​के हो यस्तो अन्योलको कारक ?

नेपालका प्रधानमन्त्रीको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको आगमनले हाम्रो घरेलु राजनीतिमा ठूलो प्रभाव नपारोस् भन्ने आम अपेक्षा र चाहनाविपरीत कतै संग्लिँदै गएको रंगमञ्चमा धमिलोपन पो देखापर्ने हो कि भन्ने चिन्ता बढेको छ । एकताको अति निकट पुगेका एमाले र माओवादीबीचको सम्बन्ध पुनः चिसिएको चर्चा चल्न थालेको छ । अर्काेतिर प्रदेश २ का मुख्यमन्त्रीले जनकपुरमा दिएको अभिव्यक्ति र त्यही समय भारतीय सत्तारुढ दलका सांसदले गरेको ट्वीटले कतै हाम्रै भूमिमा विभीषणहरुलाई राजकुमारको दर्जा दिएर स–सम्मान पालिराखेका त छैनौं भन्ने प्रश्न पनि उठेको छ । आफूलाई पूर्णरुपमा भारतपरस्त भन्न नचाहने, बरु युरोपियनहरुको मुद्दा बोक्न मन पराउने उपेन्द्र यादवको पार्टीका मुख्यमन्त्री लालबाबुको अभिव्यक्तिलाई धेरै कोणबाट विश्लेषण गर्नु जरुरी देखिन्छ । 

नेकपा एमाले र माओवादीबीच अब छलफल गर्नैपर्ने र गाँठो पारेर प्रक्रियालाई नै सकस पार्नेखालका धेरै मुद्दा छैनन् । दुवैले एकताको अपरिहार्यतालाई सैद्धान्तिक रुपमा स्वीकार गरेको अवस्था हो । बाँकी रहेका व्यावहारिक विषय र समायोजनलाई अल्झाउने अंकगणितको समस्यासमेत हल भइसकेको अवस्थामा किन एकता घोषणा नै अन्योलमा परेको छ भन्नेबारे कोही सप्रमाण र तर्कसंगत ढंगले बोल्नसक्ने स्थिति छैन । यसरी प्रमाणविहीन तरिकाले जब समस्या बढ्दै जान्छन्, त्यसबेला सबैले बुझ्नुपर्ने कुरा हो कि कतै न कतै अदृश्य शक्तिले काम गरिरहेको छ । एकातिर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने कुरालाई नकार्न नसकिएको अवस्था छ भने त्यही दलबाट नियुक्त मुख्यमन्त्री भने नेपालको सार्वभौमिकतामाथि नै प्रश्न उठाउने र अखण्डताको धज्जी उडाउने काम गरिरहेका छन् ।
केपी ओली नेतृत्वको सरकार नेपालको बहुदलीय इतिहासमा नै सर्वशक्तिमान हो ।

अब कुनै बेला दरबारले कतै धावा बोल्छ कि भन्ने डर छैन । छिमेकीसँग टक्कर लिन र आवश्यकताअनुसार गला मिलाउनसक्ने दुवै क्षमता हालका प्रधानमन्त्री ओलीले आफूमा रहेको प्रमाणित गरिसकेका छन् । प्राप्त उपलब्धि र अवसरलाई समेत सही ढंगले उपभोग गर्न नजान्ने माओवादीले बिस्तारै आफ्नो आकार र क्षमता कति हो भन्ने कुरा बुझ्न थालेको छ । हिन्दुवादलाई अगाडि सारेर राजतन्त्र पुनःस्थापनाको सम्भावना देख्नेहरु अब त्यस्तो कल्पना सपनामा समेत गर्न नसक्ने गरी साँघुरिएका छन् । प्रमुख प्रतिपक्षी कांग्रेस आफ्नै दलभित्रको प्रतिपक्षलाई तह लगाउन नसक्ने गरी आन्तरिक कलहमा फसेको छ । त्यसैले अब वातावरण बिथोलेर विदेशीलाई क्रिडास्थल बन्न नदिनेतर्फ सत्तारुढ दल र त्यसको शीर्ष नेतृत्व सजग बन्नु आवश्यक देखिन्छ ।

टिप्पणीहरू