​जसको जे जिम्मा हो, त्यसमै राम्ररी जुटौं

सुरक्षा परिचालन अत्यन्त संवेदनशील विषय हो, यो स्फुर्त भए देश र जनता सबै सुरक्षित हुन्छन् । लापरवाही भए आफूसहित सबै एउटै जहाज पल्टिएसरि सकिन्छन् !

पछिल्लो समय विकसित प्रवृत्ति हो, अपराध अनुसन्धानमा परिपक्वता नहुनु वा गैरप्रहरी जमातको असहयोगका कारण प्रहरी सफल नहुनु । सुनकाण्ड, निर्मला काण्ड हुँदै पूर्वराजदूत केशव झाको हत्या प्रकरणसम्म प्रहरी अनुसन्धान फितलो हुनुका पछाडि मनोबल, अनुसन्धान दक्षता र प्रविधि परिचालनसम्मका विषय जोडिन्छन् । निर्मला प्रकरणमा प्रहरी अनुसन्धानलाई माथ खुवाउने गरी अनेक रंग, ढंग र अंगका अनुसन्धानकर्मी निस्किए । अनुसन्धान गर्न गएका प्रहरी नै कारवाहीमा परे । ३३ किलो सुनकाण्डमा अण्डर कभर अपरेशनका विधि र मान्यताअनुसार अनुसन्धान गरिएका कुरा सिनेमाझैँ सार्वजनिक भयो, प्रहरीको मनोबल गिराइयो । अनि, ती प्रहरीलाई जेलको हावासम्म खुवाइयो ।  

नेपाल प्रहरीसँग फरेन्सिक डिजिटल ल्याबको सुविधा उपलब्ध छ । यसका बाबजुद डिएनए परीक्षण मिलिरहेको हुँदैन । घटनास्थलबाट संकलित ¥याल, सिंगान, खकार, वीर्यजस्ता प्रमाणमा अर्थोक मिस्सिएर संक्रमित भयो भने के हुन्छ ? अवश्य पनि वास्तविकता दिग्भ्रमित हुन्छ । सञ्चार प्रविधिको मामिला पनि त्यस्तै हो । संवेदनशील विषयमा त झन् यससम्बन्धी कुनै पनि सामग्रीउपर छेडखानी गर्नैहुन्न । त्यो ठाडै बद्नियम हो । र, खराब नियत उदांगो भइछाड्यो । प्रहरीको डिजिटल ल्याबले रगतका आधारमा व्यक्तिका सम्पूर्ण शारिरिक अंगको अवस्था बताउन सक्छ । अडियो, भिडियो सामग्रीका विस्तृत विवरणसँगै कम्प्युटर तथा विभिन्न प्रकारका आधुनिक डिभाइसका सम्पूर्ण गतिविधिमाथि निगरानी, अनुसन्धान र तथ्य संकलन गर्ने सुविधा ऊसँग उपलब्ध छ ।

उदाहरणका लागि, फेसबुक वा मोबाइलबाट अपराध जनिने कुनै काम भयो भने त्यसबारे उजुरी परिसकेपछि प्रयोगकर्ताले डिलिट गरिसकेँ भनेर सुख पाउने अवस्था छैन । प्रहरीसँग उपलब्ध ल्याबले सबै प्रकारका डिभाइसको सन्देशलाई रिकभर गर्ने क्षमता राख्छ । फेसबुकमा पोष्ट गरिएको आपत्तिजनक स्ट्याटस आधा सेकेण्डमै डिलिट गरे पनि त्यो रिकभर हुन्छ । ट्वीटर, इन्स्टाग्राम, इमो, ह्वाट्स एपका सामग्री पनि प्रहरीको अनुसन्धान काबुभित्र छ । अडियो र भिजुअलहरु कतिबेला खिचियो भन्नेदेखि सम्पादन भएको विवरणसमेत त्यसले रिकभर गर्छ । तर, अनुसन्धान प्रविधि छ भन्दैमा सफल होइन्छ भन्ने छैन । प्रविधि परिचालन गर्ने जनशक्ति, त्यसको मनोबल, इच्छाशक्ति र कार्यक्षमतामा अनुसन्धानको सफलता र असफलता निर्भर हुन्छ । आखिर प्राविधिक उपकरण मानिसले नै अपरेट गर्नुपर्ने हो । गलत तथ्यका आधारमा प्रविधिबाट अनुसन्धान गरियो भने सही निश्कर्ष नआउन पनि सक्छ ।

यसरी सुरक्षाकर्मीलाई उच्च मनोबलयुक्त बनाउनुपर्नेमा विभिन्न घटना र सन्दर्भले उनीहरुलाई न्युनमनोबलमा झारिएको छ । चुनौति बहन गरेर जिम्मेवारीमा उत्रिने प्रहरीले आफ्नो जागिर र जीवनको ग्यारेण्टी नपाउने स्थिति भयो भने जतिसुकै आधुनिक प्रविधि भिœयाए पनि केही अर्थ हुँदैन ।

टिप्पणीहरू