राजधानीको बागवानी ओझेलमा

राजधानीको बागवानी ओझेलमा

काठमाडौंको दक्षिण पश्चिममा रहेको समशितोष्ण बागवानी केन्द्र ओझेलमा परेको छ । वि. सं. २०१९ सालमा जापान सरकारको सहयोगमा किर्तिपुरमा स्थापना भएको समशितोष्ण बागवानी केन्द्र धेरै सम्भावना भएर पनि खुम्चेको छ ।

नेपालको मध्यपहाडी क्षेत्रमा हुने सबै प्रकारका फलफूलको लागि बीऊ, बेर्ना, विरुवा, उत्पादन गर्ने भए पनि उक्त बागवानी सरकारको प्राथमिकतामा नपरेपछि क्रमशः खुम्चँदो अवस्थामा पुगेको हो ।

अंगुर, नासपाती, आरु, किवी, एभोकाडो, हलुवावेद, अम्बा, बयर तथा सुन्तला जातका फलफूलको ५० भन्दाबढी जातका विरुवा केन्द्रले उत्पादन गर्दै आएको छ ।

केन्द्रमा उत्पादन हुने जापानिज नासपाति र वाइनको लागि राम्रो मानिएको स्टुवेन अंगुर विशेष रहेका छन् । यस्तै, ४ सय रोपनीमा फैलिएको बागवानी केन्द्र खुम्चिँदै गएको केन्द्रकी सूचना अधिकारी सरिता गौतमले बताउनुभयो ।

उहाले भन्नु भयो ‘यति धेरै सम्भावना र महत्व भएको बागवानी केन्द्र अहिले अतिक्रमणमा परेको छ । स्थापनाकालमा करिब ४ सय रोपनीमा फैलिएको यो केन्द्र सरकारी निकायको कार्यालय, सडक लगायतले क्रमशः अतिक्रमण गरेका छन् । काठमाडौं उपत्यका नजिकै रहेको ठूलो क्षेत्रफलको जमिनमा सबैको आँखा जानु स्वाभाविक हो । बागवानी केन्द्र अहिले २ सय ७५ रोपनीमा खुम्चन पुगेको छ । सरकारले यसको महत्वलाई नबुझ्ने र प्राथमिकतामा नराख्ने हो भने खुम्चिएर सकिन पनि बेर लाग्दैन ।’

यस्तै वरिष्ठ बागवानी विकास अधिकृत राजेन्द्र कोइरालाले खुम्चँदो केन्द्रको विकासमा सरकारको ध्यान समयमै जानुपर्ने बनाउनुभयो । उहाँले भन्नु भयो ‘काठमाडौंलगायतका मध्यपहाडी क्षेत्रमा समशितोष्ण जलवायुमा उपयुक्त हुने फलफूलको विरुवा उत्पादन गर्न यो केन्द्रको प्रचार–प्रसार र क्षमता वृद्धि गर्न आवश्यक छ । बजारको अभाव नभएको तर मागअनुसार उत्पादन दिन नसकिएको समयमा यस्ता बागवानी केन्द्रको भूमिका अहम् हुन्छ । खुम्चँदो केन्द्रमा सरकारको सकारात्मक दृष्टि समयमै जाओस् ।’

टिप्पणीहरू