आफ्नै बहिनी देश छाडेर अकस्मात…
- राजेन्द्र स्थापित
क्युबाको राजधानी हभानाबाट मेक्सिकोको राजधानी मेक्सिको सिटीतर्फ साताको दुईपटक विमान उड्छ । सन् १९६४ को जुन महिना । मेक्सिकोतर्फ उड्न तयार क्युबाली विमान उडान नं. ४६४ को सिट पूर्णतः भरिइसकेको थियो । यात्रुहरुमा प्रायः चिनियाँ व्यापारी, विदेशमा पढ्न गई बिदा मनाउन स्वदेश पुगेका क्युबाली विद्यार्थी र कम्युनिष्ट सरकारले विदेश जान अनुमति दिएका क्युबालीहरु थिए । कूटनीतिक राहदानी बोकेकी एकजना मोटी आइमाई पनि सिटमा थिइन् । विमान निर्धारित समयमै उड्यो र मेक्सिको सिटीको विमानस्थलमा अवतरण ग¥यो । यात्रुहरु राहदानी देखाउँदै बाहिरिन थाले । ती मोटी महिलासँग अध्यागमन कर्मचारीले प्रश्न सोधे । तिनले आफू बहिनी इम्मासँग भेट्न आएको बताइन् । कर्मचारीले ती महिला को हुन् ? चिनिसकेका थिए तैपनि सजिलै विमानस्थलबाहिर जान दिए । सँगै यात्रा गरेकी अर्की क्युबाली यात्रुका अनुसार ती महिलाको आँखा रसाएको थियो । रुन मात्र सकेकी थिइनन् ।
उनले मेक्सिको पुगेको १० आंै दिन पत्रकार सम्मेलन आयोजना गरेर भनिन्, ‘मेरो नाउँ जुनिता उर्फ जुआना डे ला क्यारिडाड क्यास्त्रो रुज हो, म क्युबाली क्रान्ति नायक त्रय रामोन क्यास्त्रो, फिडेल क्यास्त्रो र राउल क्यास्त्रोकी बहिनी हुँ । मैले सधैंको निम्ति क्युबा छोडेको जानकारी गराउँछु । क्युबामा जे–जस्तो भइराखेको छ, त्यसप्रति फरक विचार राख्छु । सत्तासँग फरक विचार राखेर त्यहाँ बस्नसक्ने अवस्था रहेन ।’
उनले अगाडि भनिन्, ‘मेरा दाजुहरु फिडेल र राउलले क्युबालाई जेल बनाइसके । त्यहाँका सर्वसाधारण अन्तर्राष्ट्रिय साम्यवादको नाउँमा लादिएको राज्यसत्ताको सामु पीडा सहन विवश छन् ।’
क्युबाली क्रान्तिका महानायक फिडेल क्यास्त्रोकी बहिनी ३१ वर्षीया जुनिताको बयान सुनेर पत्रकारहरु एक–अर्कालाई हेर्न थाले । भोलिपल्ट सबै पत्रपत्रिकाले मुखपृष्ठमा ठुल्ठूलो अक्षरले छापे । अमेरिका र ल्याटिन अमेरिकी मुलुकभर जुनिता क्युबाबाट पलायन भएको खबरले सनसनी मच्चायो । पछि जुनिताले नै आफू अमेरिकी गुप्तचर संस्था सिआइएको एजेन्ट भएको सकारिन् । क्युबासम्बन्धी गोप्य सूचना अमेरिकी सरकारलाई उपलब्ध गराएको स्पष्ट पारिन् । स्मरणीय छ, फिडेलकी अर्की बहिनी इम्माको बिहे एकजना मेक्सिकनसँग भएर उनी उतै बस्न थालेकी थिइन् । इम्मा जुनिताभन्दा दुई वर्ष कान्छी हुन् भने जुनिताचाहिँ फिडेलभन्दा ७ वर्षले कान्छी ।
