​सम्राटले जब रुपमतीलाई पाउन सकेनन्

  • राजेन्द्र स्थापित

आ लौट के आजा मेरे मीत
तुझे मेरे गीत बुलाते है,
मेरा सुना पडा रे संगीत
तुझे मेरे गीत बुलाते है ।

बरसे गगन बरसे नयन देखो,
तरसे है मन अब तो आजा,
शीतल पवन ये लगाए अगन हो,
सजन अब तो मुखडा दिखा जा
तुने भली रे निभायी प्रीत, 
तुझे मेरे गीत बुलाते है ।

एकपल है हँसना एकपल है रोना
कैसा है जीवनका खेला,
एकपल है मिलना, एकपल बिछडना
दुनियाँ है दो दिनका मेला
ये घडी ना जाये बीत
तुझे मेरे गीत बुलाते है ।

सन् १९५७ मा प्रदर्शित हिन्दी चलचित्र ‘रानी रुपमती’ को सदाबहार लोकप्रिय गीत हो यो । चलचित्रमा यो गीत बाजबहादुरको भूमिका निभाएका नायक भारत भुषण र रुपमतीे बनेकी नायिका निरुपा रायले पालैपालो गाएका छन् । सिएन त्रिपाठीद्वारा निर्देशित उक्त चलचित्र भारतका पठान राजा बाजबहादुर र क्षेत्रिनी गायिका रुपमतीको प्रेम कथामा आधारित छ ।

त्यसबेला मालवा राज्य पश्चिम भारतको एउटा अञ्चल थियो । जुन राजस्थानको दक्षिणपूर्वमा अवस्थित छ । मध्यप्रदेशको पश्चिमी भूभाग । पहिला यहाँ मालब जातिका मानिस बस्थे । यिनीहरुले इशापूर्व चौथो शताब्दीमा अलेक्ज्याण्डरको सेनासित लड्नुप¥यो । पराजित बनेपछि उज्जैनको अवन्तीमा गई बस्ती बसाले । अवन्ती र दर्शाणलाई राजनीतिको केन्द्र बनाए । पछि यिनै दुईटा प्रदेशलाई मिलाएर मालवा बनाए । सन् १३९२ मा मालवा दिलावर खाँ घुरीको नियन्त्रणमा गयो । पहिला उनी यहाँका गभर्नर थिए । पछि महमुद साह (प्रथम) ले खल्जी वंशको स्थापना गरे ।

यिनीहरु पठान थिए । यहाँ सुजात खाँले शासन गरेको समय दिल्लीमा अकबरको शासन थियो । दुईटै मुसलमान भए पनि पठान र तैमूरहरु सधैं संघर्ष गर्थे । अकबर चाहन्थे मालवा मुगल साम्राज्यको अंग बनोस् तर सुजात अकबरको प्रस्ताव मान्न तयार नभएपछि पटक–पटक युद्ध भयो । सुजातको निधनपछि मालवाको गद्दी (सन् १५५५) मा बाजबहादुर बसे । उनी मिलनसार थिए यसर्थ हिन्दूहरुसँग पनि राम्रो सम्बन्ध कायम गरे । 
रुपमती मान्धव नगरकी किसानपुत्री थिइन् । हिन्दु मान्धब नगर मालवाको नगर थियो । रुपमतीले संगीत सिकेकी थिइन् । सुरिलो स्वरकी धनी । नाउँजस्तै थियो उनको सुन्दरता । भारतीय इतिहासकारहरुले रुपमतीलाई भारतभरिकै सुन्दर युवतीमध्येकी एकको रुपमा व्याख्या गरेका छन् । एकदिन बाजबहादुर शिकार खेलेर फर्कंदै थिए, नर्मदा नदी किनार पुग्दा सुरिलो स्वरमा कोही गाइरहेको सुने । एक हुल युवतीहरु पौडी खेल्दै नुहाइरहेका थिए । रुपमती त्यही हुलमा थिइन् । बाजबहादुरलाई देखेपछि नुहाउन छाडेर नदीबाट निस्के । बाजबहादुर र रुपमतीबीच परिचय आदानप्रदान भयो । कुरैकुरामा रुपमतीले बिहान र साँझ गरी दिनमा दुईपटक नदीमा आउने गरेको बताइन् ।

