​अमेरिकाभित्र पसेर जासुसी अभियान

  • राजेन्द्र स्थापित

कार्लो टुओमीको सक्कली नाउँ रुडोल्फ रोबर्टोभिच सास्तामोइनेन हो । जन्म अमेरिकाको मिचिगनमा । बाबुको मृत्युपछि आमाले फिनल्याण्डका रोबर्टो सास्तामोइनेनसित बिहे गरिन् । रोबर्टो कम्युनिष्ट पार्टीका सदस्य । सौतेनी बाबुले कार्लोको दिमागमा कम्युनिष्ट सिद्धान्त भरिदिए । रोबर्टोले सन् १९३३ मा रुसमा बसाइँ सर्ने निधो गरे । त्यतिबेला कार्लो भर्खर १७ वर्षका थिए । 

तत्कालीन सोभियत संघ पुगेपछि रोबर्टो पूर्णकालीन कम्युनिष्ट बने । भर्खरको युवक कार्लोको काँधमा आमा र बहिनी पाल्ने जिम्मेवारी आइप¥यो । उनी जंगलबाट दाउरा संकलन गर्ने र करेलिया (फिनल्याण्डको सीमामा अवस्थित स्वायत्त गणतन्त्र) को बजारमा लगेर बेच्ने व्यवसाय थाले । सन् १९३९ मा दोस्रो विश्वयुद्ध शुरु भयो । कार्लो सेनामा भर्ती भए । धेरै समय इंग्ल्याण्डसितको मोर्चामा खटिए । सन् १९४५ मा युद्ध रोकिएपछि घर फर्के तर त्यतिञ्जेलमा भोकमरीको कारण आमाको मृत्यु र बहिनी लापत्ता भएको थाहा पाए । 

अंग्रेजी सिकेर अध्यापन पेशामा लाग्ने अठोट गरे । अमेरिकामा बाल्यकाल बिताएका कारण अंग्रेजी भाषाप्रतिको मोह यथावत थियो, त्यसैले किरोभतर्फ प्रस्थान गरी त्यहाँको शिक्षण महाविद्यालयमा भर्ना भए । गरिबीको कारण अध्ययनको साथसाथै बिहान दाउरा चिरेर बेच्थे भने साँझ घरघरमा पैटिज (मासु राखिएको खाद्यवस्तु) पु¥याउँथे । सन् १९४७ मा एकदिन बेकरी बिक्रेताले उनको बाकसमा एक सय वटा क्रिम रोल त्यत्तिकै राखिदिए । त्यो देखेर कार्लो लोभिए । उनले त्यो बेचेर खाए । त्यसको छनकसम्म लाग्न दिएनन् । एक समय बजारमा दाउराको संकट प¥यो । बेकरीमा चुलो बाल्न दाउरा थिएन । म्यानेजरले सरकारी गोदामबाट एक ट्रक दाउरा चोरेर ल्याउन सके आधा ट्रक उनैलाई दिने लोभ देखाए । त्यो दिन कार्लोले दाउरा चोरे । आफ्नो भागमा परेको आधा ट्रक बेचेर खाए । 

सन् १९४९ को डिसेम्बर ८ मा सधैंझैं घर जान निस्केको बेला एक जनाले कठालो समाते । आफू केजिबी (गुप्तचर संस्था) को एजेन्ट भएको परिचय देखाउँदै आफूसँग हिँड्न भने । केजिबीका ती अधिकृत मेजर सेराफिमले सूचना पाइसकेका थिए, त्यसैले चोरीको अपराधमा जेल जाने कि केजिबीको लागि जासुस बन्ने ? भनेर सोधे । कार्लो जासुस बन्न राजी भए । दोस्रो भेटमा सेराफिमले भने, ‘तिम्रो महाविद्यालयका शिक्षकहरु सोभियत संघ र कम्युनिष्ट पार्टीको बारेमा कस्तो विचार राख्छन् ? त्यसको एक–एक रिपोर्ट हामीलाई दिनू । साथीहरुबीच पनि घुलमिल हुनु, उनीहरुको रिपोर्ट ल्याउनु । कसैले सोभियत सरकार र कम्युनिष्ट पार्टीको आलोचना गरेमा प्रतिरोध नगर्नु, होमा हो मिलाउनु, अझ हल्का आलोचना गर्नु । पश्चिमी देशहरुको विषयमा उनीहरु के–कस्तो दृष्टिकोण राख्छन्, त्यसको पनि रिपोर्ट ल्याउनु ।’

