​वर्षौंसम्म त्यो चिज बेपत्ता

दोस्रोपटक उपप्रधानमन्त्री तथा संघीय मामिला र स्थानीय विकासमन्त्रीको पदभार सम्हालेका कमल थापा विद्यार्थी जीवनमा कत्तिको अनुशासित थिए भनेर जान्न÷बुझ्न धेरै टाढा जानु पर्दैन । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा कार्यरत ‘बुक चेकर’ सविता केसीलाई सोधे पुग्छ । थापाले सन् १९७६ डिसेम्बरमा फिर्ता गर्नेगरी केन्द्रीय पुस्तकालय कार्ड नम्बर २५२ (१) बाट ‘पोलिटिक्स एण्ड गभर्मेन्ट इन जापान’ लगेका थिए । अध्ययनका लागि ४१ वर्षअघि लगेको किताब आजसम्म फिर्ता गरेका छैनन् ।

‘पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन’ भन्ने हेनरी डेबिड थोरोको भनाइ ज्ञात भए पनि उपप्रधानमन्त्री थापाले वास्ता गरेको देखिँदैन । पुस्तकालयले संवत् २०५५ सम्म किताब लगी फिर्ता नगर्नेलाई दैनिक १० पैसा र ०५६ बाट दैनिक १ रुपैयाँ विलम्ब शुल्क तोकेको छ । शुल्क तोके पनि एकपटक गृह र दुईपटक उपप्रधानमन्त्री भइसकेका थापाले अनुशासन पालना गरेको पाइन्न । किताब फिर्ता नगरेपछि ४१ वर्षमा उनको नाममा ७ हजार ८१ रुपैयाँ बिलम्व शुल्क उठेको छ ।

०२४ सालमा स्थापित केन्द्रीय पुस्तकालयबाट धेरैले धेरै किताब लगे पनि समाचार प्रकाशन÷प्रसारण भएपछि कतिपयले किताब र कतिपयले विलम्ब शुल्क बुझाएका छन् । मुलुकमा पुस्तकालय कानुन छैन । उजुरबाजुर गर्ने ठाउँ हुने त कुरै आएन । केन्द्रीय पुस्तकालय प्रमुख सीता शर्माले भनिन्, ‘पहिले–पहिले लाइब्रेरी क्लियरेन्स नचाहिने हुँदा लगेकाले किताब फिर्ता गर्नैै पर्दैनथ्यो । त्यही भएर अध्ययनका लागि लगिएका किताब फिर्ता हुन सकेन । तर, किताब लैजानेलाई फेरि एकपटक अनुरोध गर्छौं ।’ किताब लैजानेलाई बाटोमा भेट्दासमेत फिर्ता गरिदिनुप¥यो भनेर अनुरोध गरेको बुक चेकर केसीले सुनाइन् ।

टिप्पणीहरू