गरिब जनता सबभन्दा गज्जब ?
- राजेन्द्र स्थापित
चिनियाँ नेता माओको दिन रात परेपछि शुरु हुन्थ्यो । रातभर काम गर्थे । बिहान उज्यालो भएपछि सुत्थे । बाहिर जाने काम नहुँदा अधिकांश समय ओछयानमै बिताउँथे । खाना पनि ओछ्यानमै बसेर खान्थे । जहाँ जान्थे, बस्थे, पलङ साथमै राख्थे । रेलको सफरमा समेत उनका लागि विशेष खालको पलङको व्यवस्था हुन्थ्यो । सन् १९५७ मा रुस पुगे । प्रतिनिधिमण्डलमा देङ सियाओ पिङ पनि थिए ।
तत्कालीन सोभियत संघले रुसमा अक्टोबर क्रान्ति सम्पन्न भएको ४० आंै वार्षिकोत्सवको अवसर पारेर ६४ वटा देशका कम्युनिष्ट पार्टीहरुको भेला आयोजना गरेको थियो । तीमध्येका १३ वटा त सत्तारुढ दल नै थिए । अन्तिम समयमा युगोस्लाभियाका राष्ट्रपति जोसेफ ब्रोज टिटोले भ्रमण रद्द गरे । प्रतिनिधिमण्डल मात्र पठाए । भेला नोभेम्बर १६ मा डाकिएको थियो । यसभन्दा अघि नोभेम्बर ६ का दिन सत्तारुढ १३ वटा कम्युनिष्ट पार्टीको छुट्टै बैठक डाकिएको थियो । बैठकमा चिनियाँ नेता माओ र अल्बानियाका राष्ट्रपति अनवर होक्जाले युगोस्लाभियाले समातेको लाइनको चर्को विरोध गरेका कारण बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उसका प्रतिनिधिले हस्ताक्षर गर्नै मानेनन् ।
माओको नेतृत्वमा चिनियाँ टोली नोभेम्बर २ मा मस्को पुगिसकेको थियो । जहाजले माओ सुत्ने पलङ पनि बोकेको थियो । किनभने उनलाई अरु पलङमा निद्रै लाग्दैनथ्यो । माओलाई रुसी नेता निकिता खु्रस्चेभले विशेष सत्कार दिन लगाएका थिए । १३ जना सत्तारुढ नेतामध्ये माओ एकजना मात्र त्यस्ता थिए, जसलाई खाने, बस्नेलगायत सम्पूर्ण सुविधा राष्ट्रपति भवन ‘क्रेमलिन’ मै गरिएको थियो । नोभेम्बर ६ मा जारी संयुक्त विज्ञप्तिका सहमस्यौदाकार पनि माओ नै थिए । मस्यौदा सोभियत कम्युनिष्ट पार्टीले तयार पारेको थियो । अन्य नेतालाई सामान्य छलफलपछि विज्ञप्तिमा हस्ताक्षर मात्र गर्न लगाइयो । भोलिपल्ट नोभेम्बर ७ (पुरानो ईश्वर क्यालेण्डरअनुसार अक्टोबर २५) रुसले सन् १९१८ देखि मात्र नयाँ क्यालेण्डर लागू गरेको हो) मा अक्टोबर क्रान्ति दिवसको अवसरमा मस्कोको लाल चोक र गोर्की मार्गमा भव्य कार्यक्रमको आयोजना गरियो, जहाँ पहिलोपटक माओ र खु्रस्चेभ सँगै देखापरे, त्यो पनि एकले अर्काको हात समाउँदै, उपस्थित जनसमुदायलाई अभिवादन गर्दै । नेताहरुको अभिवादनको प्रत्युत्तरमा जनसमुदायले हावामा चीनको राष्ट्रिय झण्डा लहराए अनि एक स्वरमा कराए, ‘माओ र चीन जिन्दावाद !’
त्यसबेला रुसीहरु चीन र माओदेखि अति प्रशन्न थिए । जबकि नयाँ रुसी नेता ख्रुस्चेभको ‘शान्तिपूर्ण सहअस्तित्व’ र जोसेफ स्टालिनको विरोधी नीतिको कारण चीन रुससित रिसाइरहेको थियो । सायद यही कारणले पनि होला, रुसीहरुले माओलाई बढी माया गरे । रुसीहरु पनि ख्रुस्चेभको परिवर्तित नीतिप्रति प्रशन्न थिएनन् । फिनल्याण्डका कम्युनिष्ट नेता ताइभो आन्तिकाइनेन आफूलाई रुसीहरुले त्यो दिन माओलाई देखाउँदै भनेको कुरो स्मरण गर्थे । रुसीहरुले भनेका रहेछन्, ‘हामी अमेरिकादेखि डराउनुपर्ने कुनै कारण छैन । चीनको विशाल सेनासितको हाम्रो सम्बन्धले गर्दा विश्वमा आइपर्ने जस्तोसुकै आपतको सामना गर्न हामी समर्थ छौं । र, हाम्रो यो शक्तिलाई नजरअन्दाज गरेर अमेरिकाले पनि नचाहिँदो कदम उठाउन साहस गर्ने छैन ।’
रुसीहरुको मनस्थिति बुझेपछि माओमा पनि हौसला बढ्यो । उनले खु्रस्चेभसित यसबारे सल्लाहसमेत गरे र सोधे, ‘मुलुकमा सेनाको संख्या कति हुनुपर्छ ? जनसंख्याको आधारमा सैन्य संगठन बढाउनु आवश्यक हुन्छ या हुँदैन ?’
