सरकार प्रमुखले यति कुरा सुनिदिए…
- विराट अनुपम
असोज २६ देखि १० कात्तिकसम्म जीवनमै पहिलोपटक हिमाली पदयात्रामा थिएँ । रामेछापको मन्थली विमानस्थलबाट लुक्ला ओर्लेर फाकदिङ, नाम्चे, तेङ्बोचे, पाङ्बोचे, देङ्बोचे, लोबुचे हुँदै गोरकक्षेप पार गरी हप्ता दिन बढीको हिँडाइमा सगरमाथा आधारशिविर पुग्दा हिमाली सौन्दर्यसँगै देखेको शेर्पा समुदायको व्यावसायिकता, इमान्दारी र ब्राण्ड हो ।
टेन्ट बोकेर मात्रै पुग्न सकिने आधारशिविरमा हरेक दिन ओत लाग्ने र मज्जाले बस्न सकिने टि हाउसहरू शेर्पाले बनाएका छन् । खुम्बुका भित्तामा विभिन्न बौद्ध धर्मका कलाकृति कुँदेर नेपाली मौलिकतालाई मायाले बचाएका छन् ।
सगरमाथा आधारशिविरबाट आएपछि तिहार मनाई पोखरामा विभिन्न साहसिक पर्यटक प्याकेजको आनन्द लिन हिँडँे । प्याराग्लाइडिङ, अल्ट्रालाइट, हटएयर बेलुन, स्काइ डाइभिङदेखि जीप फ्लायर गरेपछि मोबाइलमा एक फेसबुक विज्ञापन आयो । काठमाडांैको बिजुलीबजार, थापा गाउँस्थित नेपाल माउन्टेन एकेडेमीले ट्रेकिङ गाइड तालिम, परीक्षा र लाइसेन्सको आवेदन मागेको थियो । प्रसिद्ध पर्यटन व्यवसायी लाक्पा फुटी शेर्पा अध्यक्ष भएको एकेडेमीले दिने ३५ दिने कोर्समा म इच्छुक भएँ । र, इटहरी आउने म काठमाडांैतर्फ लागँे । फारम भरँे । अन्तर्वार्ता दिएँ । नाम निस्कियो ।
मंसिर १५ देखि पुस १९ सम्म एक दिन पनि बिदा नभई कोर्सका पढाइ भए । पढाइ अत्यन्तै राम्रो । सिकाइ अत्यन्तै प्रेरणादायी । विज्ञहरूको अनुभव । समयमा भएको कडाइदेखि प्रशिक्षकको व्यावसायिकताले थप राम्रो भयो । सबै कुरा राम्रो भएर पनि एक कुरा भने सोचेजस्तो भएन । अर्थात्् शेर्पा समुदायका हिमाल चढेका, हिमाल पढेका सरहरूले अधिकांश कोर्स सिकाउने अनुमान थियो । भयो ठीकविपरित ।
छिरिङजाङ्बो शेर्पा र पेम्बागेल्जे शेर्पाजस्ता दुई दक्ष हिमाली प्रशिक्षक भएर मात्रै शेर्पा सरहरूसँग पढ्ने प्यास केही मेटियो । ३५ दिने कोर्समा करिब पाँच दिन मात्रै उहाँहरूसँग पढ्ने मौका मिल्यो । १४ पटक आठ हजार मिटरमाथिका हिमाल पुग्नुभएको छिरिङ सर १२ पटक अक्सिजनबिना चढ्नुभएको हो । पेम्बा सरले विश्वको सर्वोच्च शिखर सगरमाथासँगै अत्यन्तै कमले मात्रै चढ्ने पाकिस्तानको दोस्रो अग्लो हिमाल माउन्ट केटु पनि चढ्नुभएको छ ।
शेर्पाको ब्राण्डमा शैक्षिक लगानी गरौँ
नेपाल माउन्टेन एकेडेमीमा अल्पसंख्यक शेर्पा सरहरू हुनुका दुई कारण छन् । पहिलो, शेर्पा युवाहरू हिमाल आरोहणसँगै युरोप, अमेरिकाजस्ता देशमा आर्थिक रूपमा राम्रो भएकाले उतै सेटल छन् । दोस्रो कारण शेर्पा समुदायका हिमालयन विषयमा अध्ययन गरेर विज्ञ बन्न खोज्ने निम्न आय भएकाहरूलाई सरकारको हौसला छैन ।
