कहाँ से सुरु, कहाँ पे खत्तम

  • वैकुण्ठ ढकाल

कुनै बेला पुष्पकमल दाहाललाई लोकमान कार्की नभई भएन । हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने पुरानै बानीबाट दाहाल अहिले पनि आक्रान्त छन् । ४ कात्तिकमा  सांसदको प्रस्तावमा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुँदा माओवादी अध्यक्ष एवं प्रधानमन्त्रीलाई निद्रा लागेन । अब महाअभियोग प्रस्ताव पारित नहुँदासम्म निद्रा नलाग्ने अवस्था आइसकेको छ । समय कत्ति बलमान भइदिन्छ भने, शीर्ष भनिए पनि नेताको शिर छ कि छैन भन्नेमा कहिलेकाहीँ द्विविधा भने हुने गर्छ ।

गजलकार, कथाकार मनु ब्राजाकी भन्छन्, ‘मानिसको जीवन कुनै दार्शनिकले प्रतिपादन गरेको सिद्धान्तमुताविक चल्दैन र कुनै धर्माधिकारीको उपदेशअनुसार पनि हिँड्दैन । अन्त्यहीन लाग्छ जीवनको कथा । यो संसारको अस्तित्व जिउँदो रहेसम्म जीवनको समाप्ति हुनेछैन केवल यहाँ प्रतिस्थापन हुनेछ । रंगमञ्च यही हुनेछ मात्र पर्दाको रङ फेरिन सक्छ, पात्रको ढंग फेरिन सक्छ । दृश्यान्तरण हुन सक्छ, पात्रान्तरण हुन सक्छ, समयान्तरण हुन सक्छ तर जीवनमा प्रतिस्थापनको नियमान्तरण हुनेछैन । रातपछि दिन आउनु र दिनपछि रात आउनु प्राकृतिक वास्तविकता नै हो । शान, शौकत, शक्तिको उन्मादले तीन वर्षसम्म दिनै दिन देखेका लोकमानले अहिले सूर्य उदाउँदा पनि रात देखिरहेका होलान् । त्यो बेलाका परममित्र पुष्पकमल दाहाललाई अहिले परम शत्रु देखिरहेका होलान् । यस्तै त हो रंगमञ्च, यही हुन परिस्थिति फेरिए । रङ फेरिए, सेतोको ठाउँ कालोले लियो ।

बाजा बजाएर आउँदैन दशा–दुर्दशा । बर्बादीहरू घोडा चढेर आउँदा रहेछन् । यस्तै त सोच्दा हुन् लोकमान आजकल । हुन त लोकमानले कुनै त्याग–तपस्याबाट यो पद पाएका होइनन् । साढे तीन वर्षसम्म रवाफले चलाए, कमाउनु कमाए । नाम त कहिले थियो र अहिले अलिकति बदनाम थपियो । त्यही समय असल काममा लगाएको भए अहिले साथ दिने अलि बढी हुन्थे होलान् । मानिसको उपलब्धि मलामीसँग तुलना गरिन्छ । लोकमानले मृत्युपछि त पक्कै पनि धम्क्याउन सक्दैनन्, त्यो बेला मलामीको संख्या कत्ति होला खै !

जीवनको सुरु आमाको गर्भबाट हुन्छ, त्योचाहिँ निश्चित छ । यसरी एउटै प्रक्रियाबाट सुरु भएको जिन्दगी आ–आफ्नै तरिकाले जिउँछन् मानिस । जिउने कला र काइदा फरक–फरक हुन्छ † कतिले पूरा जीवन भ्रममै बिताउँछन् । त्यसमा लोकमान पनि एक भए । सबै कुरा थर्काएकै भरमा चल्न आफूलाई बोक्नेलाई संरक्षण गर्ने, विरोध गर्नेलाई ठोक्ने नीतिले संसारलाई मुीमा राख्न सकिन्छ भन्ठाने । अहिले पनि त्यही ठानिरहेका छन् । हरिद्वारमा बंगला । जीवनको उत्तरार्धमा प्रभुको नजिक जीवन बिताउने अभिलाषाले बनाएको पनि हुन सक्छ ।

