​खाल्डै खाल्डोको शहर

पानीले भरिएको खाल्डोमा खसेकी बच्चीको निधन भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको आँखा खुलेको छ । बच्ची नखसुञ्जेल उहाँको खुलेको थिएन । मानिसहरू काठमाडौंमा पानीको हाहाकार छ भन्छन् । तर, कहाँ हाहाकार छ ? काठमाडौंमा त पानीको मारामार पो छ त । पानी यति धेरै छ कि बाटो–बाटोमै पानीमा डुबेर मानिस मरिरहेका छन् । यस्तो अवस्थामा कसरी पानीको हाहाकार छ भन्ने ? पानी त छ्यालब्याल पो छ !

अब जहाँसम्म सडकमा खाल्डो कसरी बन्यो भन्ने प्रश्न छ, यो कुनै प्रश्नै होइन । किनभने काठमाडौं भनेको आफैं एउटा ठूलो खाल्डो हो । त्यसैले यो ठाउँलाई ‘काठमाडौं खाल्डो’ पनि भन्ने गरिन्छ । थोडै यो डडेल्धुराजस्तो पहाड हो र ? जुन शहर आफैंमा एउटा खाल्डो हो त्यहाँ खाल्डो नभएर अरू के हुन्छ ? खाल्डो त काठमाडौं महानगरको पहिचान हो । 

फेरि खाल्डो हुनु कुनै नराम्रो पनि होइन । किनभने यो विकासको चिह्न हो । विकास गर्ने हो भने खाल्डो नखनी संभवै छैन । बाटो बनाउन खाल्डो खन्नैपर्छ । पानी ल्याउन खाल्डो खन्नैपर्छ । टेलिफोन ल्याउन खाल्डो खन्नैपर्छ । ढल बनाउन खाल्डो खन्नैपर्छ । अहिले त बिजुलीको तार ल्याउन पनि खाल्डै खन्नुपर्छ । खाडी मुलुकतिर भए मान्छे गाड्न खाल्डो खन्ने हो । नेपालमा चाहिँ विकास गर्न खाल्डो खन्ने गरिन्छ । अब जहाँ तहीँ खाल्डो खनिएको छ भने त्यसको अर्थ भयो काठमाडौंको जहाँ तहीँ विकास भइरहेको छ । के विकास गर्नु नराम्रो हो ? खाल्डोको विरोध त विकास विरोधीहरूले मात्र गर्छन् ।

टिप्पणीहरू