​पतिपत्नीको झगडा, खान तगडा

अदालतमा हुने नीतिगत भ्रष्टाचार र गलत आदेशउपर कडाइका साथ छानबिन हुन थालेसँगै न्यायाधीशहरूले नै राजीनामा दिँदै उन्मुक्ति लिँदै गरेकै बेला राजधानीकै एक अदालतका स्रेस्तेदारविरुद्ध घुस लिएको उजुरी परेको छ । भक्तपुर जिल्ला अदालतका घनेन्द्र अधिकारीले मुद्दा मिलाइदिन्छु र जिताइदिन्छु भनी सम्बन्धविच्छेदको मुद्दामा प्रतिवादीसँग ५० हजार असुलेको उजुरी परेको हो । छानबिन र कारबाहीका लागि प्रधान न्यायाधीशलाई संबोधन गर्दै सर्वोच्च अदालतमा दर्ता गराइएको निवेदनमा लेखिएको छ– वादीले तारेख गुजारेको र प्रतिवादीले स्वतः मुद्दा जित्ने अवस्थामा घनेन्द्रले प्रतिवादीका आफन्त महेन्द्र प्रजापतिमार्फत न्यायाधीशको नाम भजाएर मुद्दा जिताइदिन्छु भनी साउन १५ गते ५० हजार खाएका हुन् । 

वादी रमेश कसलवत र प्रतिवादी तुल्सीदेवी भैल रहेको मुद्दा नम्बर ०७५–सिपी–१०१८ को सम्बन्धविच्छेदसम्बन्धी झगडामा वादीले तारेख गुजारेकी थिइन् । उनले मुद्दा छाडिदिएपछि स्वतः प्रतिवादीले जित्ने व्यवस्था रहेको भए पनि घनेन्द्रले झगडियाको अज्ञानता र सोझोपनको फाइदा उठाई ५० हजार लिएको बताइन्छ । न्यायाधीश रमेशप्रसाद अधिकारीको फाँटमा रहेको यो मुद्दामा वादीले नै तारेख गुजारेपछि स्वतः खारेज हुने भए पनि जिताइदिने भन्दै अधिकारी थरकै स्रेस्तेदारले ५० हजार लिएको आरोप लागेको हो । 

घनेन्द्र देव गुरुङ कानुनमन्त्री भएको बेला ०६५ सालमा काठमाडौं जिल्ला अदालतमा बस्दा माओवादी हुँ भन्दै अतिरिक्त कमाइ गर्न सकिने तहसिल शाखामा बसे । दुई वर्षमा  प्रावधानबमोजिम सरुवा भयो तर प्रभाव प्रयोग गरी त्यहीं जमे । त्यहीं बस्दा अदालतको कोष हिनामिना गरेको आरोपमा अहिलेसम्म पनि सफाइ लिएका छैनन् । 

बझाङ जिल्ला अदालत भवन करोडौं लागतमा निर्माण हुन लागेको थाहा पाउनासाथ बसिरहेको कार्यालयमा दुई वर्ष नपुग्दै गए । दुई वर्ष पुगेपछि नियमित सरुवा त भयो तर रमाना नबुझी एक वर्षजति बसेर निर्माण सम्पन्न भएपछि मात्र हिँडेका हुन् । अहिले पनि पोस्टिङ भएको तीन महिनामै वरिष्ठ उपसचिवहरूलाई जिल्याएर भक्तपुर जान सफल भएका छन् । भक्तपुर जिल्ला अदालतको १३ करोडजतिको नयाँ भवन निर्माण भइरहेको छ । 

टिप्पणीहरू