बाजबहादुर भोलिपल्ट साँझ पनि नदीतर्फ गए । भेट भयो । त्यो दिन रुपमतीले आफ्नाबारे सबै कुरा सुनाइन् । पहिला आफूहरु मेवाडको भएको र मेवाड सधैं नर्मदाको पानी सतहभन्दा माथि पुगेपछि बाढीबाट पीडित रहने सुनाइन् । बाढीको कारण सधैं दुःखमा बिताउन बाध्य भएपछि पिताले आफूलाई नदीमा समर्पित गरेको र त्यसै कारण नर्मदा माइको पूजा गर्न दिनहुँ आउने गरेको बताइन् । बाजबहादुरसित घनिष्ठ सम्बन्ध बनिसकेपछि रुपमती गीत गाई सुनाउन थालिन् । बाजहादुर आफैं पनि संगीतप्रेमी थिए । त्यसैले दुवैको मन मिल्यो ।

एकदिन बाजबहादुरले रुपमतीलाई दरबारमा बोलाए । संगीत सन्ध्या भयो । दुवै झन् नजिकिए । बाजबहादुरले बिहेको प्रस्ताव राखे । रुपमतीले सहर्ष स्वीकारिन् । रुपमती रानी बनिन् । रुपमतीको सौन्दर्य र गायन प्रतिभाको चर्चा चारैतिर फैलिसकेको थियो । दिल्लीका अकबरले पनि सुने र उनलाई हेर्न आतुर बने । संगीत सम्राट तानसेनलाई मालवा पठाए । मालवा दरबारमा उनको भव्य स्वागत भयो । तानसेनले रुपमतीको गायनको प्रशंसा गरे । उनी र बाजबहादुरबीच तालमेल मिलेकै थियो, यसबीच बाजबहादुरका सुवेदार हाफिज खाँले अचानक तानसेनलाई अपहरण गरिदिए । हाफिज वास्तवमा आफ्नी छोरी हमिदाको बिहे बाजबहादुरसँग गराइदिन चाहन्थे । हमिदा आफैं पनि बाजबहादुरलाई चाहन्थिन् तर रुपमतीका कारण बाजबहादुरलाई ज्वाइँ बनाउन नसकेपछि हाफिजले षड्यन्त्र रचे ।

यो काण्डले गर्दा मालवा र दिल्लीबीच तनाव बढ्यो । सम्राट अकबरले एउटा पत्र पठाएर रुपमतीलाई दिल्ली दरबारमा सेवाको निम्ति पठाउन माग राखे । बाजबहादुरले आफ्नी रानीलाई मुगलहरुको सेवामा पठाउन मान्ने कुरै भएन । प्र्रस्ताव अस्वीकार गरेको प्रत्युत्तर पठाए । तानसेनलाई छुटाएर रुपमतीलाई हासिल गर्न क्रोधित अकबरले मालवामाथि आक्रमण गरे । मुगल सेनाको नेतृत्व आदम खाँ र पीर मुहमद खाँले गरे । आदम खाँ अकबरकी धाइआमा माहम अनगा (महामंगा) को पुत्र थिए भने पीर अकबरका गुरु थिए । अकबरको शासनकालमा दुवैले उनको सेनाको नेतृत्व सम्हाले । 

