्लेख गरे ।
‘सही समयमा सही कदम चाल्नु पर्छ,फलाम तातेको बेला घनले हान्नुपर्छ ।’
‘गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गर्दा बिआरआई अघि बढाउन फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भइसकेको छ’, उनले भने, ‘यसले दुई देशवीच त्रिआयामिक कनेक्टिभिटी नेट्वर्कको ढोका खोलिसकेको छ । अहिले नेपालसँगका १४ वटा नाका खुलेका छन् । सीमापार रेल र प्रसारण लाइन (ग्रीड) निर्माण पनि अघि बढ्दैछन् ।’
उनले कूटनीतिक भाषा प्रयोग गर्दै मंसिर १९ मा भएको बिआरआई फ्रेमवर्क सम्झौतालाई ठूलो उपलब्धिका रुपमा ब्याख्या गरेका छन्। राजदूत छन त्यसलाई सही समयमा चालिएको सही कदम पनि भन्दछन् ।
‘यसले दुई देशका मित्रहरू आउने जाने क्रम बढेको छ । नेपालमा चिनियाँ पर्यटक र व्यापारीको आगमन बढ्नेछ । व्यापार बढ्दा चीन खुशी छ’,उनले बिआरआई फ्रेमवर्क सम्झौतातिर इंगित गर्दै भने, ‘सही समयमा सही कदम चाल्नु पर्छ,फलाम तातेको बेला घनले हान्नुपर्छ भनेजस्तै उचित समयमा उचित निर्णय फलदायी हुन्छ ।’
तीन ठाउँमा तीन ब्राण्ड
राजदूत छनले सम्बोधनका क्रममा नेपालमा चीनले ‘तीन ठाउँमा तीन ब्राण्ड’को कन्सेप्टमा प्रोजेक्टहरू अघि बढाइएको पनि बताएका छन् । उनले यसबीच उत्तरतिर जोडिएका दोलखामा विद्यालय र सिन्धुपाल्चोकमा अस्पताल भवन बनाएर हस्तान्तरण गरिएको उल्लेख गर्न छुटाएनन् ।
चीनले नेपालमा पर्यटकीय गतिविधि बढाउन ‘तीन ठाउँमा तीन ब्राण्ड’को नाममा सांस्कृतिक उत्सव र खेल महोत्सव गरेको उनको भनाइ छ । ‘काठमाडौंमा वसन्त पर्व उत्सव,पोखरामा चीन–नेपाल मैत्री ड्र्यागन बोट रेस र अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड, लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवलगायत ‘तीन स्थानमा तीनवटा ब्राण्ड’ कन्सेप्टमा ठूला कार्यक्रम सम्पन्न भएका छन्’, उनले भने, ‘जसले नेपालको पर्यटन प्रवर्द्धनमा उल्लेख्य योगदान दिएको हाम्रो विश्वास छ ।’
चीन र नेपालवीच हिमालय सीमापार त्रि-आयामिक कनेक्टिभिटी नेट्वर्क निर्माणको कामले पनि गति लिएको उनले बताएका छन् । १४ परम्परागत सीमा नाका पूर्ण रुपमा सञ्चालन, काठमाडौंबाट चीनका शहरमा साप्ताहिक ४८ उडान,हिल्सा–सिमकोट राजमार्ग,टोखा–छहरे सुरुङ निर्माणले गति लिन थालेको पनि उनले बताए । बिआरआई सम्झौतामा हस्ताक्षर,सीमापार रेलमार्ग, क्रस बोर्डर पावर ग्रीड जस्ता महत्वपूर्ण आयोजनालाई गति दिने कुरामा चीन प्रतिबद्ध रहेको उनले बताए ।
उनले धेरैभन्दा धेरै चिनियाँ उद्यमीले नेपालमा लगानी गरिरहेको बताए । ‘धेरैभन्दा धेरै नेपाली वस्तु चीनमा निर्यात हुन थालेको देख्दा हामी खुशी छौँ । दुई देशका जनताले यसबाट लाभ लिने कुरामा शंका छैन । हाम्रो मित्रतालाई अझ उचाइमा पुर्याउन विभिन्न उत्सव हुनेछन्’, उनले भने, ‘वसन्त पर्व विदेशका चिनियाँका लागि भावनाको बन्धन मात्र होइन,विश्वका लागि चीनलाई बुझ्ने झ्याल र सभ्यता आदानप्रदान र आपसी समझदारीको पुल पनि हो ।’
सोही समारोहमा हाम्रा सभामुख देवराज घिमिरेले गर्नुभएको सम्बोधन जस्ताको तस्तै:
नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको उद्घाटन र चिनियाँ नयाँ वर्ष २०२५ को अवसरमा आयोजना गरिएको आजको यस कार्यक्रममा तपाईंहरूबीच उपस्थित भई सम्बोधन गर्न पाउँदा अत्यन्त खुशी लागेको छ।
नेपाल-चीन सम्बन्धको यस ऐतिहासिक क्षणमा आजको यो कार्यक्रम आयोजना गर्नुभएकोमा महामहिम राजदूत एवम् राजदूतावास परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। उच्च राजनीतिक व्यक्तित्व,कूटनीतिज्ञ, व्यवसायी,शिक्षाविद्, सञ्चारकर्मीलगायत विभिन्न प्रबुद्व व्यक्तित्वहरूको उपस्थितिले यसको गरिमा बढाएको छ। यस महत्वपूर्ण कार्यक्रममा सहभागिताका लागि चीनबाट आउनुभएका सबै कलाकारलाई न्यानो र हार्दिक स्वागत गर्न चाहन्छु ।
आजको यस विशेष अवसरमा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूका साथै चिनियाँ नेतृत्व र चिनियाँ मित्रजनहरूमा सुस्वास्थ्य,प्रगति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। हाम्रा दुई देशबीच विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन आजको कार्यक्रमले उल्लेखनीय भूमिका निर्वाह गर्ने कुरामा म विश्वस्त रहेको छु ।
चिनियाँ परम्पराअनुसार यो वर्ष सर्प वर्ष हो। सर्प चिनियाँ राशी चक्रको 12-वर्षीय चक्रमा ड्र्यागन पछि र घोडाको अगाडि पर्ने छैटौँ जनावर हो। सर्पलाई विवेक,सौभाग्य र उर्वरताको प्रतिकको रूपमा लिइन्छ। यस नयाँ वर्षले चिनियाँ मित्रजनहरूमा थप खुशी, प्रगति र समृद्धि ल्याउने विश्वास लिएको छु।
नेपाल र चीनबीच सदियौँ पुरानो एवम् निकट,मित्रवत् र सहयोगात्मक सम्बन्ध रहिआएको छ। हाम्रो सम्बन्ध गहिरो, सद्वभावपूर्ण र बहुआयामिक छ,जुन आपसी विश्वासको बलियो जगमा निर्माण भएको छ। भौगोलिक र सांस्कृतिक समानताहरूका साथै जनस्तरको सम्बन्धले हाम्रो द्विपक्षीय सम्बन्धलाई थप मजबुत पार्दै लगेको छ।
सात दशकअघि सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल-चीनबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर विकसित र सुदृढ हुँदै आएको छ। शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरू अर्थात पञ्चशीलद्वारा निर्देशित हाम्रो द्विपक्षीय सम्बन्ध असल छिमेकपन,आपसी साझेदारी र सम्मानका साथै अन्तर्राष्ट्रिय मूल्य र मान्यतामा आधारित रहेको छ। हामी बीचको यस्तो सुमधुर सम्बन्धलाई थप सुदृढ र घनीभूत तुल्याउँदै लैजान हामी सदा तत्पर रहँदै आएका छौँ।'एक चीन सिद्धान्त' लाई दृढतापूर्वक पालना गर्नुका साथै यस प्रतिको नेपालको प्रतिबद्धता बलियो रहिआएको छ।
चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्त्वपूर्ण विकास साझेदार मुलुकको रूपमा रहिआएको छ। नेपाल सरकार र नेपाली जनता चिनियाँ सरकार र जनताका तर्फबाट नेपालको विकास प्रयासमा हुँदै आएको सहयोग र सहकार्यका लागि आभारी रहेका छन्।
नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्व दिंदै आएको छ। एक आपसमा उच्चस्तरीय भ्रमण एवं कार्यक्रमहरूको नियमित आदानप्रदानमार्फत हामीले द्विपक्षीय सम्बन्धमा उल्लेख्य प्रगति र गतिशीलता हासिल गरेका छौँ। सन् 2019 मा नेपालका तत्कालिन राष्ट्रपति श्री विद्यादेवी भण्डारीबाट भएको चीनको राजकीय भ्रमण र सोही वर्ष महामहिम चिनियाँ राष्ट्रपति श्री सी चिनफिङबाट भएको नेपालको राजकीय भ्रमणले हाम्रो सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन महत्त्वपूर्ण योगदान गरेका छन्।
हालसालै डिसेम्बर २०२४ मा सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीज्यूबाट भएको चीनको औपचारिक भ्रमणले नेपाल-चीनबीचको मित्रवत् सम्बन्धलाई थप प्रगाढ र मजबुत बनाउन उल्लेख्य मद्दत मिलेको छ। उक्त औपचारिक भ्रमणका क्रममा भएका महत्त्वपूर्ण निर्णयहरू र सम्झौताहरूले हाम्रो द्विपक्षीय सम्बन्ध र सहकार्यलाई नयाँ गति प्रदान गर्न मार्ग प्रसस्त गरेका छन्। यसबाट नेपालको आर्थिक रूपान्तरण र विकासका प्राथमिकताका क्षेत्रहरूमा सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली – Prosperous Nepal, Happy Nepali’ प्राप्तिमा मद्दत मिल्ने कुरामा म विश्वस्त रहेको छु।
असल मित्र र निकट छिमेकीको रूपमा नेपालले चीनको प्रगतिमा गौरव गर्नुका साथै बृहत् आर्थिक साझेदारीमार्फत चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ हासिल गर्न चाहन्छ। यस सन्दर्भमा नेपालको विकास प्रयासमा रहेको चीनको साथ, सहयोग र सहकार्यको हामी उच्च प्रशंसा गर्न चाहन्छौँ। नेपाल सन् 2026 भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने परिप्रेक्ष्यमा सहज स्तरोन्नति र सोको दीगोपनाका लागि चीनबाट महत्वपूर्ण सहयोग रहने हामीले अपेक्षा गरेका छौं ।
नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा यस बर्ष नेपाली र चिनियाँ दुवै पक्षका तर्फबाट उच्चस्तरीय भ्रमण तथा विभिन्न कार्यक्रम आयोजना गर्न लागेको थाहा पाउँदा मलाई अत्यन्त खुशी लागेको छ। यसै सन्दर्भमा हाम्रा दुवै मुलुकले सन् 2025 लाई चीनमा नेपाल भ्रमण वर्ष घोषणा गरिसकेका छन् । यसबाट ठूलो सङ्ख्यामा चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा आई हाम्रो पर्यटन प्रबर्द्धनमा महत्वपू्र्ण सहयोग पुग्ने कुरामा हामी विश्वस्त छौं ।
७०औं वार्षिकोत्सवका कार्यक्रमहरूले हाम्रा दुई राष्ट्रबीचको आर्थिक र सांस्कृतिक सम्बन्ध एवम् जनस्तरको सम्बन्धलाई समेत थप सुदृढ र विकसित पार्न उल्लेख्य योगदान पुग्न जानेछ। म आज यहाँ उपस्थित सबै सरोकारवालाहरूलाई नेपाल र चीनबीच रहेका आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका अपार अवसरहरूलाई सदुपयोग गर्न एवं समृद्ध र सुनौलो भविष्यको लागि हातेमालो गर्दै अगाडि बढ्न हार्दिक आव्हान गर्दछु।
अन्त्यमा, नेपाल-चीन सम्बन्धलाई अझ प्रगाढ, मजबुत, फलदायी र व्यापक बनाउन हामी सबैको प्रयास निरन्तर रहने पूर्ण विश्वासका साथ आजको यो भव्य कार्यक्रम आयोजना गर्नु भएकोमा चिनियाँ राजदूतावासलाई पुन: एकपटक हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।साथै, यस कार्यक्रमको सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
टिप्पणीहरू