ख्रुस्चेभको संकट पाएपछि माओले सेनाको संख्या बढाएको बढायै गरे । चिनियाँ जनतालाई परिवारनियोजन गराउनसमेत मानेनन् । स्मरणीय छ, एक समय चीनले आफ्नो सैनिक संख्या ६३ लाख पु¥याएको थियो । अहिले भने यो संख्या घटाउँदै घटाउँदै २५ लाख पु¥याइएको छ । जसमा २० लाख ३५ हजार नियमित सेना छन् भने ५ लाख १० हजार रिजर्भ सैनिक ।
नोभेम्बर १६ मा ६४ वटा कम्युनिष्ट पार्टीको विस्तारित भेला शुरु भयो । माओ बैठक कक्षमा प्रवेश गर्दा उपस्थित सबैले उठेर सम्मान प्रकट गरे । भेलामा सबैले लिखित भाषण दिए तर माओले ‘मसित लिखित भाषण छैन, म लिखितबिना नै भाषण गर्न सक्छु’ भने । माओ एकजना मात्रै त्यस्ता नेता थिए, जसले कुर्सीमा बसेरै बोले । ‘टाउको दुखेको’ भन्दै उठेनन् । माओको यो रवैयाप्रति त्यहाँ उपस्थित सोभियत संघका लागि युगोस्लाभियाइ राजदूत भ्लादिमिर पोपोभिकले आफ्नो बोल्ने पालामा मुख बंग्याउँदै व्यंग्य गरे पनि । उनले ‘बहुमतको सम्मान नगर्ने नेता पनि देखें’ भने । माओले बोल्दै भने, ‘…हामीले एउटा अनुमान गरौं । यदि यो स्थितिमा विश्वमा युद्ध भड्कियो भने कति मानिसको ज्यान जाला ? अहिले विश्वमा २ अर्ब ७० करोड मानिस छन् । एक तिहाई ? अझ बढी ? ल आधा नै । यस्तो स्थितिमा विश्वको अवस्था पराकाष्ठामा पुग्नेछ । आधाको मृत्यु, आधा जीवित । तर, हाम्रो लागि भने अवस्था सुखद बन्नेछ । साम्राज्यवादले भुइँ चाट्ने छ र सम्पूर्ण विश्व समाजवाद बन्नेछ ।’
बैठकमा भाग लिएका इटली कम्युनिष्ट पार्टीका नेता पियत्रो इन्ग्राआ लेख्छन्, ‘माओको कुरा सुनेर सबै प्रतिनिधि स्तब्ध बने किनभने माओले विश्वमा आणविक युद्ध भए पनि मेरो आपत्ति छैन भनेका थिए ।’ युगोस्लाभियाइ प्रतिनिधिमण्डलको नेतृत्व गरेका नेता कार्डेल्जीले आफ्नो स्थानबाट उठेरै भने, ‘स्पष्ट भयो, माओ आणविक युद्ध चाहन्छन्…।’
इन्ग्राओका अनुसार माओले जनताको जीवनस्तर बढाउने कुराको पनि घुमाउरो तरिकाबाट विरोध गरे । उनका अनुसार माओले भने, ‘सबै भन्छन् गरिबी खराब छ तर यथार्थमा यो ठीक छ । किनभने गरिब जनता सबैभन्दा क्रान्तिकारी हुन्छन् । के त्यो अवस्था भयावह हुँदैन र, जब सबै धनी बन्छन् ? …मनग्ये क्यालोरीयुक्त खाना खाएका जनतासँग दुईटा टाउको र ४ वटा खुट्टाबाहेक के हुन्छ ?’
