सम्झौतामा सिद्धिएको सिपाहीको सम्झना

सम्झौतामा सिद्धिएको सिपाहीको सम्झना

सम्झौतापरस्त राजनीतिक संघर्षले अनेक चरणमा हामीलाई पीडित बनाएको छ। संघर्षलाई सुरक्षाको आवरण दिएर तुहाइदिने राजनीतिक प्रपञ्चले पनि दुखाएको छ । जसले ‘हामी मर्छौं तर झुक्दैनौं’ भने तिनैले यथास्थितिको वा विद्यमान सत्तासामु आत्मसमर्पण गरेर र तिनकै अगाडि धनुष्टंकार भएर संघर्षमाथि पूर्णविराम लगाइदिँदा वास्तविक परिवर्तन गौण हुँदै आएको छ । सत्ता र संघर्षको बीचमा सत्ता प्रधान हुँदा पटकपटक संघर्षको मोर्चा पराजित छ र त्यो मोर्चा लड्ने सिपाही पनि हारेका छन् । हारेको कमाण्डरको जितेको सिपाहीमध्येको एक म पनि हुँ ।

भरुवा बन्दुकदेखि जी–३६ एल एम जी, गलिल, एके ४७ जस्ता राइफल काँधमा बोकेको सम्झँदा ऊर्जा पैदा हुन्छ । पाइलैपिच्छे दुश्मनहरूले पछ्याउँदा, खान नपाएर भोकले छटपटी हुँदा, प्यासले काकाकुलजस्तो बन्दा, महिनौँसम्म ननुहाउँदा, आफ्नो लागि कात्रो पनि आफैँले झोलामा बोकेर हिँड्नुपर्दा, एकछिन अगाडिसम्म सँगै लडेको साथीलाई खाल्टोमा उसले निधारमा बाँधेको कफन निकालेर कात्रो बनाई ओढाउनुपर्दा, दुश्मनले हानेको टु इञ्च मोर्टार, जिपिएमजी, एलएमजी, एटी वानका सेलहरू लागेर शरीर कोसौँ टाढा पुगेर दुई टुक्रा हुँदाको दृश्य, युद्ध सामग्री बोकेर शरीरमा भएका घाउ बल्झिँदा, सयौ आकस्मिक मृत्युलाई नजिकबाट नियाल्दा, बन्दुकको नालमा टिकेको राज्यसत्तालाई बन्दुकले नै परास्त गर्नुपर्छ भन्ने भनाइलाई आत्मसात् गरेर अगाडि बढ्दै जाँदा, लड्दालड्दै बुझाइएको हतियार र बिसर्जन गरिएको जनमुक्ति सेनाचाहिँ युद्ध सकिएर कोसौँ टाढा पुग्दा पनि त्यो यादले लखेटिरहने रहेछ ।

हिमाली भेगमा लडाइँ हुँदा ठोस्ने पानी, अमला, कुरिलो, चुत्रो, चौंरी आहाल बसेको ठाउँको पानी पिउँदा पहरामा पलाएको हरियो झ्याउको पानी निचोरेर मुख भिजाएको याद कति मीठा छन् । यो सोलु, सल्लेरी, ओखलढुंगाको रुम्जाटार, भोजपुरको चैनपुरलगायत उच्च पहाडी भूभाग अनि बेनी मोर्चा, ढोरपाटनलगायत ठाउँमा भएका लडाइँको अनुभव हो । तराईको लडाइँ पहाडी भूभागको भन्दा भिन्न भयो । समथर भूभागका दुश्मनसँग सर्लाही, सिन्धुली, रौतहट बारा, पर्सामा लडियो ।

जीवनसँग कहिले रुवाइको, कहिले हँसाइको । कहिले ठुस्किएर नबोली बस्दा, कहिले कैयाँै छाक खान नपाएर भोक भोकै जंगलमा सुत्दाको अनुभव, कहिले जंगलमा झोला छाडेर भागेको पीडा त कहिले क्षितिजमा देखिएको उषालाई नजिकबाट नियाल्न नपाएर निरासिएको पल । जितको नजिक पुग्नै लाग्दा खुशीले उन्मत्त भएको क्षण । साथीको लाशलाई चाङ लगाएर खाडलमा छाड्नुको पीडा । खै के जाति नीतिअनुसार ढाडमा टेकेर टाउकोमा हान्ने कुराले काउकुति लागेर उपत्यकावरिपरि विभिन्न पोष्ट कब्जा गर्दाको रमाइलो पल । सेल्टर घरमा एउटा झोलाको सिमानामा निर्धक्न निदाउन सक्ने फलामे अनुशासन र नैतिकता अनि लड्दा लड्दैको जनमुक्ति सेना शान्तिको नाममा बेचिएपछि निरास र विरक्तिएको जिन्दगी ।

