प्रधानमन्त्रीप्रति अविश्वास

प्रधानमन्त्री केपी ओलीले भनिरहनुभएको छ म ठीक छु, मेरो स्वास्थ्य ठीक छ । जब प्रधानमन्त्री आफैंले म ठीक छु भनिसकेपछि त्यसलाई नपत्याउने कुरै भएन । सबैले पत्याए । जनताले पत्याए । हामीले पनि पत्यायौँ । तर, हामी सबैले पत्याए पनि उहाँलाई नपत्याउने मानिसहरूचाहिँ अझै धेरै रहेछन् । अरुतिर किन जाने, उहाँको आफ्नै पार्टीभित्र त्यस्ता मानिसको संख्या धेरै रहेछ । 

प्रधानमन्त्रीले म ठीक छु भने पनि उहाँको भनाइलाई नपत्याएका ती मानिस साँच्चै उहाँ ठीक हुनुभएको हो कि होइन बुझ्न आफैं सिंगापुरतिर लाग्न थालेका छन् । त्यो पनि एक जना, दुई जना होइन बथानका बथान । 

प्रधानमन्त्री आफैंले आफूलाई ठीक छ भन्दाभन्दै पनि उनीहरू सिंगापुर कुदिरहेका छन् । के यो प्रधानमन्त्रीप्रतिको अविश्वास होइन ?

प्रधानमन्त्रीले म ठीक छु भने पनि ‘होइन, हामीलाई त तपाईंको पत्यार लाग्दैन, हामी आफैं हेर्न आउँछौं’ भनेर गएका होइनन् र उनीहरू ? 

बडो दुःख लाग्छ, प्रधानमन्त्रीलाई अविश्वास गर्नेहरू उहाँकै छेउछाउ झुमिरहेका रहेछन् । अनि प्रधानमन्त्रीले उनीहरूलाई चाहिँ पत्याइदिनुपरेको छ । 

टिप्पणीहरू