कम्युनिष्ट नेता बाझ्दाका कुरा
‘उचाल्ने पछार्नेबाहेक अरु के जान्नुभएको छ, हँ ?’
शुक्रबार जनसंगठनका इञ्चार्ज तोकिएको बैठकमा यसो भन्दै वरिष्ठ नेता माधव नेपाल शुरुमै पड्किएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले ‘ठीक छ, तपाईंको कुरा सुनौँ न त’ भन्नेबाहेक केही प्रतिक्रिया दिनुभएन । बरु, ध्यानपूर्वक सुनिरहनुभयो । माधवको भनाइ थियो, ‘पहिला मलाई झलनाथजीको विरुद्ध प्रयोग गर्नुभयो । अहिले उहाँलाई मेराविरुद्ध उकास्नुभएको छ । यो सब षड्यन्त्र हो ।’ भनाई सकियो होला भन्ठानी वामदेवले हात उठाएर आफ्नो कुरा राख्न खोज्नुभयो । तर, माधवले बोल्न रोक्नुभएन । केपीतिर हेरेर भन्नुभयो, ‘झलनाथजीसँग मेरो केही पनि छैन । मैले कुनै एकदिन पनि तपाईंसँग वरिष्ठ नेता मागेको थिएँ भने यो बैठकलाई भन्नुस् । बरु, झलनाथजीलाई वरिष्ठ नेता राख्न खोज्नुभएको थिएन । मैले नै राखौँ भनेको हुँ । आज फेरि एउटाका विरुद्ध अर्कालाई उकास्नतिर लाग्नुभएको छ । यसले न तपाईंको हित हुन्छ, न पार्टीको ।’
बैठकमा वामदेवले आन्तरिक एकता सुदृढ नभएसम्म सरकार सफल नहुने, सरकार सफल नहुने भएपछि पार्टी एकीकरणदेखि सारा चिज असफल हुँदै जाने र त्यहीअनुसार जनमत निर्माण हुने भन्दै एकापसमा भनाभनको श्रृंखला रोकिनुपर्ने धारणा राख्नुभयो । माधवले फेरि प्रतिक्रिया दिनुभयो, ‘मूल नेतृत्व सच्चिनुप¥यो । षड्यन्त्र गर्न भएन †’ आपसी मन बाझाबाझको यो क्रममा प्रधानमन्त्रीले खासै केही बोल्नुभएन । ‘महासचिवले के–के प्रस्ताव राख्नुहुन्छ, सुनौँ न त’ भनेपछि केही विभागमा उपप्रमुख थप्दै जनसंगठनका इञ्चार्ज, सहइञ्चार्जको नाम वाचन भयो । यो क्रममा माधव चूप लागेर बस्नुभयो । अन्तिममा भन्नुभयो, ‘मेरो रिजर्भेसन छ । नोट अफ डिसेन्ट लेख्ने मौका दिइयोस् ।’ महासचिव विष्णु पौडेलले ‘माधव कमरेडले लिखितमा दिनुहुने कुरा माइन्युटमा जस्ताको तस्तै समावेश गरिनेछ’ भनेपछि माधव उठेर हिँड्नुभयो । यतिञ्जेलमा बैठक सकिनै लागेको थियो ।
यो भयो सचिवालय बैठकभित्रको दृश्य । तर, बाहिरको वातावरण भने भिन्दै थियो । वरिष्ठ नेता माधवलाई उकासेर सत्तासमीकरण बदल्ने र पार्टीभित्र भद्रगोल मच्चाउने देशी–विदेशी खेल यसबीचमा तीव्र भयो । तर, स्वयं माधवको अनिच्छाका कारण खेलाडीहरु आफैँ तितरबितर भएका छन् । उहाँलाई पार्टीभित्रैका मात्र हैन, देश बाहिरका तत्व पनि यसबीच उकास्नमा निक्कै कस्सिए । संसदीय दलको नेता परिवर्तनका कुरा लिएर एकथरी पुगे । घुमाउरो पारामा ‘तपाईंले नेतृत्व लिनुपर्ने भयो, हामीले के गर्नुपर्ने हो भन्नुस्’ भन्दै पुगेको एउटा हुललाई उहाँले जवाफ दिनुभयो, ‘यस्तो गम्भीर भूल, त्यो पनि मबाट ? हुनै सक्दैन । पार्टी एकता टुटाउने, जनमतलाई अनादर गर्ने काम कदापि गर्नु हुँदैन । भएका असहमति सम्बन्धित ठाउँमा राखेको छु । त्रुटी सच्याउने काम भित्रैबाट हुन्छ । बाहिरबाट अनेकन कुरा ल्याएर केही फाइदा छैन । दुःख नगर्नुस् †’
टिप्पणीहरू