जनमुक्ति सेना नुवाकोट र काठमाडौँको सिमानास्थित लाँकुरी भञ्ज्याङ, धादिङको कृष्णभीर, उपत्यकाभित्रै थानकोट, दधिकोट, साँखुसम्म आइपुग्दा ठूलो मात्रामा हतियार कब्जासहित राजधानी केन्द्रित हुँदै थिए । अन्तिम उद्देश्य राजदरबार कब्जा गरेर राजा र दरबारमा निहित अधिकार जनतालाई दिलाउनु थियो तर त्यो पूरा भएन । त्यो सपना देखाउनेहरूलाई अहिले असरल्ल प्रश्न छन् मेरो तर सोध्ने पो कहाँ ? तेस्रो डिभिजनअन्तर्गत बेथान स्मृति ब्रिगेडले जहाँबाट शाही सेना निस्किए पनि उनीहरूलाई तहसनहस बनाउँदै ब्यारेकमा लघारेकै हुन्थ्यो ।

उक्त ब्रिगेडको कार्यक्षेत्र उपत्यकावरिपरि नै थियो अनि म त्यो फर्मेशनको सिपाही । मोर्चाबद्ध लडाइँमा जनमुक्ति सेनाले पूर्णतः शाही सेनाको ब्यारेक कब्जा गर्न सकेको थिएन भने शाही सेना गाउँगाउँमा पसेर जनमुक्ति सेनालाई निस्तेज पार्न सक्ने अवस्थामा थिएनन् । गाउँ पूरै माओवादी र जनमुक्ति सेनाको कब्जामा । शाही सेनासँगको लुकामारीका कथा पनि लेख्छु नै ! यसपटक एउटा विद्रोही सिपाही सैनिक मञ्चमा उभिएको रोमाञ्चकतालाई समेट्ने कोसिस गरेको हुँ ।

जनयुद्धको अन्तिम मोर्चा चौतारापछि देशव्यापी रूपमा शान्ति वार्ताको माहोल सिर्जना भयो । लड्दै गरेको जनमुक्ति सेनालाई शान्तिको नाममा ब्यारेकभित्र थुपारियो र औचित्यहीन बनाएर क्यान्टोनमेन्टबाट निकालियो । चौतारा पुगेको फौजी मोर्चा जंगीअड्डासम्म पुग्न पाएन । जनयुद्धको जगमा १९ दिने जनआन्दोलन उर्लियो ।

विस्तृत शान्ति सम्झौतापछि ०६३ साल जेठ १९ गते माओवादी पार्टी भूमिगत अवस्थाबाट सार्वजनिक हुने भनेर पहिलो औपचारिक जनसभा टुँडिखेलको खुला मञ्चमा गर्ने घोषणा ग¥यो । त्यो पहिलो केन्द्रिकृत जनसभामा सुरक्षाको बन्दोवस्त जनमुक्ति सेनाले लिएको थियो । त्यसको लागि तेस्रो डिभिजनले विशेष खालको सुरक्षा योजना बनायो । जनसभा कस्तो र कत्रोसम्म हुनसक्छ ! अहिले अनुमान गर्दा पनि अत्यास लाग्छ मानवसागर देखेर । त्यो सभालाई संबोधन गर्दै गर्दा प्रचण्डले बोलेका कुरामा त्यो मानवसागरले देखेको सपना अझै पूरा भएको छैन १५ वर्षसम्म पनि ।

बेथान स्मृति ब्रिगेडको सुरक्षा गर्नुपर्ने आर्क थियो मञ्चको पूर्वीभाग भृकुटीमण्डप, भद्रकाली, पुरानो बसपार्क, टुँडिखेलको पूर्वीगेट, बागबजारतर्फ जाने दोबाटो । मसँग क्यामेरा थिएन, १३आैँ बटालियन ए कम्पनीको सहकमाण्डर थिएँ । यही दोबाटोले छुटाएको थियो सैनिक मञ्च र टुँडिखेल मैदानलाई । मलार्ई यही दोबाटोमा ड्युटी बस्न आदेश भयो कमाण्डर सविनबाट । मसहित एक सेक्सन खटियौं । सुरक्षा व्यवस्था निकै कडा थियो, मानवसागरलाई हाम्रो सुरक्षाले के नै अर्थ राख्थ्यो र ? कार्यक्रमस्थल पहिले नै भरिभराउ थियो तर राज्यको सुरक्षा फौज पनि जनसभालाई सुरक्षा दिन तल्लीन थिए ।