उनीहरुका बाबु एन्जेल मारिया बाटिस्टा क्यास्त्रो इ आर्गिजको जन्म स्पेनमा भएको हो । १७ वर्षको उमेरमा उनी सेनामा भर्ना भए । यसबीच सन् १८९८ मा अमेरिकी पानीजहाज क्युबाले समुद्रमा डुबाइदियो । क्रुद्ध अमेरिकाले क्युबामा शासन गरिरहेको स्पेनिश सरकारविरुद्ध युद्धको घोषणा ग¥यो । स्पेनले क्युबाको सहायतार्थ थप सेना हभानातर्फ पठायो । डफ्फामा एन्जेल पनि थिए । उक्त युद्धमा स्पेन पराजित भयो । क्युबाको शासन अमेरिकाको हातमा गयो । स्पेनिश सेना स्पेन फक्र्यो, एन्जेलसहित । एन्जेलले जागिरले परिवार धान्न नसक्ने देखेपछि सैन्य सेवाबाट राजीनामा दिए र सन् १९०६ मा पुनः क्युबा पुगे । त्यहाँ सर्वप्रथम धातु खानीमा मजदुरी गरे । त्यसपछि क्रमशः चिनी कारखाना र फलफूल कम्पनीमा । कठिन परिश्रम गरे । स्पेनबाट मजदुर झिकाएर रुख काट्ने ठेकेदार बने । स्पेनिस साथी फिडेल पेनोसँग मिलेर रेष्टुराँ खोले । एवंरीतले एकपछि अर्को काम गर्दै पैसा कमाए र त्यही पैसाले दुई सय एकड जमिन किने । भेडा र कुखुरा पालन व्यवसाय शुरु गरे । उखु र मकैको खेती गरे । १० हजार हेक्टर जमिनको मालिक बने । जुन जग्गामा २७ वटा घर ठड्याए । सन् १९११ मा मारिया आर्गोटासँग बिहे गरे । मारियाले पनि थुप्रै सम्पत्ति ल्याइन् । सन् १९१४ सम्म आइपुग्दा नपुग्दा एन्जेल ठूलै व्यापारी बनिसकेका थिए ।
मारिया पाँच सन्तानको आमा बनिन् । त्यसपछि एन्जेल लिना रुजको पछि लागे । लिना एन्जेलिटा, रामोन, फिडेल, राउल र जुनिता जन्मिएपछि एन्जेलले पहिलो पत्नी मारियासित सम्बन्धबिच्छेद गरे । लिनाले इम्मा र अगुस्टिनालाई जन्माइन् । लिना पहिला एन्जेलको घरमा खाना पकाउँथिन् । १५ वर्ष सो घरमा सेविका बनेपछि मालिक्नीमा फेरिइन् । पछि एन्जेल र लिनाका छोराछोरीमध्ये रामोन, फिडेल, राउल र जुनिता अमेरिकाद्वारा पोषित राष्ट्रपति बाटिस्टाको सरकारलाई उखेलेर फाल्ने अभियानमा लागे । जुनिता र रामोन फिडेलले चलाएको सरकारविरोधी अभियान ‘२६ जुलाई’ का लागि हतियार किन्ने काममा लागे । फिडेल, राउल, चे ग्वेभाराहरु जब १९५६ को डिसेम्बर २ मा गोप्य तवरबाट मेक्सिकोबाट हभाना छिरे र सियरा मास्त्रा पहाडी इलाकामा भूमिगत भई क्रान्तिकारी गतिविधिमा सामेल भए, तिनको सहयोगार्थ चन्दा संकलन गर्न जुनिता सन् १९५८ मा अमेरिकासम्म पुगिन् । फिडेलका दाजु रामोन पनि साहसी र बहादुर थिए । हेर्दा फिडेलजस्तै देखिन्थे । फिडेलकै जस्तो दाह्री, हँसिलो मुहार । उनले पनि सियरा मास्त्रामा लुकेर बसेका क्रान्तिकारीहरुसम्म हतियार र खाद्यान्न पु¥याउने काम गरे ।
