​के ठेगान र मृत्युको !

शहरी जीवनका आधुनिक शैली, खानपान र मोटोपनालाई नियन्त्रण गर्न नसक्दा दैनिक व्यायाम र कवाज गर्ने सैनिकहरुकै ज्यान पनि सुरक्षित नहुने स्थिति छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाका भाञ्जा, पूर्वजर्नेल योगेन्द्रप्रताप राणाका छोरा प्रमुख सेनानी निरजप्रतापजंग राणाको ५० वर्षकै उमेरमा हृदयघातका कारण विदेशी भूमिमा निधन भएको छ । 

कुरा गत शुक्रबारको हो । सेनाको मध्य एयरबेसमा फ्लाइट अपरेशन, अर्थात् प्राविधिकतर्फ २०४५ असार ७ गते सहायक सेनानीमा भर्ना भएका निरज फ्लाइट अपरेटर्स रिफ्रेसर कोर्षका निम्ति भदौ ५ गतेदेखि बैंककमा थिए । पत्नी र दुई छोरालाई यतै छोडेर त्यहाँ पुगेका उनको तालिम, आजै ११ गते बुधबार सकिँदै थियो । तर, त्यहीँ रहेका आफन्तहरुसँग खानपान र रमाइलो गर्दागर्दै अकस्मात् प्राण त्याग्नुपरेको छ । एकैछिनअघि मात्र काठमाडौंमा रहेकी पत्नीलाई फोन गरेर तालिम सकिन लागेकाले बिहीबार फर्किने भन्दै थिए । फर्किन त सोमबारै फर्किए । तर, कफिनभित्र, चूपचाप लाश बनेर । ११० केजी तौल भएका उनी त्यस साँझ आफन्तहरुसँग खाना खाएर आठ बजेपछि होटल पुगेका थिए । आफन्तहरुकै गाडीबाट होटलमा छोडिएपछि कोठामा उक्लिए । तर, कोठा छिर्दाछिर्दै छातीमा असहजता महसुस भएपछि रिसेप्सनमा फोन गरे । होटलले अस्पताल पु¥याउने व्यवस्था त मिलायो तर बाटैमा निधन भयो ।   

उनको पार्थिव शरिर सोमबार दिउँसो १२ बजे काठमाडौं ल्याइयो । लगत्तै पशुपति आर्यघाटको पुरानो शवदाहस्थल (दाउरामा) अन्त्येष्टि गरियो । उनी पाल्पाको तानसेन– २ मा २०२६ साल वैशाख १५ गते जन्मिएका थिए । विशिष्ट उडान सेवाअन्तर्गत ०५६ वैशाख २ गतेदेखि एभिएसनमा खटिएका हुन् । रिफ्रेसर तालिम लिए पनि अस्वाभाविक मोटोपना र मुटुको समस्याका कारण उडानमा सहभागी हुन भने छाडिसकेका थिए ।  

टिप्पणीहरू