०७० सालमा निर्वाचन गराउन लोकमानलाई नियुक्त नगरी भएन, अहिलेका प्रमुख दललाई, पहिले पनि उनीहरू नै प्रमुख थिए । दलले टप्पक्कै टिपेर कार्यपालिका प्रमुख बनाएका न्यायपालिकाका प्रमुख खिलराज रेग्मीलाई लोकमान नभई भएन । दलले खिलराज ल्याए, खिलराजले यमराजको स्वरूपमा लोकमानलाई भिœयाए । लोकमानलाई अख्तियार प्रमुख नबनाए, निर्वाचन गराउनै नसक्ने बताए । पहिलो संविधानसभा संविधानविनै भंग भएको थियो । दोस्रो संविधानसभा निर्वाचन नगराई पनि नहुने थियो । अहिले पनि निर्वाचनको हल्ला चलिरहेको छ । निर्वाचनका लागि कांग्रेसले लोकमानलाई बोक्ने हो कि भन्ने शंका यी पंक्ति लेखिरहँदासम्म कायमै छ । संसद्को सबैभन्दा ठूलो दलको ठूलै छ, चाला ।

ऊ बेला संविधानसभा निर्वाचन गर्न नियुक्त गर्नुपरेका लोकमान अहिले संविधान कार्यान्वयन गर्न पनि चाहिन्छ भन्ने तर्क आइसकेका छन् । त्यसलाई गज्जबले बोकेका छन् मधेसकेन्द्रित दलले । संविधान संशोधन नगरी निर्वाचन हुन सक्दैन भन्ने मधेसी मोर्चा लोकमानविरुद्धको महाभियोगले यो मुद्दा छायामा पर्ने निष्कर्षमा पुगिसकेको छ । संविधान बनाउन छाडेर नाकाबन्दी लगाउन हिँडेका मधेसी दललाई संविधानको माया लागेको हो कि लोकमानको ? लोकले जानेकै छन् ।

लोकले नमानेका लोकमानको बिदाइ संघारमा आइसकेको छ । मधेसी मोर्चा पनि सँगै सती जाने यात्रामा त होइन ? लोकमानको सती जान तयार भएकाहरू कति रहेछन् । समयले चिनाउँदै जाला ।

लोकमानलाई सुरुवाल फुत्कने बेलासम्म प्रमुख दलले बोकेका थिए । बात्स्यायनले बनाएको त्यो कार्टुन अहिलेसम्म पनि उत्तिकै चर्चित छ । अहिले को–को फेरि सुरुवाल खोलेर हत्केलाले लाज छोप्न तयार हुने हुन् ? कांग्रेसका केही नेता त्यो बाटोमा अहिलेदेखि नै लागेका छन् । विशेषतः बढी पढेर नामको अगाडि डाक्टर झुन्ड्याएकाहरू लहरको अघि उभिएका छन् । लोकमानको नियुक्तिमा जोडतोडले लाग्ने प्रचण्ड र लोकमानको इतिहास विल्कुल भिन्न छ, प्रचण्ड क्रान्तिकारी पृष्ठभूमिबाट आएका मान्छे र लोकमान पूर्णतया प्रतिगामी शाही भक्ति हुकुम प्रमांगीबाट । फरक पृष्ठभूमिबाट आए पनि लोकमानले प्रचण्डलाई कसरी बसमा पारे कुन्नि ? कुनै हालतमा छुट्न मानेका थिएनन् । सपना–विपना जहिले पनि प्रचण्डको जपना लोकमान थियो । त्यतिबेला किन लोकमानलाई बोक्नुपरेको, अहिले किन घोक्र्याउनुपरेको, त्यसको स्पष्ट जवाफ दिनुपर्छ ।

टिप्पणीहरू