​के फेर्ने ?

प्रधानमन्त्रीको स्वास्थ्यबारे अहिले पूरा देश चिन्तित छ । त्यो स्वाभाविक पनि हो । प्रधानमन्त्रीजस्तो व्यक्तिको स्वास्थ्य, सानोतिनो कुरा होइन । उहाँको स्वास्थ्यबारे गरिएको अनेक परीक्षणबाट अन्तिममा एउटै मात्र प्रश्न उठेको छ – अब प्रधानमन्त्रीज्यूले डायलासिस गर्ने कि मिर्गौला फेर्ने ?
मिर्गौला पहिले पनि फेरेकै हो । आवश्यक परे फेरि फेर्न सकिन्छ । अहिले चिकित्सकको ध्यान यतातिर पनि गइरहेको छ । 

उता, पार्टीका केही नेताको ध्यान भने अर्कैतिर छ । उनीहरू मिर्गौला होइन, प्रधानमन्त्री नै फेर्ने बात गरिरहेका छन् । केही अनलाइनवाला विश्लेषकले यतातिर पनि कलम पनि चलाइसके । केहीले चलाउनेवाला छन् । उनीहरू चाहन्छन्, अब मिर्गौला मात्र फेरेर पुग्दैन, प्रधानमन्त्री नै फेर्नुपर्छ । मिर्गौैला फेर्ने हो भने नयाँ मिर्गौला दान गर्ने मान्छे चाहियो । त्यो पनि नातागोताकै । त्यसैले नयाँ मिर्गौला पाइएला नपाइएला भन्न सकिन्न । तर, प्रधानमन्त्री फेर्ने हो भने नयाँ प्रधानमन्त्रीचाहिँ फालाफाल पाइन्छ । जतिवटा भन्नुहुन्छ त्यतिवटै । विभिन्न साइजका, विभिन्न रंगका, विभिन्न आकारका । अब सजिलै पाइने चिज फेर्न छाडेर गाह्रो चिज किन फेर्ने ? कुरा त गलत होइन नि, कि कसो ? 

टिप्पणीहरू