नेपाल माउन्टेन एकेडेमीको सोह्रौं ब्याचका हामी विद्यार्थीमध्ये केही मेरा शेर्पा आरोही साथीको पनि दुःखेसो त्यही थियो । सगरमाथा आरोहण गरिसकेका कासाङ नाम्ग्या शेर्पा र मनास्लु शिखर चुमेका दा लाक्पा शेर्पा दुवैले नेपालमा राम्रो अवसर नभएको बताए । एसएलसीसम्मको अध्ययन गरेका कासाङ सरकारको छात्रवृत्ति पाए आरोहणसँगै यसबारे उच्च शैक्षिक अध्ययन गर्न चाहन्छन् । निम्नमध्यम वर्गीय परिवारमा ताप्लेजुङमा जन्मेका कासाङ भन्छन्, ‘आफैंले पढ्न पैसा पुग्दैन । अवसर पाए पढ्छौँ ।’
एकपटक फ्रान्सेली सेनामा भर्नाको प्रयास गरेर विदेशिन खोजेका दा दाक्पा पनि नेपाली हिमालको औपचारिक अध्ययन गर्न चाहन्छन् । हिमालको उच्च अध्ययन गरेर नेपालमै पैसा कमाउन चाहन्छन् । तर, त्यो विकल्प छैन । ‘मलाई कम्तीमा मासिक एक लाख कमाइ भएन भने विदेशिनै पर्छ’, एक चिया गफमा दा लाम्पा भन्दै थिए, ‘ब्याचलर र मास्टर्सको माउन्टेनियरिङ कोर्स निःशुल्क छात्रवृत्तिमा पढ्न दिने र जागिर सुनिश्चित हुने हो भने नेपाल बस्न मन छ ।’
दा दाक्पा र कासाङजस्ता हिमाल अध्ययन गर्न चाहने युवा पुस्तालाई त अवसर छैन । पेम्बा गेल्जेल शेर्पाजस्ता दक्ष हिमालयन प्रशिक्षकसमेत नेपालमै बस्नेमा ढुक्क छैनन् । पासाङ ल्हामु प्रतिष्ठानको धुम्बाराहीस्थित वाल क्लाइम्बिङ कोर्स सिकाउने क्रममा चियागफ गर्दै पेम्बा सरको भनाइ थियो– यहीँ बस्ने मन हो । तर, राम्रो कमाइ भएन भने यहाँ मात्रै बसेर सकिन्न ।’
तेन्जिङ नोर्गेको उदाहरणबाट सिकौँ
सन् १९५३ मे २९ मा विश्वको सर्वाेच्च शिखर सगरमाथा चढेका एडमण्ड हिलारीले आफ्नो न्यूजिल्याण्डको राष्ट्रियता परिवर्तन गरेनन् । तर, नेपालबाट उनीसँगै सगरमाथा आरोहण गरेका तेन्जिङ नोर्गे भने नेपाली राष्ट्रियता फेर्न बाध्य भए । उनलाई राम्रो आर्थिक सहयोग गर्ने नाममा भारतले नागरिकता दियो । इज्जत दियो । सन् १९५४ नोभेम्बर ४ मा भारतले दार्जिलिङमा हिमालयन पर्वतारोहण संस्था स्थापना ग¥यो । तेन्जिङ र हिमाल आरोहणको संग्रहालय बनायो । हिमाल आरोहणदेखि रक क्लाइम्बिङजस्ता सीप दिने उक्त संस्थामा तेन्जिङ प्रशिक्षक बने । ७१ वर्षको उमेरमा १९८६ मे ९ मा दिवंगत भएका तेन्जिङलाई गरेको लगानीभन्दा धेरै प्रतिफल लियो भारतले । अहिले पनि तेन्जिङको अगुवाइमा बनेको दार्जिलिङको जुलोजिकल पार्कमा वार्षिक ५ लाख आगन्तुक आउने तथ्यांक छ । हरेक आगन्तुकबाट ६० भारु. उठाउने पार्कले टिकटबाट मात्रै वार्षिक तीन करोड आम्दानी गर्छ ।
नेपालले त्यहीबेला यस्तो आइडिया ल्याएको भए आज तेन्जिङ भारतीय हुने थिएनन् । तेन्जिङ त एक उदाहरण मात्रै हुन् । हाम्रा निर्मल पुर्जादेखि कामिरिता शेर्पाजस्ता महान् आरोहीसँगै युवा पुस्ताका उदीयमान आरोहीलाई नेपाल सरकारले अहिलेसम्म पनि ब्रान्डिङ र व्यावसायिक बनाउन सकेको छैन ।
