​शरीरका शत्रुहरु सोत्तर

सिंगापुरबाट शरीरभित्रका विपक्षी दलहरु (एन्टीबडी) लाई निमिट्यान्न पारी स्वदेश फर्किनुभएका प्रधानमन्त्री केपी ओलीमा अब कुनै प्रकारको गम्भीर स्वास्थ्य समस्या त छैन । तर, पहरेजलाई ख्याल नगर्दा आइलाग्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिकित्सकहरुले अझै निगरानीमा राखेका छन् । सम्पूर्ण असर हेर्न अझै एक महिना लाग्नसक्छ । हिजो प्रमलाई भेटेर फर्किनुभएका डा. दिलिप शर्माकाअनुसार उहाँ फिट एण्ड फाइन हुनुहुन्छ । र, सबै काम बालुवाटारमै बसेर गरिरहनुभएको छ ।

सिंगापुरबाट फर्किएपछि प्रम एक दिन सिंहदरबार पुग्नुभयो, भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म बिच्छ्याइएको पेट्रोलियम पाइपलाइनको संयुक्त रुपमा स्वीच अन गर्ने कार्यक्रमका लागि । त्यसदिन मोदीले हैदरावादबाट भिडियो कन्फ्रेन्समार्फत स्वीच थिचेपछि बरौनीमा तेलको पाइप ‘अन’ हुने र सिंहदरबारबाट हाम्रा प्रधानमन्त्रीले रिसिभ स्वीच थिचेर उताबाट आएको तेल स्वीकार गर्ने कार्यक्रम थियो । त्यसबाहेक धेरै संख्यामा मानिसहरु जम्मा हुने, धुँवा, धुलो र हावा चल्ने ठाउँमा नजान चिकित्सकहरुले सुझाव दिएका छन् । यसअघि चिकित्सकहरुको सुझाव बेवास्ता गर्दै उहाँ धपेडी र अनिंदो हुने गरी कार्यक्रम र बाक्लो भेटघाटमा पनि सरिक हुनुभयो । तर, सिंगापुरबाट फर्किएपछि स्वास्थ्यबारे सचेत हुनुभएको छ । फलतः भेट्नैपर्ने मानिसलाई मात्र बालुवाटारमा भेट्ने गर्नुभएको छ । थुप्रै मन्त्रीले समय मागेका छन् । तर, कामको महŒवका आधारमा मात्र समय दिने गर्नुभएको छ । 

सिंगापुरमा स्वास्थ्योपचार गरिरहेको बेला पनि प्रमले पार्टी र देशको चिन्ता गर्न छाड्नुभएन । मन्त्रिपरिषद्को बैठकमा भिडियो कन्फ्रेन्समार्फत सहभागी हुनुभयो भने पार्टी कामका लागि प्रस्तावित उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतम र अर्का अध्यक्ष प्रचण्डलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएर जानुभयो । आफू उपस्थित हुनुपर्ने सरकार र पार्टीका सबै काममा उहाँले यस्तै वैकल्पिक व्यवस्था गर्न थाल्नुभएको छ । जस्तो कि, अस्ति सोमबार धुम्बाराही पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर स्मृति कार्यक्रममा जाने तयारी थियो । तर, चिकित्सकहरुले कराएपछि जानुभएन । 

टिप्पणीहरू