सन् १९५९ मा फिडेलको नेतृत्वमा क्रान्ति भयो । बाटिस्टा अमेरिका पलायन भए । फिडेलको नेतृत्वमा गठित क्रान्तिकारी सरकारले सर्वत्र सुधारका योजना अघि सा¥यो । जमिनमा हदबन्दी लागू गरी बढी जमिन खोसेर गरिब किसानलाई वितरण गर्न थाल्यो । सरकारको भूमिसुधार अभियानबाट रामोन र जुनिता खिन्न बने । किनभने बाबु एन्जेलले कमाएको सम्पत्तिको रेखदेख उनीहरुले नै गर्दै आइरहेका थिए । उनीहरुको विशाल कृषि फार्मभित्र रहेको उखु, सुन्तला खेती, पशुपालन र काठ चिर्ने काममा चार सय मजदुर कार्यरत थिए । २७ वटा त भवनै थिए । सरकारले जग्गा खोस्नुअगावै जुनिताले आफूहरुले पालेका हजारौं पशु बेचिन् । जुनिताको यो कार्यबाट रुष्ट फिडेलले जुनिता क्रान्तिविरोधी काममा सरिक भएको र क्रान्तिको विरोध खतरनाक किरा भएको घोषणा गरे । रामोन पनि सरकारविरुद्ध उत्रिएपछि सरकारले विज्ञप्ति नै निकालेर उनी क्रान्तिमा कहिल्यै सरिक नभएको, काँतर र पैसाको लोभी भएको स्पष्ट पा¥यो । रामोनले भाइ राउललाई ‘फोहोरी कम्युनिष्ट’ को संज्ञा दिँदै ‘भेटेमा मारिदिन्छु’ सम्म भने । फिडेलले आफू माक्र्सवाद–लेनिनवादको सच्चा अनुयायी हुँ भनेपछि जुनिता झन् चिढिइन् ।
उनी अब खुलेर सरकारविरुद्ध लागिन् । भूमिसुधार कार्यक्रमले आफ्नो परिवारभित्र कलह निम्त्याएको भन्दै सरकारविरोधीसँग संगत थालिन् । आफ्नो घरलाई सरकारविरोधीहरुको जमघट थलो बनाइन् । क्रान्तिविरोधी तत्वलाई प्रहरीबाट बचाउन, आर्थिक सहयोग गर्न, क्युबा छाडेर जान चाहनेलाई सहयोग गर्न थालिन् । उनले करिब दुई सय जनालाई भगाइन् । फिडेलले आफ्ना गुप्तचरहरुमार्फत सम्पूर्ण गतिविधि नियालिरहेका थिए तर बहिनीलाई पक्रेर नयाँ काण्ड सिर्जना गर्न चाहँदैनथे । जुनिता क्रान्तिविरुद्ध लागेको थाहा पाएपछि अमेरिकी गुप्तचर संस्था सल्बलायो । हभानामा कार्यरत ब्राजिलियन राजदूतकी श्रीमती भर्जिनिया लेइटाओ डे कुन्हामार्फत जुनितासँग सम्बन्ध स्थापित ग¥यो । पहिलो भेट कुन्हाकै निवासमा भयो । त्यसबेला अमेरिका र क्युबाबीच पिग्स खाडीलाई लिएर तनाव चलिरहेको थियो । अमेरिकाले क्युबामाथि आक्रमण गरेमा सोभियत संघ सिधै युद्धमा सामेल हुने समाचार आइसकेको थियो ।