बाजबहादुरले सेना विस्तार गरेका थिएनन् । मालवाको सैन्य संगठन सानो थियो । त्यसकारण मुगल सेनासित चाँडै पराजित भयो मालवा । बाजबहादुर सन् १५६१ को मार्च २९ मा सारंगपुरो लडाइँमा पराजित बनेपछि खान्देशतर्फ भागे । आदम खाँ र पीर मुहमदले मालवामा अत्यन्त अत्याचार गरे । आदमले रुपमतीलाई दरबारमै बन्दी बनाए । आदम आफैं पनि रुपमतीलाई आफ्नो बनाउन चाहन्थे । उता बाजबहादुर खान्देशतर्फ भागेपछि अकबरले त्यसमाथि पनि आक्रमण गर्न पीरलाई आदेश दिए । तर, खान्देशमा मुगल सेनाले पराजय भोग्नुप¥यो । खान्देशका मुबारक साह (द्वितीय), बेरारका तुफल खाँ र बाजबहादुरको त्रिशक्तिको अगाडि पीरो सेना कमजोर बन्यो । मुगल सेनालाई लखेट्दै मालवाको बाहिरसम्म धपाइयो । पछि गुजरातबाट दिल्ली फर्कने क्रममा नदीमा डुबेर पीरको मृत्यु भयो ।

मुगल सेना पछि हटेपछि बाजबहादुरले पुनः मालवामा शासन गरे । तर अकबर चुप लागेर बसेनन् । तुरुन्त अब्दुल्लाह खाँको नेतृत्वमा मालवामाथि हमला गर्न सेना पठाए । मालवाको राजधानी माण्डु सजिलै मुगल सेनाको कब्जामा गयो । बाजबहादुर बन्दी बने । पति बन्दी बनेको र माण्डु मुगल सेनाको कब्जामा गएको सन्देश सुनेर रुपमती अत्यन्त दुःखी बनिन् । जब मुगल सैनिक जवान उनलाई लिन दरबार पुगे, मुगल दरबारको सेवामा जानुको सट्टा आफ्नै हातको औंठीमा जडिएको हिरा निलेर आत्महत्या गरिन् । आदम खाँ बासनाको शिकार गर्न दरबारतर्फ लम्केपछि उनले वीष पिएर मरेको कथन पनि छ । 

रुपमतीको आत्महत्याको खबर सुनेर अकबर पनि दुःखी बने । उनले बाजबहादुरलाई सकुशल रिहा गर्न आदेश दिए । अकबरले मालवामा त्यतिञ्जेलमै रुपमतीको मकबरा (चिहान) बनाउन लगाइसकेका थिए । बाजबहादुरले रुपमतीले आत्महत्या गरेको खबर सकुशल मालवा पुगेपछि बल्ल थाहा पाए । उनले प्रिय रानी रुपमतीको मकबरामा टाउको बजार्दै सन् १५६२ मा ज्यान दिए । बाजबहादुर अब्दुल्लाह खाँसित युद्ध लड्दालड्दै सख्त घाइते भएको र लगत्तै उनको मृत्यु भएको भन्ने इतिहासकारहरु पनि कम छैनन् । जेहोस्, रुपमतीको आत्महत्या र बाजबहादुरको असामयिक निधनबाट अकबरलाई पश्चाताप भयो । जसको कारण उनले सारंगपुरमा दुवैको मकबरा बनाउन लगाए । र, बाजबहादुरको मकबरामा ‘आशिक–ए–सादिक’ र रुपमतीको मकबरामा ‘शहिद–ए–वफा’ लेख्न लगाए । 

आजभोलि माण्डु पर्यटकीय स्थल बनेको छ । पर्यटकहरु बाजबहादुर र रुपमतीको मकबरा हेर्न पुग्छन् । त्यहाँ बाजबहादुरले आफ्नी रानी रुपमतीका लागि ३ हजार ५ सय फुट उचाइमा किल्ला बनाइदिएका थिए । रुपमतीको दिनहुँ नर्मदा नदी हेर्ने इच्छापूर्ति गर्न उनले उक्त विशाल किल्ला र दरबार बनाएका हुन् । रुपमती हरेक दिन स्नानपछि त्यहाँ पुगिेर नर्मदाको दर्शन गरेपछि बल्ल अन्न ग्रहण गर्थिन् । उनैले शत्रु सेनाले आक्रमण गरेमा रुपमतीलाई मार्नुअघि शत्रु सेनाको हातबाट आफ्नो प्राण जाओस् भन्ने हेतुले रानीको दरबारभन्दा वर आफ्नो दरबार बनाउन लगाएका थिए । उनी नै मालवाको अन्तिम सुल्तान भए । 

टिप्पणीहरू