बानी नै छैन
प्रमुख प्रतिपक्षी कांग्रेसले संसद्मा आफ्नो भूमिका कमजोर भएको स्विकारेको छ । आफ्नो भूमिका अर्थात् प्रतिपक्षी बन्ने भूमिका । कांग्रेस प्रतिपक्षमा कमजोर किन भयो त भन्दा कांग्रेसलाई प्रतिपक्षी भएर काम गर्ने बानी नै छैन । बानी नभएकाले पनि होला प्रतिपक्षमा कांग्रेसले भूमिकै खेल्न सकेन ।
त्यसो त कांग्रेसले प्रतिपक्षी भूमिका कहिल्यै नखेलेको होइन । तर, त्यतिबेला कांग्रेसको ध्यान प्रतिपक्षीको भूमिका खेल्नेभन्दा पनि सरकार कसरी ढाल्न सकिन्छ भन्नेतर्फ केन्द्रित हुने गथ्र्याे । त्यसैले प्रतिपक्षी भूमिका खेल्न खास समय हुँदैनथ्यो । तर, यसपालि त्यस्तो सरकार ढाल्ने खालको काम गर्न पाएन । किनभने सरकारसँग दुईतिहाइ थियो । ढल्ने कुरै भएन । जसले गर्दा प्रतिपक्षी भूमिका कसरी खेल्ने हो त्यो कांग्रेसले थाहा पाउनै सकेन । तर, कांग्रेसले प्रतिपक्षी भूमिका नखेले पनि यति कुराचाहिँ थाहा छ कि सरकारले राम्रो काम गरेको छैन । अब केचाहिँ काम राम्ररी गरेन त्यो कांग्रेसलाई थाहा छैन ।
अनि काम राम्रो गर्न के गर्नुपर्छ त्यो पनि उसलाई थाहा छैन । केवल यति थाहा छ, सरकारले राम्ररी काम गरेको छैन । एउटा सशक्त प्रतिपक्षीले यति कुरा थाहा भएपछि त पुगिहाल्यो नि ! होइन र ?
टिप्पणीहरू