पाकिस्तानविरुध्द वीरगञ्जमा विरोध प्रदर्शन

पाकिस्तानविरुध्द वीरगञ्जमा विरोध प्रदर्शन

विश्व हिन्दु परिषद् नेपालले पाकिस्तानमा हिन्दुहरुको मन्दिरमाथि आक्रमण भएको भन्दै हिजो शनिबार वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ । जिल्ला सचिव कुन्दन श्रीवास्तवको नेतृत्वमा झण्डै चार दर्जन प्रदर्शनकारीले र्याली निकालेका हुन् ।

नाराबाजी गदै नगरपरिक्रमापश्चात् घण्टाघर चोकमा आयोजित कोणसभामा बोल्दै विश्व हिन्दु परिषद् नेपालको केन्द्रीय सचिव जितेन्द्र सिंहले पाकिस्तानमा भएको हिन्दु मन्दिर तोडफोडबारे आपत्ति व्यक्त गरेका हुन् । उनले हिन्दु चेलीबेटीहरुमाथि दुर्ब्यवहारसमेत भएको आरोप लगाएका छन् ।
सोही कार्यक्रममा बोल्दै जिल्ला सचिव श्रीवास्तवले प्रदेश नम्बर २ का हिन्दु बाहुल्यता क्षेत्रमा आफूहरुले अल्पसंख्यक मुस्लिमलाई मुख्यमन्त्री बनाएको तर पाकिस्तानमा ठीक विपरित धर्म परिवर्तन र हिन्दुमाथि थिचोमिचो भएको बताए ।

त्यसअघि निकालिएको र्यालीमा चर्का नाराबाजी गरिएको थियो । उनीहरुले विश्व हिन्दु परिषद् नेपाल जिन्दावाद,हिन्दुहरुमाथिको आक्रमण बन्द गर, हिन्दु हिन्दु भाइ भाइ,हिन्दु एकता जिन्दावाद,हिन्दु राष्ट्र जिन्दावाद,मन्दिर दहन बन्द गर,इमरान खान मूर्दावादलगायत नारा लगाएका थिए ।

टिप्पणीहरू