फेसबुकको फन्दामा, ज्यान जाने धन्दामा

शहरी जीवनको तडकभडकले बिगारेका किशोरीलाई १५–१६ कै उमेरदेखि कौतुहल जाग्ने † अनि, कोही झुण्डिएर मर्नुपर्ने, कोही प्रहरीको खोरमा थुनिनुपर्ने !

बालाजु प्रहरी बृत्तमा शुक्रबारदेखि थुनिएकी नम्रता तामाङ (नाम परिवर्तन) को एउटा दोष हो, फेसबुकमा भेटिएका भीमबहादुर मगरसँग रात बिताउनु । अर्को गल्ती हो, आफूलाई भीमकी प्रेमिका भन्दै भोलिपल्ट झगडा गर्न आएकी जेनी तामाङलाई सल दिनु । जेनी उनैले दिएको सलमा पासो लागिन् । 

यो त्रिकोणात्मक प्रेम कथाका ‘हिरो’ हुन्, त्रियुगा नगरपालिका– १४, उदयपुर घर भई तारकेश्वर नगरपालिका, शान्तिटोलमा डेरा गरी बस्ने १९ वर्षका भीमबहादुर मगर । पेशा हो, करको दलाली । कर कार्यालय जानेलाई कागजी काम सहज बनाएबापत पारिश्रमिक लिने र गुजारा चलाउने । तर, पैसा धेरै कमाएपछि फेसबुकमा राम्री युवतीलाई पासो हाल्दै प्रेमिका बनाउन थाले । यसक्रममा असोजमा फेला परेकी सन्तोषी तामाङ (जेनी) सँग असार लाग्दासम्म  नियमित सम्पर्क थियो । जेनी निरक्षर युवती हुन्, १६ वर्षकी । सिन्धुली मूलघरबाट बाराको निजगढ हुँदै अहिले त्रिपुरेश्वर, सुकुम्बासी बस्तीमा आमा र दिदीसँग बस्थिन् । काम हो, अर्काको घरमा भाँडा माझ्ने, लुगा धोइदिने ।

फेसबुक चलाउँदा चलाउँदै भीमबहादुरको फेला परिन् । म्यासेन्जरमा अघिल्लो दिन ‘हाई’ भनेका भीमबहादुरले भोलिपल्टै बालाजु पु¥याए । र, त्यही दिनबाट शुरु भयो, सम्बन्ध । आठ महिनासम्म जेनीसँग मात्र सम्पर्कमा रहेका भीमबहादुरले असार लागेपछि नम्रतालाई भेटे, फेसबुकमै । उनी काठमाडौं, आलापोटकै बासिन्दा, चामुण्डा उच्च माविमा ११ कक्षा पढ्ने । शुक्रबार नम्रताको जन्मदिन । भर्खरै–भर्खरै माया बसेको प्रेमी हुँदाहुँदै अरुसँग बर्थडे सेलिब्रेट गर्न चाहिनन् । त्यसैले विहीबार नै भीमको कोठा पुगेर रात सँगै बसिन् । भोलिपल्ट विहान कोठामै मोबाइलमा फिल्म हेर्दै थिए, ती दुई । जेनी पुगिन् । आफ्नो प्रेमीलाई अरुसँग देखेपछि रिस उठ्ने नै भयो । झगडा गरिन् । जेनीसँग मुखमुखै लाग्नुभन्दा आफैँ पन्छिनु ठीक लागेर भीम कोठाबाट निस्किई बरण्डामा पुगे । त्यसपछि भनाभन शुरु भयो, किशोरीहरूको ।

जेनीले भनिन्, ‘मलाई बिहे गर्छु भनेर असोजदेखि झुलाइरहेको छ । अहिले तिमीलाई पनि त्यही भनेको होला ।’ नम्रताले, ‘ह्या, बिहा–सिहा केही हैन, जस्ट रिल्याक्स…!’ भन्दै हेपेको शैलीमा कराइन् । झण्डै १५ मीनेट भनाभन चल्यो । जेनीले टाउको दुःख्यो भन्दै नम्रतासँग सल मागिन् । सलले टाउकोमा बेरिन् । पिसाब लाग्यो भनेर बाहिर निस्किइन् । आमालाई फोन गरेर ‘अब म आउँदिन, मेरोलागि दुःख नगर्नुस्’ भनिन् । अनि, बाहिरपट्टीकै शौचालयमा छिरिन् । उनी पिसाब फेर्न लाग्ने समयभन्दा केही धेरैबेर भित्रै रहिन् । त्यतिबेला भीम नजिकै थिए । शौचालयबाट केही अस्वाभाविक आवाजजस्तो आएपछि ढोका फोड्ने प्रयास गरे । तर, ढोका फोडिएन, खुलेन । भेन्टिलेटरबाट हेर्दा जेनी सलको पासो लगाएर झुण्डिरहेकी थिइन् । त्यहींबाट भित्र छिरे । शुरुमा पासो लागेको सल निकाले । जेनी बेहोस थिइन् । ढोका खोलेर ट्याक्सीमा हाले । बालाजुको अस्पताल पु¥याए । अस्पतालले मृत्यु भइसकेको भन्यो ।

 

टिप्पणीहरू