माओले स्टालिनको पनि हल्का आलोचना गरे । भने, ‘स्टालिनले युद्धलाई पन्छाएर जनताको जीवनस्तर उकास्ने प्रयत्न गरे तर सफल भएनन् ।’
बैठकमा माओले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई केन्द्रीकरण गर्नुपर्नेमा जोड दिए भने उनको भनाइको खण्डन इटली कम्युनिष्ट पार्टीका नेता पाल्मिरो टोग्लियाटीले गरे । उनले केन्द्रीकरण होइन, विकेन्द्रीकरणमा जोड दिए । विश्वका कम्युनिष्ट पार्टीहरुलाई स्वतन्त्र र आत्मनिर्भर बनाउनुपर्ने बताए । उनले खु्रस्चेभले अख्तियार गरेको नयाँ नीतिको समर्थन गरे । उनको समर्थनमा धेरैले ताली बजाए । चार दिनसम्म चलेको उक्त सम्मेलनबाट चीनले एउटै मात्र लाभ पायो, त्यो भनेको उत्तरकोरिया ऊसित नजिकिए । कोरियाइ नेता किम इल सुङले माओले गरेको युगोस्लाभियाई नेता टिटोको आलोचना मन पराएपछि दुई देशको सम्बन्धमा पहिलाको भन्दा सुधार आयो ।
माओले लामो मस्को बसाइको क्रममा धेरै नेतासित छलफल चलाए । ब्रिटेनको कम्युनिष्ट नेताहरुलाई सल्लाह दिए । ब्रिटिश नेता जोहन गोलानले आफ्नो पार्टीलाई सानो मानेकोमा आपत्तिसमेत जनाए । अनि व्यंग्य गर्दै भने, ‘…कमरेड, मौका पर्खनुस् । एकदिन इंग्ल्याण्ड तपाईंहरुकै हुनेछ । जब तपाईंहरुले ब्रिटेनमाथि विजय प्राप्त गर्नुहुनेछ, त्यो बेला हाम्रा जनतालाई नमार्नुहोला, बस्नलाई एउटा घर दिनुहोला ।’
सम्मेलनमा भाग लिएकोमा बुल्गेरियाका तोदोर झिभ्कोभ (जसले बुल्गेरियामा ३४ वर्ष शासन गरे) अरुभन्दा युवा थिए । माओले ठट्टा गर्दै भने, ‘तपाईं युवा र चलाख हुनुहुन्छ । …जब समाजवादले विश्वलाई जित्नेछ, तब हामीले तपाईंलाई विश्व समुदायको अध्यक्ष बनाउन प्रस्ताव गर्नेछौं ।’
पोल्याण्डका कम्युनिष्ट नेता व्लादिस्लाव गोमुल (सन् १९४३ देखि १९७० सम्म पोल्याण्ड वर्कर्स पार्टीका प्रथम सचिव) सितको कुराकानीमा माओले चीनको आर्थिक स्थितिमा उल्लेखनीय सुधार ल्याउन नसकेकोमा चिन्ता व्यक्त गरे । भने, ‘हामी साना रुख हौं, सोभियत संघ ठूलो रुख हो ।’
उनले गोमुल्कालाई खु्रस्चेभले भनेको कुरा सुनाए । ‘खु्रस्चेभले आगामी १५ वर्षमा सोभियत संघले अमेरिकालाई पछि पार्ने कुरा सुनाए । मैले पनि उनलाई भनिदिएँ, ‘आगामी १५ वर्षभित्रमा हामी पनि या त बेलायतको बराबरीमा पुग्छौं या पछि नै पार्न सक्छौं ।’
माओको त्यो लामो भ्रमण थियो । उनी त्यहाँ २० दिनभन्दा बढी बसे । दुईवटा ठूला सम्मेलनमा भाग लिए तर त्यो रुस भ्रमण नै चीन–रुसबीच मनमुटावको कारक बन्यो । माओले रुसी संशोधनवादविरुद्ध तेस्रो विश्वका कम्युनिष्टहरुलाई गोलबद्ध बनाउन शुरु गरे । सन् १९५८ मा खु्रस्चेभ चीन पुगे । सैन्य सहयोग गर्ने उनको प्रस्तावलाई माओले ठाडै नकारिदिए । सन् १९५९ को मार्च ३० मा तिब्बतका धार्मिक नेता दलाइ लामा भागेर भारत पुगे । लगत्तै खु्रस्चेभ पुनः चीन पुगे । भारतले दलाई लामालाई शरण दिएको विषयमा उनीहरुबीच चर्को मतभेद भयो । सात दिने भ्रमणमा चीन पुगेका रुसी नेता तीन दिनमै फर्के । १९६२ मा चीन–भारत युद्ध भयो । युद्धमा रुस भारतको पक्षमा लागेर चीनलाई सम्झाउन खोजेपछि दुई मुलुकबीच ठूलो तिक्तता बढ्यो । दुवै राष्ट्रबीच सम्बन्ध टुट्ने अवस्थासम्म पुग्यो । सन् १९६९ मा त सैन्य झडप नै भयो ।
टिप्पणीहरू