​पूर्वदशैँ

सरकारले बजार अनुगमनलाई तीव्र बनाएको छ । यो अनुगमनले बताउँछ, देशमा दशैँ शुरु हुन लागेको छ । दशैँको गन्ध आएको छ । तर, जो अनुगमनमा जान्छ, उसलाई चाहिँ दशैँ आइसकेको हुन्छ । 

अनुगमन भनेको अहिले दशैँ पर्वमा जोडिन आएको नयाँ चाडजस्तै भएको छ । जस्तो कि दशैँमा खसी काट्नै पर्छ, टीका लाउनै पर्छ, काठमाडौंका नेवार जातिले कूछिभ्वय् र स्याकोट्याको खानै पर्छ, त्यस्तै सरकारले अनुगमन पनि गर्नै पर्छ । अनुगमन पनि अब चाडकै एउटा अंग बनिसकेको छ भन्दा फरक नपर्ला । यदि अनुगमन भएन भने दशैँ नै आएको छैनजस्तो हुन्छ । अतः अनुगमनलाई सरकारले दशैँ ताकैमा मनाउने गरी शुरु गरेको नयाँ चाड भन्दा हुन्छ होला । 

अहिले त्यो ‘चाड’ शुरु भइसकेको छ । पसल–पसलमा, बजार बजारमा अनुगमनको चाड शुरु हुँदै छ । चाड आएपछि अलि अलि खर्च त गर्नै प¥यो । अब यी पसले, बजारवालाले पनि थोरबहुत खर्च गर्नुपर्ने हुन्छ । खर्चै नगरे चाड कसरी आउँछ ? दशैँको शुभकामना त दिनु नै छ, त्योभन्दा अघि अनुगमनको उपलक्ष्यमा सम्पूर्ण अनुगमनकर्ताको सफल दशैँका लागि शुभकामना ! 

टिप्पणीहरू