यसबीच कार्लोले स्नातक उत्तीर्ण गरे । पढेकै महाविद्यालयमा अंग्रेजी भाषा पढाउने जागिर पाए । केही समयपछि सत्तारुढ कम्युनिष्ट पार्टीको सदस्यता दिइयो र मस्को बोलाइयो । त्यहाँ उनलाई भनियो, ‘हामी एउटा महत्वपूर्ण जिम्मेवारी दिएर तिमीलाई अमेरिका पठाउँछौं, यो काम यसकारण सुम्पन लागेका हौं कि यो काममा तिमी सफल हुनेछौ । अर्को कुरा तिमी अहिले पनि अमेरिकी नै छौ, अमेरिकी पासपोर्ट पनि छ । काम जोखिमयुक्त छ, त्यसैले सदा सतर्क रहनु जरुरी छ । यो कामका लागि केही समय पत्नी र छोराछोरीबाट टाढा रहनु पर्नेछ ।’

कार्लोले सोधे, ‘कति समयका लागि ?’

केजिबी अधिकृतले भने, ‘अबको तीन वर्ष मस्कोमा तालिम दिन्छौं । तिमीमाथि हामीले ठूलो लगानी गर्न लागिरहेका छौं, त्यसैले कम्तीमा ३ वर्ष अमेरिका बस । यदि काममा सफल भयौ भने यो समय अनिश्चितकालका लागि लम्बिन पनि सक्छ । आफ्नो परिवारजनप्रति ढुक्क बने हुन्छ । उनीहरुलाई आर्थिक समस्या हुन दिइने छैन । ठूलो बंगला र तिम्रो तलब पनि खाइपाइ आएको भन्दा तेब्बर परिवारले पाउनेछ । तिम्रो खर्चका लागि आवश्यक डलरको व्यवस्था गर्नेछौं । तिमी त्यहाँ अमेरिकी जीवनस्तर जिउने छौ । आवश्यक सबै व्यवस्था हाम्रोतर्फबाट हुनेछ ।’

सन् १९५० को मेमा उनी पुनः मस्को गए । स्टेशनमा केजिबीका एक कर्णेलले रिसिभ गरे । कुतुजोभ्स्की– प्रास्पेटास्थित एउटा घरको पाँचौं तलामा लिएर गए । कोठाभित्र राखिएको दराज खोले । दराजभित्र दुवै पसे । त्यो चोर बाटो हुँदै छैटौं तलामा पुगे । त्यहाँको कोठा सेवा–सुविधाले भरिपूर्ण थियो । कर्णेलले कार्लोलाई त्यहीं छाडेर फर्के । ६ दिनसम्म कार्लोले सोही कोठामा बिताए । सुविधाको भरपुर आनन्द उठाए । सातौं दिनमा एउटा सन्देश प्राप्त गरे, ‘आज कतै नजानू, तिमीसँग भेट्न आउँदै छौं ।’ एकछिनपछि मोटो र अग्लो मानिस कोठामा प्रवेश गरे । उनले ‘तिम्रो प्रशिक्षक अर्लेबसाइ गैलकिन मैं हुँ’ भनी परिचय दिए । 

सन् १९५१ देखि १९५६ सम्म राष्ट्रसंघीय कार्यालयको कर्मचारी बनी अमेरिकाको जासुसी गरिसकेका गैलकिनले जासुसीको शास्त्रीय र व्यावहारिक ज्ञान दिए । सर्टह्याण्ड लेखन, फोटोग्राफी, गुप्त लेखनको अभ्यास गराए । एउटा चलचित्र पनि देखाए । सोभियत संघका लागि जासुसी गर्नसक्ने अमेरिकीहरुलाई खोज्ने जिम्मेवारी दिए । केही समयपछि फेन्ना सोलस्को नाउँकी युवतीले कार्लोसँग भेटिन् । उनले कार्लोलाई खररर अंग्रेजी बोल्ने, लेख्ने कला र अमेरिकी रीतिरिवाजबारे ज्ञान दिइन् । कोठामा राखिएको ठूलो ऐनाको अगाडि लुगा खोल्न आफ्नो हात पछाडि लगिन् । यो देखेर कार्लो उत्तेजित भई अगाडि बढे । तर संयमित भई पछाडि हटे । फेन्नाले भनिन्, ‘स्याबास, तिमीमा ठूलो संयमता रहेछ । तिमी कुशल जासुस बन्नेछौ ।’

