ज्यान मारेर बेपत्ता ४ जना च्याप्पै

ज्यान मारेर बेपत्ता ४ जना च्याप्पै

मोरङमा ज्यानसम्बन्धी कसूरका चार जना फरार अभियुक्त पक्राउ परेका छन् । केरावारी गाउँपालिका–३ का ४४ वर्षीय डिकबहादुर राई,३६ वर्षीय बुध्दवीर लिम्बु,१९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का १९ वर्षीय विपन लिम्बु समातिएका हुन् ।

केराबारी गाउँपालिका–३ स्थित बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्न गएको बेला गत बैशाख ८ गते साँझ भरुवा बन्दुकको गोली लागेर सोही ठाउँका ३२ वर्षीय हस्तकुमार राईको मृत्यु भएको थियो ।

उक्त वनमा लुकाई राखेको तीन थान र लेटाङ नगरपालिका–१ स्थित जंगलको ओडारमा लुकाई राखेको अर्को एक गरी चार थान भरुवा बन्दुकसमेत प्रहरीले बरामद गरेको छ ।

सोही घटनामा संलग्न केराबारी गाउँपालिका–३ का २६ वर्षीय रुबिन लिम्बु र ३७ वर्षीय गजेन्द्रबहादुर राईलाई बैशाख ९ गते उनीहरुकै घरबाट प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुविरुद्ध ज्यान र हातहतियार खरखजाना कसूर सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उता,लागूऔषधसहित ४ जना पक्राउ

कास्की र पूर्वी नवलपरासीमा लागूऔषध सहित चार जना पक्राउ परेका छन् । आज कास्कीको पोखरा महानगरपालिका–८ न्यूरोडबाट करिब २ सय ग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धादिङ्ग जलजला गाउँपालिका–६ का २० वर्षीय प्रिन्स मगर र भारत मोतिहारी घर भएको २० वर्षीय रञ्जन चौधरी रहेका छन् ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२,दाउन्नेबाट ६५ एम्पुल नुर्फिन,६५ एम्पुल फेनारगन, ६५ एम्पुल डाइजेपाम र ३ सय ट्याब्लेट नाइट्राभेटसहित दुई जना पक्राउ परेका हुुन् ।

पक्राउ पर्नेहरुमा देवचुली नगरपालिका–३ का २५ वर्षीय सुदिप पौडेल र सोही नगरपालिका–५ का २५ वर्षीय आकाश थापा रहेका छन् । ना.५२ प ९४५८ नम्बरको मोटरसाइकललाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई लागूऔषधसहित पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।

करेन्ट लागेर एक बृध्दाको मृत्यु

सप्तरीमा करेन्ट लागेर एक बृध्दाको मृत्यु भएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका–३,तरहीकी ५५ वर्षीया इनरदेवी रायको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।

आफ्नै खेतमा जाँदा घरमा बत्ती बाल्न झुण्ड्याएको बिजुलीको तार भुईंमा लत्रिएको अवस्थामा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

टिप्पणीहरू