सवारी दुर्घटनाबाट आफू बाँच्ने र अरुलाई बचाउने जिम्मा चालकको हातमा

सवारी दुर्घटनाबाट आफू बाँच्ने र अरुलाई बचाउने जिम्मा चालकको हातमा

‘एकबार मिल्ने मानवचोला अमूल्य छ, त्यसमाथि म मात्र छैन, मेरो परिवार पनि घरमा छन्, मलाई पर्खेर बसेका छन् र अरुको जीवन पनि मेरो हातमा छ’ भन्ने सोचेर चालकले लापरबाही नगरी नसारहीत भएर सीमित गतिमा सवारीसाधन चलाउने हो भने सवारी दुर्घटना कम हुने ट्राफिक प्रहरी बताउँछन् ।

धेरैजसो सवारी दुर्घटना चालकको लापरबाही तथा तीव्र गति र मादक पदार्थ सेवनकै कारण भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाको भनाइ छ ।

यसैगरी, सडकको अवस्था सुधार्न सकिए पनि सवारी दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने उनी बताउँछन् । भन्छन्, ‘साँघुरो सडक, खाल्डाखुल्डी र उबडखाबड बाटोले गर्दा पनि दुर्घटना भइरहेको छ ।’ यस्तै, सवारी साधनमा हुने यान्त्रिक गडबडी र वातावरणीय अवस्था–हुस्सु आदिका कारण सवारी दुर्घटना निम्तिने हुँदा त्यस्ता कुरामा समेत चालक होशियार हुनुपर्ने उनले बताए ।

अघिल्ला केही वर्षमाभन्दा पछिल्लो समय चितवनमा सवारी दुर्घटना ह्वात्तै बढेको देखिन्छ । आर्थिक वर्ष २०७४/०७५ मा २ सय ७१, २०७५/०७६ मा २ सय ९५, २०७६/०७७ मा २ सय ६१ वटा सवारी दुर्घटना भएको चितवनमा गत आव २०७७/०७८ मा दुर्घटना संख्या ४ सय ३५ पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चालु आर्थिक वर्षको माघसम्म दुर्घटना संख्या २ सय ९३ पुगिसकेको छ ।

उक्त तथ्याङ्कअनुसार सडक दुर्घटनामा धेरै मोटरसाइकल पर्ने गरेका छन् । त्यसपछि ट्रक, ट्याङ्कर, जीप, कार र बस छन् । अघिल्ला वर्षमाभन्दा गत आर्थिक वर्षमा सवारी दुर्घटना ह्वात्तै बढेको देखिए पनि दुर्घटना संख्याको तुलनामा पछिल्लो समय दुर्घटनामा परी मृत्यु हुनेको संख्या भने घटेकै देखिन्छ ।

आव ०७४/७५ मा सवारी दुर्घटनामा परी १ सय ३२ जना, ०७५/७६ मा १ सय ४६ जना, ०७६/७७ मा १ सय ७ जनाको मृत्यु भएको थियो भने ०७७/७८ मा १ सय २८ जनाको ज्यान गएको ट्राफिक प्रहरी जवान घनश्याम चौधरीले जानकारी दिए । उनका अनुसार २ सय ९३ वटा सवारी दुर्घटनामा चालु आवको सात महिनामा ८३ जनाको मृत्यु भएको छ ।

यसैबीच, ट्राफिक नियम पालना नगरी हाँकिएका १९ हजार ५ सय ८२ वटा सवारी साधनमाथिको कारबाहीबाट चालु आर्थिक वर्षको माघसम्म जिल्लाका ट्राफिक प्रहरीले एक करोड ७८ लाख २८ हजार रुपैयाँ राजश्व जम्मा गर्न लगाएका छन् । यसमा पनि धेरै मोटरसाइकल नै कारबाहीमा परेका छन् ।

त्यसपछि जीप, कार, ट्रक, ट्रिपर, बस, माइक्रोबस, टेम्पो तथा अन्य सवारीसाधन रहेको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीलाई लोभ्याउन खोज्ने एक सयभन्दा बढी चालक कारबाहीमा परेको प्रहरी जवान चौधरीले जानकारी दिए ।

– अजय गोर्खाली

टिप्पणीहरू