​त्यहाँ उनले छाडेको भए के हुन्थ्यो ?

शर्त पूरा नगरेको झोँकमा एक थान सांसदको पद र भत्ता त्याग्ने डा.सूर्यनारायण यादवको चाहनाले उपेन्द्र यादवको मनमा कति ठूलो आँधी चल्यो भने, भएभरका जोरजुलुम लगाएर उनलाई थुम्थुम्याइएको छ । र, पृथकतावादी धारबाट मूलधारमा आएका सिके राउत उनले छोड्न लागेको सप्तरी– १ बाट उपचुनावमा उठ्ने ‘सेटिङ’ सम्मका प्रचारबाजी मिथ्या सावित भएको छ । 

जनकपुरमा बालरोगसम्बन्धी आधुनिक प्रविधिले सुसज्जित एक नम्बरकै मानिने क्लिनिकमा दैनिक दुई लाख रुपैयाँको चोखो आम्दानी त्यागेर उनी ०७४ को चुनावमा उम्मेदवार बनेका थिए । उनी सप्तरीको डिमोन (हाल तिरहुत– ५) मा धनीमानीका सन्तान हुन् । गजेन्द्रनारायण सिंहले तराई कांग्रेस गठन गरेदेखि ०४७ मा सद्भावना पार्टी खोल्दासम्मका सहयात्री थिए, उनका बुबा । गजेन्द्रनारायणकै सिफारिसमा भारतीय दूतावासको परियोजनाअन्तर्गत चिकित्सा शिक्षा अध्ययनको कोटामा परेर कलकत्ताबाट एमबिबिएस गरे । त्यहाँ ०४८ देखि ०६४ सम्म कांग्रेसबाट चुनाव उठ्दा जेपी गुप्ताले जित्दै आएका थिए ।

०७० मा कांग्रेसकै हेमराज तातेडले जिते । तर, ०७४ मा एकाएक डाक्टरी पेशा छाडेका सूर्यनारायण लड्न पुग्दा २१ हजार सात सय १२ मतका साथ विजयी भए । उनले माओवादीका अशोककुमार मण्डललाई तीन हजार चार सय ८७ मतले पराजित गरेका थिए भने कांग्रेसका रामदेव साह तेलीले १५ सय ६ मतमात्रै पाए । अहिले यी डाक्टर बिच्किनुको कारण हो, उपेन्द्रले पहिला मन्त्री बनाउने आश्वासन दिएर वचन पालना नहुनु । विज्ञताको हिसाबले स्वास्थ्य मन्त्रालयमा रुची हुनु स्वाभाविक हो । उनले उपेन्द्रलाई ‘तपाईं मोहम्मद इस्तियाक राइनले चलाएको शहरी विकासमा गएर भए पनि मलाई स्वास्थ्य दिए हुन्थ्यो’ भनेका थिए । हैरानी कस्तो भने, पेशा हो, बालबच्चा जाँचेर प्रेस्किप्सन लेख्ने ।

सांसद भएदेखि जागिरको भनसुन, अपराधी छुटाउने सिफारिसजस्ता कुराले हैरान छन् । संसदीय दलको बैठकमा पनि जान छाडेका थिए । यो कुरालाई लिएर उपेन्द्रसँग पाँच महिनादेखि गलफत्ति चल्दै आएको थियो । उनले राजीनामा दिएपछि मंसिरको उपचुनाव त्यहाँ पनि हुने थियो । यसबाट संघीय समाजवादी पार्टीको जनमत परीक्षण हुन्थ्यो । चुनाव हार्दा सर्वत्र उपेन्द्रको जनमत खस्किएको सन्देश जाने थियो । त्यसैले मंसिरको उपचुनावसम्मका लागि सूर्यनारायणलाई रोकिएको बताइन्छ । उक्त क्षेत्रमा पहिला माओवादीका अशोककुमार मण्डल र एमालेका सुमन प्याकुरेलबीच प्रतिस्पर्धा हुँदा अशोकले जितेका थिए । अहिले उपचुनाव हुँदा पूर्वएमाले र पूर्वमाओवादीको तत्कालिन मतका आधारमा नेकपाले जित्ने सम्भावना झिनो थियो । त्यसमाथि भर्खर संगठन बनाउँदै गरेको सिके उठ्ने कुरा त हल्लामात्र थियो । 

टिप्पणीहरू