जनआस्थामा समाचार आएपछि, चेपाङ वस्तीमा दाता पुगे, सोममायाँले भनिन्,‘अब २ महिनालाई बाँचियो’
-शंकर श्रेष्ठ
घरमा अन्नपात सकिएर भोकमरीसँग पौँठेजोरी खेल्दै गरेकी सोममायाँ चेपाङले राहत पाएकी छन् । अन्न नपाएर टाँकीको मुन्टा र गिठ्ठा खाँदै गरेको फोटो/भिडियो सार्वजनिक भएपछि दाताहरुले उनको घरमै पुगेर राहत उपलब्ध गराएका हुन् ।
राहतमा तीन बोरा चामल,दाल र नून पाउँदा सोममायाँ र ७३ वर्षीया ठूलीमायाँ चेपाङ दुबै दंग छन् । सोममायाँ भन्छिन्, ‘अब दुई महिनालाई खान पुग्छ,भदौ लागेपछि मकै पाक्छ,यो वर्षलाई अड्कलेर पुर्याउँछु ।’
सोममायाँसहित उनका छ जना स–साना छोराछोरीले टाँकीको मुन्टा खाएको र नुनिलो थाल चाट्दै गरेको कारुणिक फोटो र भिडियोसहितको समाचार जनआस्था र नवराज छत्कुलीद्वारा सन्चालित धादिङको पाविल न्युज अनलाइनमा प्रकाशित भएको थियो । बेनीघाट रोराङ–८, जिरवाङकी सोममायाँ र ठूलीमायाँसँगै गाउँका सुत्केरी, गर्भवती र अरु घर परिवारले समेत राहत पाएका छन् ।दाताहरुले सोमवार र मंगलबार गाउँमै पुगेर वडा अध्यक्ष वीरबहादुर श्रेष्ठको रोहबरमा सुत्केरी,गर्भवती र अति विपन्न परिवारलाई दुई बोरा र बाँकी परिवारलाई एक बोराको दरले खाद्यान्न वितरण गरेका हुन् ।
मनकारीहरुबाट हालसम्म बेनीघाट रोराङ गाउँपालिका–८, को जीरवाङ,यारवाङ,गोठीभन्ज्याङ, साचक,मिजारगाउँ,दाङमाङ र बिदाङ गरी २ सय ७० घरपरिवारलाई प्रतिपरिवार एक बोरा चामल,दाल,नुन, तेललगायतका सामाग्री वितरण गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए । त्यस्तै वडा नं. ६ को भूमिडाँडा,रोतेस,बुङपुङ, बोम्राङलगायत बस्तीका २ सय २७ विपन्न परिवारलाई राहतस्वरुप एक बोरा चामल,दाल, नुनलगायतका खाद्यान्न वितरण गरिएको छ ।
कसले कति सहयोग गरे ?
मंगलबार क्याप्टेन (पाइलट) रमेश श्रेष्ठको संयोजकत्वमा नेपाललगायत देश विदेशमा रहेका क्याप्टेन र कृष्णलक्ष्मी/लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान काठमाडौंले २ लाख ५६ हजार बराबरको खाद्यान्न सहयोग गरेको छ । १ सय २० परिवारलाई एक बोरा चामल,खाने तेल,दाल,चिउरा, साबुनलगायतको सहयोग सामाग्री वितरण गर्न क्याप्टेनहरुको टोली हिजो गाउँ नै पुगेको थियो ।
कोभिड एलायन्स फर नेपाल र मितेरी फाउण्डेशन चितवनको सहकार्यमा भृकुटीदेवी ट्रष्टले २ लाख ८० हजार र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि १ लाख ५० हजार बराबरको खाध्यान्न वितरण गरेका छन् ।
त्यस्तै धादिङका व्यवसायीहरुले १ लाख ७५ हजार र एकीकृत सामुदायिक विकास अभियानले ३० हजार बराबरको सहयोग गरेको छ । बेनिघाट रोराङ गाउँपालिकाले एक सय ५० बोरा चामल वितरण गरेको छ । त्यस्तै धादिङ घर भई अमेरिकामा बस्दै आइरहेका सुनिल श्रेष्ठ,सुवास श्रेष्ठले पनि सहयोग उपलब्ध गराएका छन् ।
बारीमा उब्जनी भएको अन्नपातले दक्षिणी भेगको महाभारत पर्वत शृङ्खला आसपासका स्थानीयलाई मुश्किलले वर्षको पाँच महिना खान पुग्छ । बाँकी समय यस क्षेत्रका अधिकांश परिवारले पेटभरि खान पाउँदैनन् ।
घरमा अन्नपात सकिएपछि टाँकीको मुन्टा,काँचो आँप,आरु खाएर जीवन चलाउनु यहाँका स्थानीयको बाध्यता हो । निषेधाज्ञाका कारण दैनिक ज्यालादारीको कामसमेत रोकिएकाले अघिल्ला वर्षहरुमा भन्दा यो वर्ष उनीहरु चरम भोकमरीको चपेटामा परेका छन् ।
तस्वीर :सरिता श्रेष्ठ
टिप्पणीहरू