त्यो जनसभामा सहभागी हुन आउने पूर्वमा सिंहदरबार गेट, पश्चिमका सोह्रखुट्टे, कलंकी, उत्तरमा नारायणगोपाल चोक, दक्षिणमा त्रिपुरेश्वरसम्मको सडक भरिभराउ थियो । यस्तो अवस्थामा कसले, कसलाई सुरक्षा दिने कि आफू सुरक्षित हुने भन्ने हुँदोरहेछ । प्रचण्डलाई नजिकबाट हेर्न मानिस हुलका हुल मञ्चतर्फ बढिरहेका थिए । यत्तिकैमा जनसागरले सैनिक मञ्चको गेट फो¥यो । मिनेट भरमा सैनिक मञ्च कब्जा भयो । अहिले अनुमान गर्दा जादुगरको चटकजस्तै लाग्छ । विशेष कार्यक्रम र राजपरिवारको सवारीका बेलामात्रै खुल्ने सैनिक मञ्च यो पटक जनताले सहजै कब्जा गरिदिए । म भीडमा च्यापिएर निसास्सिरहेको थिएँ ।

मसँगै ड्युटी बसेका साथी उकुसमुकुस भएर रूख चढे, उनीहरूसँगै म पनि चढें । त्यही रूखको सहायतामा मैले सुरक्षाको लागि राखिएको फलामको पर्खाल नाघेर तारवार नाघेर सैनिक मञ्चमा पुगें । सैनिक मञ्चमा सेनाका जवानहरू ड्युटी बसिरहेका थिए । उनीहरूको अनुहारमा भयको भाव झल्किन्थ्यो । उनीहरूले थेग्न नसक्ने उभार थियो जनताको । जनताले सैनिक मञ्च कब्जा गरेर तोडफोेड गर्लान् भनी कमाण्डर कमिसारहरूले सम्झाउँदै गर्दा पनि केही कुर्सी सामान्य तोडफोड भयो । एउटा छापामारलाई सशस्त्र हतियारसहित सैन्य मञ्च कब्जा गर्न मन लाग्नु अनौठो कुरा होइन तर यो पटक म संग हतियार थिएन तर मनमा अर्काे खालको उत्सुकता थियो ।

एउटा विद्रोही छापामार सैनिक मञ्च पुगेर आँखाअगाडि सैनिक मञ्च कब्जा गर्नु भनेको राजनीतिक हिसाबले सेनाको हेडक्वार्टर कब्जा गरेसरह हो । केही अगाडिसम्म कल्पना थियो सेना परेड खेल्ने मञ्चमा हामी जनमुक्ति सेनाले परेड खेल्छौँ भनेर तर यति चाँडै सम्भावना होला भनेर कम सोच थियो । सम्भावना त भयो तर हतियारसहित होइन । जनताको शक्ति इतिहासमा झुकेको कहीँ पनि छैन त्यसैले भनिन्छ, इतिहास शासकले पनि लेख्छन् जनताले पनि लेख्छन्, जनताको इतिहासले रातो मसीले लेखिन्छ भने शासकको इतिहास पहेँलो मसीले ।

सेनाको हेडक्वार्टर अगाडि सैन्य मञ्च कब्जा हुनु भनेको विद्रोह र जनआन्दोलनको निकै ठूलो उपलब्धि हो । तर, उपलब्धिलाई संस्थागत गर्न नसक्दा भएको उपलब्धि पनि गुमेका छन् । भद्रकाली पुग्ने पाइला सैनिक मञ्चमा रोकिएको पनि १५ वर्ष पुगेछ । माओवादी आन्दोलनको विघटन र पतनपछि धेरैले गरेको आशंका के हो भने बलियो र आयमूलक सरकारी जागिर पाएको भए हामीकहाँ यी र ती अनुहारहरू नेतृत्व भनेर उदाउने कल्पना नगरे हुने रहेछ ।

हिजोको रक्तपातपूर्ण युद्धमा विजय नै भएको भए पनि त्यसको रक्षा गर्ने क्षमता नेतृत्वबीच रहेनछ जुन व्यवहारतः पुष्टि भएको छ । यो बेला माओवादी आन्दोलनको खरानी जति फुके पनि मसान ब्युँझन्छ भनेर लख काट्नु जायज हुन्न। एउटा उपलब्धिचाहिँ पक्का प्राप्त हुनेछ, क्रान्तिकारी मोर्चा, सर्वहारा, वर्गसंघर्ष, जनजीविका आदि/इत्यादि शब्द थोपरेर खाटो बस्न लागेको जनयुद्धको पाप्रो उप्काई पीडितलाई आहत बनाउन र तिनका शोक र पीडाको व्यापार गर्न नयाँ राजनीतिक घोषणापत्रचाहिँ बन्नेछ ।

टिप्पणीहरू