सन् २००२ मा नेपाल सरकारले स्थापना गरेको नेपाल माउन्टेन एकेडेमीले केही पहल त गरेको छ । विश्वमा पहिलोपटक पर्वतारोहणको स्नातक कोर्स सन् २०१७ बाट शुरु भएको छ । साहसिक पर्यटनको स्नातकोत्तरको कोर्स सन् २०१९ बाट शुरु भएको छ । तर, यत्तिले पुग्दैन । दक्ष शेर्पा प्रशिक्षक, लेक्चररलाई नेपालमै टिकाएर राख्न सबैखाले पहल गर्नुपर्छ । नत्र फेरि तेन्जिङ प्रसंग दोहोरिन सक्छ ।
खुम्बुको आम्दानी उत्पादनमा खर्च गरौँ
सगरमाथा क्षेत्रस्थित खुम्बु पासाङ ल्हामो गाउँपालिका सबैभन्दा धेरै प्राकृतिक स्रोतबाट आम्दानी गर्ने पर्यटकीय गाउँपालिका हो । यो गाउँपालिकाले हालसालै प्राकृतिक श्रोतबापत आएको ५० प्रतिशत कर संघीय सरकार र बाँकी २५/२५ प्रतिशत स्थानीय सरकार र प्रदेश सरकारलाई बाँड्ने प्रावधानअनुसार ११ करोड ५० लाख ३१ हजार ९ सय १४ रूपैयाँ आम्दानी गरेको छ । यसबाहेक विदेशी पर्यटकबाट प्रतिव्यक्ति दुई हजार रूपैयाँ उठाउँछ । पछिल्ला वर्षमा औसत ५० हजार विदेशी खुम्बु पुगेका छन् । अर्थात् पर्यटकबाट मात्रै १० करोड वार्षिक आम्दानी छ, खुम्बुको । यी दुवै जोड्दा २१ करोडभन्दा धेरै हुन्छ । यो रकम प्रदेश १ को महानगर विराटनगरकै हाराहारी हो भने उपमहानगर इटहरी र धरानको आन्तरिक आम्दानीभन्दा धेरै हो ।
एउटा हिमाल बेच्ने गाउँपालिकाले गर्ने यस्तो आम्दानी हिमाली शैक्षिक जनशक्ति उत्पादनमा प्रयोग गर्न सकिन्छ । सामान्य छात्रवृत्तिदेखि विश्वस्तरीय ब्राण्ड भएका आरोहीलाई नेपालमै टिकाएर उनीहरूले विदेशमा कमाउनेजत्तिकै रकम गाउँपालिकाले सहयोग गर्न सक्छ । गाउँपालिकालाई प्रदेश र संघीय सरकारले पनि मद्दत गर्न सक्छन् । जसरी एउटा भन्सार, राष्ट्रिय बैंकमा काम गर्ने सरकारी कर्मचारीलाई विशेष सुविधा हुन्छ ठीक त्यसैगरी हिमालका ब्राण्डेड जनशक्तिलाई नेपालमै राखी विश्वभरका प्रशिक्षार्थी, विद्यार्थी ल्याएर पढाउन सरकारले ध्यान दिनुपर्छ ।
आज खुम्बु पासाङ ल्हामो गाउँपालिकाको सगरमाथा भएको वडामा गैरशेर्पालाई वडाध्यक्ष बनाएर खुम्बुले उदारता देखाएको छ । इटहरी नजिकै झुम्कामा पुस्तैनी घर भएका लक्ष्मण अधिकारीको एक मात्रै घर छ खुम्जुङमा । तर, उनलाई खुम्जुङले पत्यायो । वडाध्यक्ष बनायो । उनी पनि खुम्जुङ र सगरमाथा क्षेत्रको विकासमा कटिबद्ध भएका छन् । अब यस्तैगरी, खुम्बु तथा सोलुका शेर्पा युवालाई छात्रवृत्ति दिने र नेपालमै टिकाउने कुरामा खुम्बु उदार हुनुपर्छ । हिमालय प्रशिक्षण केन्द्र, स्कि प्रशिक्षण केन्द्र, हिमालयन क्याम्पदेखि विश्वविद्यालय खोलेर यहीँ उनीहरूको क्षमता प्रयोग हुनुपर्छ ।
अनि मात्रै हाम्रो देशबाट विश्वका हिमाल चढाउने ब्राण्डेड शेर्पा हिमाल पढाउन पनि ब्राण्डेड हुनेछन् । नेपालमा आफ्नो दक्षताअनुसार पैसा नभएर बिदेसिन बाध्य उनीहरू नेपालमै विदेशी ल्याएर आफ्नो दक्षता देखाउन सफल हुनेछन् ।
टिप्पणीहरू