कार्लोले हरेक दिन बिहान ९ बजेदेखि ५ बजेसम्म तालिम लिइरहे । उनलाई प्रशिक्षण दिने सबै पहिला अमेरिकामा जासुसी गरिसकेकाहरु थिए । तालिमको क्रममा कार्लोले प्राविधिक काम धेरै सिके । पूरा पृष्ठको फोटोलाई एउटा सानो विन्दुमा परिणत गर्ने कला सिके । अदृश्य बत्तीको उपयोग गर्ने कला सिके । उनले सलाईाके बट्टाजत्रो सानो गुप्त संकेत पुस्तिका पाए । कार्लोलाई लुगा सिलाउने पसलमा लगियो । उनको निम्ति अमेरिकी ढंगको पोशाक सिलाउन दिइयो । अन्तिम ५ दिन कठोर परीक्षा लिइयो । सबै परीक्षामा उत्तीर्ण भएपछि बल्ल परिवारसँग भेट्न दिइयो । एक महिना परिवारसहित कार्लोले कालासागरमा छुट्टी मनाए । मस्को फर्केपछि भनियो, ‘तिमी न्युयोर्क जाऊ, त्यहाँको बन्दरगाहमा राखिएका रकेट, युद्ध सामग्री र सेनाको गतिविधिसम्बन्धी सूचना पठाउँदै गर्नु । साथै, दुई–चार जना अमेरिकीसित सम्बन्ध बनाउने कोसिस पनि गर्नु ।’

कार्लो रुसी नभई अमेरिकी नै देखियुन् भनेर केजिबीले एउटा कथा बुन्यो । ‘कार्लोको जन्म मिचिगनमा भयो । बाल्यकाल सानो नगरमा बित्यो । सन् १९३२ मा बहिनीको मृत्युपछि सौतेनी बाबु परिवार त्यागेर बेपत्ता भए । अर्को वर्ष कार्लो र आमा बज्यैको घरमा गए । त्यहीं खेतीपाती गरी बसे । ५ वर्षपछि कार्लो बिदा मनाउन मिचिगन फर्के । त्यहाँ उनको बाल्यकालका साथी हेलेन बैटसनसँग भेट भयो । दुवैले एक–अर्कालाई मन पराए र बिहे गरे । सन् १९४१ मा खेतीपातीको आयमा एक्कासि गिरावट आयो । कार्लो नयाँ कामको खोजी गर्दै न्युयोर्क पुगे । त्यहाँ उनी ब्रोंक्समा बस्न थाले । काँधमा आमा, बज्यै र पत्नीको भरणपोषणको जिम्मेवारी थियो । बिरामी बज्यैको स्वास्थ्योपचार गर्नुपथ्र्यो ।’

कार्लोलाई सजिलो होस् भन्ने हेतुले एउटा फिल्म देखाइयो, जसमा ‘कथा’ मा उल्लेखित सबै स्थान थियो । यो पनि भनियो कि अमेरिका गइसकेपछि आफैं यी सबै स्थानमा पुग्नु । कार्लोले जुन संस्थामा काम ग¥यो भनी कथामा भनिएको थियो, फिल्ममा त्यो संस्थाको भित्रभित्रसम्मको छायांकन थियो । उनलाई त्यहाँ कार्यरत व्यक्तिहरुको नाउँ र स्वभावबारे पनि जानकारी गराइयो । फिल्ममा कारखाना र पसलहरु देखाइएको थियो । त्यहाँ काम गर्नेहरुको अनुहार प्रष्ट थियो । सबै तयारीपछि कार्लोलाई सन् १९५८ मा अमेरिका पठाइयो । उनले अमेरिकी सामरिक सूचना केजिबी र रुसी सैन्य जासुसी यन्त्र ‘जिआरयु’ लाई पठाउन थाले । तर कार्लोको गतिविधि अमेरिकी अनुसन्धान ब्युरो एफबिआईले चाँडै थाहा पायो । उनी पक्राउ परे तर एफबिआइले कार्लोलाई सजाय दिनुको बदला सोभियत संघको गतिविधिको जानकारी दिने आफ्नो एजेन्टमा परिणत ग¥यो । उनले केजिबीको सूचना अमेरिकालाई दिने र अमेरिकी सैन्य सूचना केजिबीलाई दिने दोहोरो भूमिका निभाउँदै गए । 

आफ्नो एजेन्ट डबल एजेन्ट बनिसकेको सूचना केजिबीले सन् १९६२ मा पायो । र, फिर्ता बोलायो । कार्लो डराए । स्वदेश नफर्कने निधोमा पुगे । जबकि उनको परिवार त्यो बेलासम्म रुसमै थियो । तैपनि रुस फर्केनन् । उनको निधन फ्लोरिडाको लेक बर्थमा सन् १९९५ मा भयो ।
 

टिप्पणीहरू