​समातिने त्राशले ज्यान सखाप

मुलुकको कार्यकारीमा भ्रष्टाचारविरुद्ध सामान्य प्रतिबद्धता र सोअनुरूपको व्यवहार देखिनासाथ खराब आचरण भएका र भ्रष्टाचारमा संलग्न राष्ट्रसेवकहरूले आत्महत्या गर्ने क्रम बढेको छ ।

यसको पछिल्लो कडी हुन्– राष्ट्रिय योजना आयोगका सुब्बा बच्चुराम केसी । तत्कालीन युवराज दीपेन्द्रवीरविक्रम शाहको (लजिस्टिक) खाना व्यवस्थापन गर्ने जिम्मा पाएका बच्चु दरबार हत्याकाण्डपछि निजामती कर्मचारीको रूपमा परराष्ट्र मन्त्रालयमा खटिए । दरबार हत्याकाण्डका प्रत्यक्षदर्शी उनी एक मात्र जीवित सर्वसाधारण थिए । परराष्ट्रको राहदानी शाखामा कार्यरत रहँदा चिनजान र हिमचिम स्याङ्जाका किशोर श्रेष्ठसँग भयो । हाल राष्ट्रपति निवास रहेको भवनमा परराष्ट्र मन्त्रालय भएको बेला किशोर बाहिरपट्टि सटर भाडामा लिई राहदानी लिन आउने सर्वसाधारणका लागि फाराम भरिदिनेदेखि फोटो टाँस्ने र हस्ताक्षर, ल्याप्चे लगाई, शुल्क बुझाउनेजस्ता काम गरिदिन्थे । त्यसैबेला हो किशोरले १३ वटा राहदानी फाराम, नागरिकता र फोटोसहित बच्चुलाई उपलब्ध गराएको । राहदानी प्राप्त गर्न चाहिने सबै प्रक्रिया सकेर आवश्यक शुल्क बुझाई रसिद लिने काम पनि बच्चुले गरे । उनले नै सबै प्रक्रिया पूरा गरेपछि राहदानीमा कृष्णबहादुर थापाले हस्ताक्षर गरे । 

केही समयपछि मलेसियाको एयरपोर्टमा ९ जना बंगलादेशी समातिए । ती सबै बच्चु र किशोरले दिलाएका राहदानीवाहक थिए । उनीहरूलाई मलेसियाले नेपाल फर्काइदियो । लगत्तै बच्चु र किशोरलाई सरकारी छाप र दस्तखत किर्ते गरी फर्जी पासपोर्ट दिन सहयोग गरेको अभियोगमा मुद्दा चलाइयो । काठमाडौं जिल्ला अदालतले किशोरलाई सफाइ, बच्चुलाई ३ वर्ष कैद र १४ हजार जरिवानाको फैसला सुनायो । किशोरविरुद्ध सरकार र बच्चु आफैं पुनरावेदनमा गए । पुनरावेदनले बच्चुको फैसला सदर गर्दै किशोरलाई पनि ३ वर्ष कैद तोकिदियो । 

किशोर र बच्चुले आंशिक उल्टी भएकाले फेरि सफाइ पाऊँ भनी सर्वोच्चमा पुनरावेदन गरे । सपना प्रधान मल्लसहितको इजलासले पुनरावेदन अदालतकै फैसलालाई सदर गरिदियो । अदालतमै फैसला कार्यान्वयनको लागि तैनाथ सुरक्षाकर्मीले सो फैसलाको पूर्णपाठ आएपछि मात्र बच्चुलाई अदालतमा बुझाउने समझदारी भयो । बच्चु चाहन्थे– पेन्सन भएपछि मात्र प्रहरीले समाएर अदालतमा बुझाओस् । यसो भएको खण्डमा जागिर त जान्थ्यो नै तर निवृत्तिभरण भने पाइन्थ्यो । यसका लागि सिआइबीका अधिकारीहरूलाई ४ वर्षभन्दा बढी समय रिझाउन सके । अलिक रसिक स्वभावका बच्चु महिलासँगको सम्बन्धका कारण पनि झमेलामा फसिरहन्थे ।

केही महिनाअघि पनि एक अविवाहित महिलासँगको सम्बन्धका कारण निकै तनावमा रहेका उनले राम्रै रकम खर्चिएर झमेला सुल्झाएका थिए । सानो जागिर तर मिलाइरहनुपर्ने झन्झट धेरै भएपछि सिआइबीलाई भनेबमोजिमको सहयोग गर्न सकेनन् । चाँडै समाएर बुझाइने चेतावनी आइसकेको र मुखबुझो लगाउन नसकिने अवस्था भएपछि उनले गत हप्ता सिंहदरबारस्थित आफ्नै कार्यालयको बिल्डिङबाट हामफालेर प्राण त्याग गरेको हुनसक्ने कानुनी र पारिवारिक स्रोतले बताएको छ । आत्महत्याको अघिल्लो दिन घर गएको भए पनि सिआइबीबाट समातिने सम्भावना भएकाले त्यसदिन नगएको खबर छ ।

टिप्पणीहरू