​माल छ, चाल पाउने गरे कसो होला ?

हुलाकी राजमार्गसहित महŒवाकांक्षी भारतीय परियोजना लामो समयदेखि अवरुद्ध छन्, नेपालीपक्षकै वेवास्ताका कारण । यतिबेला नेपालमा चीनको तरंग छाएको छ । विदेशमन्त्री वाङ् यी स्वदेश फर्किएका छन् । विदेशीले दिएका आश्वासन, कार्यान्वयन गर्न चाहेका विषय र त्यसबाट हामीले हासिल गर्ने उपलब्धी सुन्दा कथाझैँ लाग्छ । वास्तविकता हो कि, विदेशीका परियोजना आउँछन् । हाम्राले कमिशन, ढिलासुस्ती गरिदिँदा आएका विदेशी टिक्दैनन् । दाताहरु हैरान भएर फर्किने क्रम देखिएको छ ।

चिनियाँ विदेशमन्त्री वाङको यसचोटिको भ्रमणलाई चिनियाँ राष्ट्रपति सि जिनपिङको आसन्न भ्रमणको तयारीका रुपमा पनि हेरिनु स्वाभाविक थियो । तर, विदेशमन्त्रीकै भ्रमणले बिआरआईलगायतका विषयमा चीनले प्रस्तुत गरेको सकारात्मक आशयबाट बुझ्न सकिन्छ, चीन नेपालसँगको सम्बन्ध विस्तारप्रति झन् बढी आतुुर छ । नेपालबाट राष्ट्रपति विद्या भण्डारीले यसै वर्ष गर्नुभएको चीन भ्रमणमा उताको राष्ट्रपतिलाई निमन्त्रण दिइए पनि अहिलेसम्म मिति तय भएको छैन । तर, विदेशमन्त्रीको भ्रमणपछि केही कुराहरुको स्पष्ट संकेत भने मिलेको छ । जस्तो कि, ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटीमा नेपाल र चीन जोडिएसँगै अब हिमाली क्षेत्रको पर्यावरण एवं जलवायु परिवर्तनसम्बन्धी परियोजनासहित रेल्वे सञ्जाल विस्तारमा चीनले योगदान गर्ने कुरामा विश्वास गर्न सकिन्छ । नेपाल बिआरआईसँग जोडिएकाले सम्पर्क सञ्जाल विस्तार र विश्व बजारको अर्थतन्त्रसँग नेपालको सोझो सम्बन्धलाई हाम्रो आर्थिक रुपान्तरणसँग गाँसेर हेर्न सकिन्छ । यसमा शंका छैन कि, नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय स्वाधीनतामा चीनको सधैं समर्थन छ । नेपालले पनि निरन्तर एक चीन नीति अबलम्बन गर्दै आएको छ ।

भारतसँगको नेपालको सम्बन्ध झन् सामाजिक, सांस्कृतिक र ऐतिहासिकताका दृष्टिले उत्तिकै महŒवपूर्ण छ । दुई ठूला छिमेकीले दिएका अवसरलाई हामीले चिन्ने हो र उपयोग गर्ने हो भने हाम्रो समृद्धि धेरै टाढा छैन । तर, ‘माल पाएर चाल नपाएको’ भनेझैँ कमिशन र ढिलासुस्तीमै रमाउने भएपछि विदेशीहरु नै हामीबाट टाढा हुने क्रम जारी छ । यस्ता कमजोरी दुई तिहाईको वर्तमान सरकारले सच्याउने आशा गरौँ ।

टिप्पणीहरू