काँग्रेस बैठकको निश्कर्ष ‘मच्चियो, मच्चियो थच्चियो’
महाधिवेशनको मिति नजिकिएको तर त्यसको सुरसार नभएको अवस्थामा बाेलाइएकाे नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सबैले चासोका साथ हेरेका थिए ।
बैठकअघि बुढानीलकण्ठ पुगेर काँग्रेसका केही नेता तथा कार्यकर्ताले तोकिएको मितिमा महाधिवेशन गर्न सभापति देउवालाई दबाब समेत दिएका थिए ।
तर आज बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले के निर्णय गरेको छ त ? काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले आज प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री बन्नु भएकोमा बधाई ज्ञापन गरेको छ ।
त्यसैगरी संविधानको मर्म र जनताको भावनाअनुरुप कार्य गर्न दलहरूबीचको सहमतिका साथ अघि बढ्न नयाँ सरकारलाई सफलता मिलोस् भनेर कार्यसमितिको बैठकले प्रधानमन्त्री देउवालाई हार्दिक शुभकामना समेत व्यक्त गरेको छ ।
अरु विषयमा छलफल गर्न भन्दै बैठक भोलि बिहान ११ बजे त्यहीँ बस्ने भनिएको छ ।
टिप्पणीहरू