हिंसापीडितहरुलाई एउटै बाटोबाट सम्पूर्ण सेवा

हिंसापीडितहरुलाई एउटै बाटोबाट सम्पूर्ण सेवा

काठमाडौंमा लामाहरुकोमा बस्दा पुरुषबाटै जबरजस्तीकरणी गर्न खोजिएका सिन्धुलीका १३ वर्षीय बालक गत माघ २६ गते भरतपुर अस्पताल आइपुगे । प्रहरीद्वारा ल्याइएका उनलाई भरतपुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मार्फत् आवश्यक शारीरिक परीक्षण गरेर सरकारी वकिलसम्म पु¥याउने काम भयो ।

पौषमा भरतपुरकी २२ वर्षीया महिला श्रीमानले कुटेर टाउकोमा चोट लिएर आएकी थिइन् भरतपुर अस्पताल । एकद्वार संकट व्यवस्थापन केन्द्रमार्फत् औषधोपचार सेवा लिएर उनी घर गइन् ।

यसैवर्ष चितवन रत्ननगरकी एउटी महिला भरतपुर अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा आफैं आइन् । श्रीमान्ले नहेरेको, आफैं उपचार गर्ने स्रोत–साधन नभएको बताएकी उनलाई निःशुल्क अप्रेसन सेवा प्रदान गरिएको ओसीएमसीमा कार्यरत स्टाफ नर्स कल्पना खनालले जानकारी दिइन् ।

उनका अनुसार ओसीएमसीबाट गत वर्ष तीनजना पुरुषसहित २११ जनालाई सेवा प्रदान गरिएको थियो । गत पुषसम्म ११६ जनालाई सेवा प्रदान गरिएको यो वर्ष माघमा आएका पुरुष एकजना हुन्, जसमा तीनजना ‘म पीडित भएँ’ भनेर आफैं आएको खनालले बताइन् ।

एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) भनेको नेपाल सरकारद्वारा लैगिक हिंसापीडितलाई सबै कार्यालयहरुको सहयोगमा आवश्यक सबै सेवाहरु पूर्णरुपमा निःशुल्क उपलब्ध गराउन स्थापित केन्द्र भएको ओसीएमसीको स्थापनाकालका फोकलपर्सनसमेत रहेका भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

‘हिंसा भन्नाले बलात्कार, यौनजन्य दुव्र्यवहार, कुटपिट, मानसिक पीडा, घरेलु हिंसा, बालविवाह, मानव बेचबिखनलाई जनाउँछ’, पौडेल भन्छन्, ‘हिंसामा परेका व्यक्तिहरुलाई आवश्यकता अनुसार केन्द्रबाट स्वास्थ्य उपचार, चिकित्सकीय कानुनी सेवा, मनोसामाजिक परामर्श, सुरक्षा, आवासगृह, कानुनी उपचार, जीविकोपार्जन र पुनस्र्थापना सेवा उपलब्ध हुन्छन् ।’

कानुनी उपचारको लागि सरकारी वकिलसँग समन्वय गरेर पठाउने गरिएको, आवासगृहको सेवा आवश्यक भएकाहरुलाई भरतपुरमा सञ्चालित आदर्शगृह, मञ्जुश्री असहाय संरक्षण केन्द्र, मानवसेवा आश्रम लगायतमा पठाउने गरिएको एवम् संरक्षणगृहमा बसेकाहरुको पनि ओसीएमसीबाटै उपचार भइरहेको खनाल बताउँछिन् ।

भरतपुरमा रहेको केन्द्रबाट माथिका अरु सम्पूर्ण सेवा उपलब्ध हुँदै आएपनि अहिलेसम्म जीविकोपार्जन र पुनस्र्थापना सेवा सञ्चालनमा आइसकेको छैन । यसै वर्षबाट जीविकोपार्जन र पुनस्र्थापना सेवा पनि सञ्चालनमा ल्याउन लागिएको खनालले बताइन् ।

अबका दिनहरुमा केन्द्रमा आउने पीडितलाई आवश्यकताअनुसार जीविकोपार्जनका लागि सीप सिक्न तथा व्यवसाय गर्न सहयोग गर्ने तरखर भइरहेको बताउँदै ओसीएमसीकी सम्पर्क व्यक्ति हीरादेवी सुवेदी भन्छिन्, ‘आम्दानी नै नभएर अप्ठ्यारोमा पर्नुभन्दा आयआर्जन गरेर स्वरोजगार हुनका लागि केन्द्रबाट थोरै पुँजी भएपनि सहयोग गर्न लागिएको छ, जसले उनीहरुलाई समुदायमा पुनस्र्थापना हुन पनि सहज होस् ।’

गत वर्ष २५ लाख बजेट आएकोमा जीविकोपार्जन अन्तर्गतकै रकम फ्रिज भएर गएको बताइएको छ । यसवर्ष ३० लाख बजेट आएको सुवेदीले बताइन् । अबका दिनमा ओसीएमसीमा आएको बजेट फ्रिज हुन नदिने र हिंसापीडितहरुका लागि चाहिएको खण्डमा अस्पताल विकास समितिबाट समेत बजेट थपेर काम गरिने भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णप्रसाद पौडेल बताउँछन् । भरतपुर अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र २०७३ सालमा स्थापना भएको हो ।

टिप्पणीहरू