सबै जुट्दाको त्यो सल्लाह

‘ढिलोचाँडो, नेतृत्व हाम्रै हातमा आउने हो । तर, जसरी पूर्वएमालेका साथीहरुसँग काम गर्छौं भन्ने सोच्यौँ, स्थिति त्यस्तो रहेन । सँगै जान एकदमै गाह्रो भइरहेको छ । तर फेरि पनि हामी मिलेरै जानुको विकल्प छैन ।’

व्यक्तिगत कामका लागि दुबई जानुअघि खुमलटार पुगेका करिब १५ जना पूर्वमाओवादी नेताबीच नेकपा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘प्रधानमन्त्रीजीले कुनै काम र निर्णय गर्नुअघि सरसल्लाह हुन्न, सबै निर्णय एकल हुने गर्छ ।’ जनार्दन शर्मा (प्रभाकर), उद्योगमन्त्री मात्रिका यादव, लेखराज भट्ट, प्रभु साहसहितका नेता भेट्न पुगेका थिए । प्रचण्डले थप टिप्पणी गर्दै भन्नुभयो, ‘गणतन्त्र र संघीयताका इन्ष्टिच्युसनहरुलाई बलियो बनाएर लैजानुपर्छ भन्ने नै देखिएन ।’

मूल राजनीतिक दर्शन एउटै भए पनि लामो समयदेखि फरक रणनीतिक र कार्यनीतिक बाटो अबलम्बन गरेका पार्टीबीचको एकतामा केही न केही समस्या आउँछ भन्ने अनुमान प्रचण्डले गर्नुभएको रहेछ । ‘तर, सोचेभन्दा पनि बढी समस्यामा परियो । कतिपय निर्णय भएपछि सुन्नुपर्ने स्थिति आयो’, उहाँले आफ्नो पूर्वपार्टीका नेतासँग भन्नुभयो । 

यस्तो पीडादायी स्थितिबीच प्रचण्डले पहिला ओलीसँगै सम्बन्ध राम्रो बनाउनुपर्ने पनि सुनाउनुभयो । ‘सँगै जानुको विकल्प छैन, तर सँगै जान सजिलो पनि छैन । जति सरल होला भन्ने सोचिएको थियो, त्यस्तो भएन’, उहाँले भन्नुभयो । 

टिप्पणीहरू