दोस्रो, तेस्रो भेटमा कुन्हाले सिआइएको एजेन्ट बन्न र क्युबा सरकारको गोप्य सूचना उपलब्ध गराइदिन अनुरोध गरिन् । बदलामा जुनिताको जीवनरक्षाको निम्ति आवश्यक सम्पूर्ण सहयोग गर्न अमेरिका तयार भएको बताइन् । जुनिता त्यसै पनि फिडेल र राउलसँग रिसाएकै थिइन् । उनलाई दाजु फिडेलले क्युबालाई समाजवादतर्फ अग्रसर गराएको र सोभियत संघमाथि निर्भर बनाएको मन परेको थिएन । त्यसैले फिडेल र राउलविरुद्ध हुने कुनै पनि हिंसात्मक गतिविधिमा सामेल नहुने शर्तसहित सिआइएको एजेन्ट बन्न तयार भइन् । उनले सिआइएको कोड नाउँ ‘डोन्ना’ बाट काम थालिन् । हात लागेको सबै सूचना दिँदै गइन् । जुनिताले आफ्नो पुस्तक ‘फिडेल एण्ड राउल, माइ ब्रदर्स : सिक्रेट हिस्ट्री’ मा सिआइएसितको सम्बन्धबारे खुलासा गरेकी छन् । आफ्नै दाजुको सरकारविरुद्ध लागेर अमेरिकालाई सघाएको स्वीकारेकी छन् । आफ्नो घरलाई सरकारविरोधीहरुको अखाडा बनाएको र भाग्न चाहने सरकारविरोधी क्युबालीहरुलाई मद्दत गरेको उल्लेख गरेकी छन् । जुुनिता सिआइएको एजेन्ट भएको सिआइए एजेन्ट फिलिप एगी र त्यसबखत हभानामा खटिएका अर्का जासुस टेड शाक्लेले पनि पुष्टि गरेका छन् । उता जुनितासँग सिआइए एजेन्ट टोली स्फोर्जाले सन् १९६१ को जुन २४ मा कामिनो रियल होटलमा भेटेको खुलासा गरेका छन् ।
यसबीच सन् १९६३ मा फिडेल र जुनिताकी आमा लिनाको निधन भयो । र, जुनिताले क्युबामा बसिरहनु खतरा मानिन् । दाजु राउल जुनितालाई अत्यन्त माया गर्थे । उनैले एकदिन दाजु फिडेल अत्यन्त क्रुद्ध बनिरहेको भन्दै देश छाडेर भाग्न सल्लाहसमेत दिए । सम्भवतः जुनिता सधैंको निम्ति देश छाडेर जान लागेको राउललाई थाहा थियो, नभए उनले आफूसँग २१ वटा ब्याग विमानस्थलबाट पास गराउन सम्भव थिएन । यद्यपि, फिडेल जुनिताको पलायनबारे पूर्णतः अनभिज्ञ थिए । जुनिता मेक्सिको पुगेर त्यहाँस्थित अमेरिकी दूतावाससँग मिली पत्रकार सम्मेलन गरेपछि मात्र फिडेलले उनीबारे थाहा पाएका हुन् । जुनिताले पछि अमेरिकाको मायामी पुगेर फार्मेसीको व्यापार शुरु गरिन् । र, सन् १९८४ मा त्यहाँको नागरिकता पाइन् । फिडेल नेतृत्वको सरकारको विरोध गरेका रामोनले भने पछि विभिन्न सरकारी ओहोदामा बसेर सरकारलाई सघाए । अमेरिकी नाकाबन्दीको कारण इन्धन अभाव हुँदा रक्सीबाट इन्धन निकालेर अभावलाई पूर्तिसमेत गरे । उनको निधन सन् २०१६ को फेबु्रअरी २३ मा भइसकेको छ । करि ५० वर्ष सरकार चलाएका फिडेलको निधन पनि रामोनको मृत्यु भएको ९ महिनापछि नोभेम्बर २५ मा भइसकेको छ । फिडेलपछि राउलले ११ वर्ष सत्ता चलाएर अहिले सत्तारुढ कम्युनिष्ट पार्टीको अध्यक्ष पद सम्हाली बसेका छन् । ८३ वर्षीया जुनिता अमेरिकामै छिन् । फिडेलकी दिदी एन्जेलिटा र कान्छी बहिनी अगुस्टिनाको भने निधन भइसकेको छ ।
टिप्पणीहरू