पुलचोक–रामघाट (रिंगरोड)मा धनीहरुको महाभारत

पुलचोक–रामघाट (रिंगरोड)मा धनीहरुको महाभारत

३० मिटर चौडा भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्घाटन गरिएको बाटो १२ मिटरमा झरेको छ । त्यैपनि केही कहलिएका धनाढ्यहरुको कन्जुस्याइँ र चलाखीले मुख नै साँघुरिने स्थिति देखिँदैछ । चितवन, भरतपुरको पुलचोक–रामघाट (रिंगरोड) सडक निर्माणमा झमेला भइरहेको हो ।

उपभोक्ता समितिका संयोजक रहेका नामूद व्यवसायी दिनेशकुमार चुके र गुणचन्द्र विष्ट (स्वामी)को जग्गा पुलचोकको मुखमा पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको छ । त्यसैले तलतिर चौडाइ १२ मिटरको बनाइएपनि माथि पुलचोकको मुखमा चाहिँ १० मिटरको मात्र बनाउने खेल भइरहेको बुझिन्छ ।

बाटो बनाउँदा साँधका जग्गाधनीहरुले १-१ मिटर जग्गा छोड्नुपर्ने सहमति भएको छ । जबकि ब्लुप्रिन्ट नक्सा अनुसार पुल्चोकको मुखमा पहिले नै सवा १० मिटरको बाटो छ । वडा प्रहरी कार्यालयतिरमात्रै हो ८ मिटर भएको । तर पुलचोकको मुखमा पनि ८ मिटरमात्रै बाटोको जग्गा भएको भन्दै चुकेहरुले त्यहाँ १० मिटर भन्दा बढाउन नदिने गरी काम गर्दैछन् । त्यसका लागि माथि पुल्चोकतिर नापजाँच समेत गर्न नदिएको असन्तुष्ट पक्ष बताउँछन् । तलतिरबाट वडा प्रहरी कार्यालय नजिकसम्म मात्र नापजाँच भएको बताइन्छ । यस हिसाबले ब्लुप्रिन्ट नक्साअनुसार चुके र स्वामीले एक मिटर पनि छोड्न नपर्ने अवस्था बन्न लागेको स्थानीय एक उपभोक्ताले हामीलाई बताए ।

स्रोतका अनुसार गुणचन्द्र विष्टको जग्गामा पाँच मिटर जति सार्वजनिक जग्गा पहिलेदेखि नै गाभिएर रहेको छ । त्यही फुत्किन नदिन बाठो भएर उनले अहिले त्यहाँ रातारात टहरा बनाउँदैछन् । उपभोक्ता समितिका सचिव रघु तिमिल्सिनाले ‘पहाडसँग टकराइयो भने कुहिनो भाँचिन्छ’ भन्दै उनीहरुको विषयमा चुप रहन राम्रो हुने आशय व्यक्त गर्दै हिँडिरहेको तलतिरका जग्गाधनी दिगम्बर पियाले बताए ।

‘विकास हो, सबैलाई समान व्यवहार हुनुपर्छ । हाम्रोतिर नापेर सहमति भएर डोजर पनि लागिसक्यो । उल्टै उनीहरु दिगम्बर पियाले जग्गा छोड्न मानेन भन्दैछन्’, पियाले भने, ‘हामी तलका सबैले १-१ मिटर जग्गा छोडिसकेका छौं । अब हाम्रो मात्र होइन, माथि पुलचोकसम्म सबैको जग्गा नाप्नुपर्छ ।’

यो बाटोमा स्थानीय चौतारी टोल विकास समितिको भवन पनि परेको छ । त्यो नभत्काएसम्म बाटो बन्दैन । तर अहिलेसम्म त्यो भत्किएको छैन । त्यसको क्षतिपूर्ति रकमका विषयमा समेत कुरा मिलिरहेको छैन ।

अन्य ६ खण्डसमेत २०७५ साल असारमा श्री रमन-शिवशक्ति जे.भी., हेटौंडासँग सम्झौता भएको आयोजना २०७७ असार मसान्तसम्म सम्पन्न भइसक्नुपर्ने थियो । यो खण्डमा दुई किलोमिटर बाटो बनाउन यत्रो महाभारत भइरहेको हो । यहाँ जम्मा ७ मिटर चौडाइमा पिच बन्ने शहरी विकास कार्यालयले जनाएको छ । पहिले ‘हाम्रो घर’ निरबाट मोडेर न्युरोड जोड्ने भनिएको बाटो व्यक्तिगत स्वार्थका कारण पछि रामघाटतिर लैजान लागिएको स्थानीय बताउँछन्, जहाँ दिनेश चुकेको ५÷६ बिघा जग्गा रहेको छ ।

यस सम्बन्धमा नापी कार्यालयले दिएको कम्प्युटर नक्सालाई मान्यता दिनुपर्नेमा केही जग्गाधनी उपभोक्ताहरुले ब्लुप्रिन्ट देखाएर बखेडा खडा गरिरहेको भन्दै वडाअध्यक्ष चन्द्रमित्र पण्डित भन्छन्, ‘ब्लुप्रिन्ट नक्सालाई मानिन्न ।’ तर नयाँ कम्प्युटर नक्सामा त्रुटि हुनसक्ने भन्दै दिगम्बर पियाहरु ब्लुप्रिन्ट नै ओरिजिनल नक्सा भएको र त्यसकै आधारमा नापजाँचको काम राम्रो हुने भन्दैछन् ।

टिप्पणीहरू