चिनियाँ चाडमाथि बालेनको चिर्पट
चिनियाँहरुको परम्परागत नयाँ वर्षसँगै वसन्त चाड आगामी बुधबारदेखि शुरु हुँदैछ । उत्तरी छिमेकी चीनले विश्वका अधिकांश मुलुकमा यो चाड मनाउँदै छ । सोही क्रममा नेपालमा पनि विभिन्न कार्यक्रम गर्ने तयारी छ ।
सन् २०२५ लाई नेपाल भ्रमण बर्ष मानेर चीनले यहाँ विशेष कार्यक्रम आयोजना गर्दैछ । दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापित ७० औं वार्षिकोत्सवको अवसरमा दुवै मुलुकले लुम्बिनीमा म्याराथन दौडसहित विशेष समारोहको आयोजना गर्दैछन् । हिजो राजधानी काठमाडौंमा चिनियाँ नयाँ वर्ष,वसन्त चाडको अवसरमा ठूलै जमघट आयोजना गरिएको थियो जसमा सभामुख देवराज घिमिरे प्रमुख अतिथि र राजदूत छन सोङले दुई देशको सम्बन्धका बहुआयामिक पक्षवारे बृहत चर्चा गर्नुभयो ।
यता दुई मुलुकबीच कायम मैत्रीपूर्ण सम्बन्धमा असर पार्न काठमाडौं महानगरपालिकाका मेयर बालेन साह उद्दत देखिएको पाइयो । उनले चिनियाँ दूतावासका विभिन्न स्थानमा आयोजना हुने कार्यक्रममा अवरोध पुर्याउन खोजेकोवारे प्रधानमन्त्री कार्यालयले समेत चिन्ता व्यक्त गरेको बुझिएको छ ।
चिनियाँ वसन्त चाड र नयाँ वर्ष २०२५ को अवसरमा काठमाडौंको ठमेल र रत्नपार्कमा आयोजना गर्न लागिएको कार्यक्रमलाई अनुमति नदिइएको मात्रै होइन दूतावासलाई गम्भीर रुपमा सांकेतिक आक्षेप लगाउँदै पत्रको जवाफ दिइएपछि त्यसले पार्ने कूटनीतिक सम्बन्धको चर्चा भएको बताइन्छ । चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिनले पोहोरजस्तै यसपाली पनि रत्नपार्कमा शान्त लालटिन पर्व मनाउन अनुमति मागेका थिए । पत्रमा काठमाडौं महानगरपालिकालाई माघ १३ देखि फागुन १२ गतेसम्म हुने उक्त कार्यक्रमको सह–आयोजक बस्नसमेत प्रस्ताव गरिएको थियो ।
सहआयोजक नेपाल ओभरसिज चाइनिज एसोसिएसन र तामाङ्ग समुदायले रत्नपार्कमा सो कार्यक्रमका लागि अनुमति माग्दा उपमेयर सुनिता डंगोलको तर्फबाट स्वीकृतिको प्रस्ताव अघि बढाइए पनि मेयरले रोक लगाएको स्रोतको दाबी छ । उनले ठमेल र रत्नपार्कको कार्यक्रमलाई कलंकी कटाउन निर्देशन दिएका छन् ।
चिनियाँ दूतावासले पर्सिदेखि छ दिनसम्म २६ ठमेल लाइट अप–२०२५ र तीन सयभन्दा बढी रातो चिनियाँ लालटिन बालेर ठमेल सिँगार्न लागेको थियो । चिनियाँ नयाँ वर्ष र नेपालको तामाङ समुदायले मनाउने ल्होसार एउटै समयमा पर्छ ।
बालेनले पोहोर चिनियाँ दूतावासले रत्नपार्कमा आयोजना गर्न खोजेको लाल्टिन महोत्सवमा पनि अवरोध पुर्याउन खोजेका थिए । त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गर्न खोजिएको फुटबल प्रतियोगितालाई हुनै दिन चाहेनन् । तर,तत्कालीन प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको नेतृत्वमा काठमाण्डौ प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीसहितको संयुक्त सुरक्षा बैठकले मेयरको निर्णय उल्टाइदिएपछि भव्यताका साथ फुटबल म्याचको बाटो खुलेको थियो ।
मेयर साहले चीन सरकार,चिनियाँ दूतावास र चिनियाँ संघ संस्थाहरुको कार्यक्रमलाई विशेष लक्षित गरेर अवरोध पुर्याउँदै आएको यसैबाट देखिन्छ । उता बञ्चरे डाँडाको ल्याण्डफिल साइट समुचित प्रयोग,त्यसको आधुनिक विकासका लागि चिनियाँ कम्पनीले गरेको प्रस्तावलाई पनि लत्याइदिएको बुझिएको छ ।
यता,महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख बलराम त्रिपाठीले चीनलाई कार्यक्रम गर्न नरोकिएको बताए । ठमेल र रत्नपार्कको साटो रिङरोड क्षेत्रमा कार्यक्रम गर्न सुझाव मात्र दिइएको उनको भनाइ छ । ‘कोर एरिया’ भएकाले ट्राफिक जाम हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै कार्यक्रमस्थल सार्न सुझाइएको उनको जिकिर छ ।
भन्छन्,‘ठमेल र रत्नपार्क कोर एरिया हो । त्यहाँ अत्याधिक ट्राफिक जाम हुन्छ । उहाँहरुको कार्यक्रम एक महिनाको रहेछ । सो क्षेत्रमा त्यति लामो समय कार्यक्रम गर्न दिएमा सर्वसाधारणलाई सास्ती हुन्छ । त्यसैले हामीले रिङरोड क्षेत्रमा गर्न सुझाएका हौं । पत्रमा सुझाव मात्र दिइएको छ, कार्यक्रम गर्न दिने–नदिने उल्लेख छैन ।’
तस्विरहरुः
टिप्पणीहरू