जनकपुरमा परम्परागत रिक्सा मासियो,इ–रिक्साको दबदबा

जनकपुरमा परम्परागत रिक्सा मासियो,इ–रिक्साको दबदबा

प्रदेश २ को राजधानी जनकपुरधाममा जताततै इ–रिक्सा देखिन थालेको छ । इ–रिक्साको उच्चचापका कारण पार्किङ समस्या बढ्दो छ । जनकपुरधाम उपमहानगरपालिकाले इ–रिक्साको व्यवस्थापनमा ध्यान नदिँदा नगरक्षेत्र पूरै अस्तव्यस्त बनेको हो ।

नगरमा दर्ता नगरिएका रिक्सासमेत सञ्चालन भइरहेको स्थानीयहरु बताउँछन् । नगरमा अत्यधिक इ–रिक्सा गुड्ने गरेका कारण कतिपय स्थानमा घण्टौंसम्म जाम हुन थालेको छ । रामानन्द चोक र बसपार्क क्षेत्रमा सर्वसाधारणलाई निकै सास्ती छ ।

नगर क्षेत्रमा गुड्ने इ–रिक्साको भाडादरसमेत तोकिएको छैन । त्यही कारण सर्वसाधारणसँग मनपरी भाडा असुल्ने गरिएको स्थानीयको गुनासो छ । जनकपुरधाम उपमहानगरपालिकामा दर्ता भए पनि रिक्साका लागि रुट परमिट भने यातायात व्यवस्था कार्यालयले दिने गरेको छ । तर,रुट परमिटको आधारमा कुनै पनि इ–रिक्सा सञ्चालनमा नआएको बताइन्छ ।

जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रीताकुमारी मिश्रले छठ पर्वपछि पार्किङ र भाडालगायतको व्यवस्थापननिम्ति सर्वपक्षीय छलफल गरेर अघि बढ्ने जानकारी दिनुभएको छ ।

मिश्रले भन्नुभयो, ‘ट्राफिक व्यवस्थापन गरिरहेका छौँ । तर पार्किङ व्यवस्थापनलगायत कार्यमा चाडपर्वका कारण अप्ठेरो परेको हो । अब चाँडै नै पार्किङ र भाडालगायत समस्या समाधानको निम्ति सर्वपक्षीय छलफल गरेर अघि बढ्नेछौँ ।’

टिप्पणीहरू