​प्रधानमन्त्री स्वीकार, अध्यक्ष बहिष्कार

असार १४ गते दोस्रो चरणमा गर्ने भनिएका ४ वटा प्रदेशमध्ये प्रदेश नम्बर २ को चुनाव सरकारले किन र कुन प्रयोजनका कारण स्थगन गरेको हो, सर्वसाधारणलाई थाहा छैन । चुनावमा भाग लिन्नांै, हाम्रो चित्त बुझेको छैन भन्ने राजापका नेताहरू आफूहरूले प्रदेश नं. २ को मात्र स्थगनको माग राखेकै होइन भन्दैछन् । त्यसैले सरकारले स्थगन गरिदिँदा पनि आन्दोलनको मोर्चाबाट पछि हटेका छैनन् ।

त्यसो त राजपाकै नियतमाथि पनि पछिल्ला दिनमा गम्भीर आशंका पैदा भएका छन् । उनीहरू कसबाट निर्देशित भएर, कुन उद्देश्यले मुलुकलाई सधैँ अस्थिरतामा राख्न उद्यत छन् भन्नेबारे निकै गहिरो विश्लेषण गर्नुपर्ने देखिएको छ । अनौठो के भने यदि सरकार ढाल्ने वा नयाँ सरकार गठन गर्ने बेला आयो भने उनीहरू सडकबाट सिधै संसद्मा गएर कहिले सुशील, कहिले प्रचण्ड त कहिले देउवालाई प्रधानमन्त्री छान्छन् । तर, आम जनतालाई आफ्ना प्रतिनिधि छान्न दिने कुरामा भने भाँजो हाल्छन् । संविधान जारी भएदेखिकै प्रवृत्तिगत विश्लेषण गर्ने हो भने मधेसवादी दल कुनै रिमोट कन्ट्रोलद्वारा नियन्त्रित छन् कि भनेर शंका गर्नुपर्ने हुन्छ ।

उनीहरूले संविधानप्रति असन्तुष्टि जाहेर गर्दै गरेको आन्दोलन, त्यसपछिको संसद् प्रवेश, प्रचण्ड सरकारलाई गरेको सहयोग र अहिले जनइच्छाविपरीत हुने गरी भइरहेको चुनाव बहिष्कारले के सन्देश दिन्छ भन्ने कुरा खोलिराख्नु जरुरी छैन । बरु किन यिनीहरू यसरी आत्मघाती कदम चाल्न तयार भए र अब लामो समयसम्म जनतासँग सम्बन्ध टुट्छ भन्ने जान्दाजान्दै बहिष्कार भन्दैछन् ? सोचनीय छ । पृथकतावादी सिके राउतप्रति राज्य कठोर बन्दै गएपछि वैधानिक विधि र प्रक्रियामा रहेर त्यो मुद्दालाई आफ्नो पोल्टामा पार्ने दाउमा हुन् त उनीहरू ? यो आशंकालाई किन पनि नकार्न सकिँदैन भने उनीहरूले सार्वजनिक गरेका आन्दोलनका कार्यक्रममा जुलुस र धर्ना मात्र छैनन् । लाठी बोक्ने कुरासमेत उल्लेख गरेका छन् ।  यसको अर्थ उनीहरू निहत्था संघर्ष गरिरहेका छैनन् ।

राष्ट्रिय जनता पार्टीले के कुरा बुझ्न जरुरी छ भने देशका सबै जनताले आफ्ना समस्याको समाधान स्थानीय तहका जनप्रतिनिधिमार्फत हल गरिरहँदा उनीहरूलाई त्यो अवसरबाट वञ्चित गराउने को हो भन्ने सोच्नेछन् । यसरी जुन लक्ष्य र उद्देश्य बोकेर मधेसलाई पूरै आफ्नो कब्जामा राख्ने अनि उपेन्द्र यादवलाई समेत विस्थापित गर्ने सोचमा काम गरिरहेका छन्, त्यो सफल नहुने देखिन्छ । साथै, पश्चिमको पहुँचबाट मधेसलाई अलग गर्ने छिमेकी दाउपेचसमेत असफलताको मार्गमा छ किनकि त्यहाँ विस्तारै उपेन्द्र यादवको संघीय समाजवादी र ब्युरोक्रेसी, सुरक्षा फौज, सहकारी, शिक्षक जमात र एनजिओहरू कब्जा गरेको एमालेले आफ्नो उपस्थितिलाई बलियो बनाउने संकेत देखिएको छ ।

राजपाको दोस्रो दर्जाका नेताहरू एमाले प्रवेश गर्न आतुर देखिनुले त्यहाँ अब एमालेको पकड सुदृढ हुँदै जाने संकेत गर्छ । अहिले मधेसमा आममानिसले सोधिरहेको प्रश्न हो– तिमीहरूचाहिँ प्रधानमन्त्रीलाई भोट हाल्ने, हामीले मयेर र अध्यक्षलाई भोट हाल्न किन नपाउने ? जनता के पनि भन्दैछन् भने मन नलागे तिमीहरू बहिष्कार गर तर हामी भोट हाल्छौं । यस्तोमा आफैं आफ्नो खुट्टामा बञ्चरो हान्न राजपालाई कसले उकास्यो होला त ?

टिप्पणीहरू